२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

पाएन संस्कृत विश्वविद्यालयले जनशक्ति

नेपालका विश्वविद्यालयहरूले यस्तो जनशक्ति उत्पादन गरिरहेका छन् कि विश्वविद्यालयलाई नै आवश्यक पर्दा योग्य जनशक्ति नपाउने अवस्था आएको छ। नेपाल संस्कृत विश्वविद्यालयले हालै शिक्षक कर्मचारी पदपूर्ति गर्दा आवश्यकताअनुसार शिक्षक कर्मचारी नपाउँदा यसको रहस्य खुलेको हो।

नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो १४ आंगिक कलेजका लागि नाम र स्थान तोकेरै विज्ञापन गरी लोकसेवा आयोगको सहकार्यमा ६५ उपप्राध्यापकको परीक्षा सञ्चालन गर्‍यो तर माग गरेको पदअनुसार पदपूर्ति हुन नसकेको विश्वविद्यालयका रजिस्ट्रार प्राडा माधव अधिकारीले बताए। उनले आंगिक कलेजहरूका लागि विभिन्न विषयका ६५ उपप्राध्यापक पदको विज्ञापन गरी परीक्षा सञ्चालन गर्दा आवेदन दिएकामध्ये ५३ जना मात्र उत्तीर्ण हुन सकेका र १२ पद अझै रिक्त रहेको बताए। 

यति मात्र विश्वविद्यालयले २३ जना कम्प्युटर असिस्टेन्ट माग गरेकामा चारजना मात्र पास हुन सकेको, आइटी अफिसर दुईजना माग गरिएकामा कोही पनि पास हुन नसकेको, आइटी हेड असिस्टेन्ट र पुस्तकालय अधिकृतमा समेत पाँच पद कोही पास हुन नसकी खाली नै रहेकामा उनले नेपालको शिक्षा प्रणालीप्रति नै चिन्ता प्रकट गरे।

संस्कृत विश्वविद्यालयका आंगिक कलेजहरू दुर्गममा रहेकाले विज्ञापन गर्दा कलेज तोकेर माग गरिएको र इच्छुक धेरै भए पनि परीक्षा पास हुन नसक्दा विश्वविद्यालयले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ भन्नेबारे सवाल खडा भएको छ। ‘हामीले यसपटक लोकसेवा आयोगको सहकार्यमा प्रश्नपत्र तयार पारेका थियौं। विषयगत प्रश्न बढी सोधिएका थिए,’ रजिस्ट्रार अधिकारीले नागरिकसँग भने, ‘एस र नो’ को प्रश्न थिएन। संस्कृत विषय नै अनुसन्धानमूलक भएकाले त्यसरी नै प्रश्न तयार गरिएको थियो।’

उनले थपे, ‘अब नतिजाले के देखायो भने विश्वविद्यालयले पनि बहुवैकल्पिक प्रश्नपत्र तयार गर्नुपथ्र्यो भने अर्कातिर योग्य उम्मेदवारले पनि मेहनत गरी अनुसन्धानमूलक तरिकाले अध्ययन गर्नुपर्ने आवश्यकता देखियो।’ रजिस्ट्रार अधिकारीका अनुसार हालका उम्मेदवारहरू प्रायोगिक क्षेत्रमा कमजोर देखिाए । अब विश्वविद्यालयले आफ्नो पाठ्यक्रमसमेत परिमार्जन गर्नुपर्ने देखिएको राजिस्ट्रार अधिकारीले बताए। संस्कृत विषय अध्ययन गरेकाहरू नै अनुसुन्धानमूलक प्रश्नपत्रले असफल भएको देखिएको उनको भनाइ छ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा भीम खतिवडाका अनुसार संस्कृत विश्वविद्यालयका उत्पादित जनशक्तिसमेत विभिन्न विषयमा असफल हुनु भनेको अब विश्वविद्यालयकै पठनपाठनमाथि सवाल खडा भएको छ।

‘हामीले कस्तो परीक्षा सञ्चालन गर्‍यौं कि हाम्रा उत्पादन परीक्षामा असफल हुनुभयो। संस्कृतमा आचार्य गरेकाहरूसमेत उत्तीर्ण हुन सक्नुभएन,’ शिक्षाध्यक्ष खतिवडाले औंल्याए, ‘उपप्राध्यापक पदमा खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयले नयाँ नियुक्ति गरी पठनपाठन थप स्तरीय बनाउन खोजेको हो। 

नेपाली, ज्योतिष, अंग्रेजी, व्याकरणलगायतका विषयमा जनशक्ति उत्तीर्ण हुन सक्नुभएन, यो चिन्ताको विषय हो। अब विश्वविद्यालयले पनि पाठ्यक्रम परिमार्जनदेखि पठनपाठन तथा शिक्षण सिकाइ प्रणालीमा समेत पुनर्विचार गर्नुपर्ने देखियो।’

प्रकाशित: १२ असार २०८१ ०७:०३ बुधबार

#Manpower #Sanskrit-University