२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

आमालाई पोसिलो खाना बच्चालाई न्यानो कपडा

जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमाहरूलाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम प्रारम्भ गरेको छ।  आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम प्रारम्भ गरेको हो।  

कार्यक्रमअन्तर्गत धान उत्पादन नहुने क्षेत्रमा पाँच केजी मार्सी चामल, धान फल्ने क्षेत्रमा पाँच केजी चना, बच्चालाई न्यानो कपडा, एक पाकेट तोरीको तेल, नङकटुवा, नुहाउने साबुन र झोला दिने गरिएको छ। चालु आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रममै सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम समावेश गरिएको थियो। गर्भवती भएको बेला चार पटक जाँच गर्नुपर्ने, पौष्टिक आहार खाने संस्कारको विकास, परिवारिक जिम्मेवारीको बोध, व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा कार्यक्रममा छलफल हुन्छ। कार्यक्रमका लागि १५ लाख रूपैयाँ विनियोजन भएकोमा अपुग देखिएपछि थप १० लाख रूपैयाँ आवश्यक रहेको उपाध्यक्ष विष्णु बुढा बताउँछिन्।

असार मसान्तसमम १ हजार १ सय ७७ गर्भवती तथा सुत्केरी महिलालाई पोषण कोसेली उपलब्ध हुनेछ। उपाध्यक्ष बुढाले भनिन्, ‘नियमित चार पटक स्वास्थ्य जाँच गरेका, निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिएका, खोप कार्ड भएका, सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थामा सेवा लिएका जस्ता मापदण्ड पूरा गरेका गर्भवती र सुत्केरी महिलालाई प्राथमिकतामा राखिएको छ।’ गर्भवती र सुत्केरी सबै महिलालाई झोलासमेत वितरण गरिएको छ।

तिला गाउँपालिका–२ की मधु परियार आगनमै पोसिलो कोसेली पाउँदा निकै खुसी भइन्। एक छोरा र एक छोरीकी आमा उनले स्थानीय सरकारले सञ्चालन गरेको सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोसेली’ निकै प्रभावकारी भएको बताइन्। उनले भनिन्, ‘सधैंभरि सरकारले पोषण कोसेली दिन सक्दैन। तर पोषण कोसेली दिएर आगामी दिनमा पोसिला खानेकुरा खान प्रेरित गरेको छ।’

आमाले राम्रोसँग खान नपाएर गोठमा जन्माएको कथा पढ्न त सकिनँ यद्यपि सुनेकी छु। त्यो सुन्दा मन कुँडिएर आउँछ, परियारले भनिन्, ‘तर अहिले आमा बन्दा मेरी आमाको नियति भोग्नु परेन। यसको कारण नेतृत्व पुगेका आमा र नजिकको सरकार नै होला जस्तो लाग्छ।’  

गाउँपालिकाले लेकाली क्षेत्रमा प्रतिगर्भवती तथा सुत्केरीलाई पाँच केजीका दरले काली मार्सी चामल र बेंसी क्षेत्रका गर्भवती सुत्केरीलाई चनालगायत पौष्टिक आहार वितरण गरेको छ। स्थानीय सरस्वती रोकायाले सुनौला हजार दिनका आमालाई ‘उपाध्यक्ष पोषण कोसेली’ कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको सुनाइन्।  

गर्भवती हुँदासमेत आराम नपाउने, गोठमै सुत्केरी गराउने, सुत्केरी हुँदा बखत घरको जग छुन नदिने अन्धविश्वासपूर्ण संस्कृतिलाई अन्त्य गर्न यो कार्यक्रमले ठूलो सहयोग मिलेको बताइन्। उनले भनिन्, ‘यहाँका महिलामा कार्यबोझ छ। जसकारण पोसिला खानेकुरा त के राम्रोसित आराम पाउँदैनन्। तर उपाध्यक्षको कोसेलीले निकै महत्वपूर्ण सन्देश दिएको छ। सचेत बनाएको छ।  

तिला गाउँपालिका–२ जुम्लाका वडाध्यक्ष कलिबहादुर रावतले आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षको कोसेली कार्यक्रम लाभदायक भएको प्रतिक्रिया दिए। ‘हरेक बार, खाना चार’ साथै माछा, मासु, दही, दूध, अन्डा, तरकारीजस्ता पौष्टिक आहार खान सिकाएको उनले बताए।  

गाउँपालिकाले ‘दुई सन्तान, ईश्वरको वरदान’ भन्ने मूल मन्त्रलाई अघि बढाएको छ। दुई छोरी पाएर आफ्नो पूर्ण सन्तान ठान्ने दम्पतीलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिका उपाध्यक्ष बुढा बताउँछिन्। गत आवमा नियमित गर्भजाँच गरेका र स्वास्थ्य संस्थामा सुत्केरी गराएका आमालाई मात्र पोषण कोसेली दिइएको थियो। पोषण कोसेली लिएर उपाध्यक्ष बुढा गाउँगाउँ पुग्ने गरेकी छिन्। सो अवसरमा अपरिपक्क उनले उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन र दुई सन्तानभन्दा बढी नजन्माउन सुझाव दिने गरेकी छिन्।

प्रकाशित: ९ वैशाख २०७८ ०३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App