२३ असार २०८१ आइतबार
image/svg+xml
शिक्षा

कहाँ गए एसइईका ३७ हजार विद्यार्थी?

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा यसपटक एसइई दिने विद्यार्थी दुई सय ७७ ले परीक्षा फारम भरे। प्रवेश पत्र पनि लिए, तर परीक्षा दिने बखत दुई विद्यार्थी आएनन्। सम्पर्कमै रहेनन्। स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले सोधीखोजी गरे। विद्यार्थी राम्रै थिए।

‘मैले विद्यार्थीबारे सोधीखोजी गरें एउटा बिरामी भएर आएन भने अर्को सम्पर्कमा आएन बेपत्ता नै भयो’, प्रअ कँडेलले नागरिकसँग भने, ‘पास हुने राम्रा विद्यार्थी भए पनि पारिवारिक कारणले होला परीक्षा दिएन।’

उनले थपे, ‘एसइई परीक्षा दिन फाराम भर्ने समयमा विद्यार्थी बढी भए पनि परीक्षा दिने समयमा कठिन समुदायका दुईचारजना विद्यार्थी बर्सेनि बेपत्ता नै हुने गरेका छन्।

एसइई दिन फाराम भरे पनि परीक्षा दिन अनिच्छुक विद्यार्थी विश्व निकेतनमा मात्र होइन, यो समस्या देशभरिका विद्यालयहरूमा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यसपटकको एसइई परीक्षामा फारम भर्नेमध्ये ३७ हजार विद्यार्थी बिचैमा हराए। २०८० सालको एसइई परीषाका लागि फाराम भर्ने समय भनेको कक्षा ९ पढ्दै गरेका विद्यार्थीले २०७९ सालको कात्तिक मंसिरतिर फाराम भर्नुपर्छ।

एसइई परीक्षा चैतमा हुन्छ। यहीबिच आर्थिक अवस्था कमजोर भएका, पढाइ खर्च व्यहोर्न नसक्ने, परिवारको पालनपोषण गर्नुपर्ने, हातमुख जोर्न गाह्रो भएका विद्यार्थी फारम भरे पनि परीक्षामा सहभागिता भने जनाउँदैनन्। उनीहरू पढाइ छाडेर श्रम बजारमा जाने गरेको देखिन्छ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार यसपटकको एसइईमा परीक्षा दिन भनी फाराम भरेका पाँच लाख चार हजार विद्यार्थीमध्ये ३७ हजार विद्यार्थीले परीक्षामा सहभागिता जनाएनन्। उनीहरू यसपटकको एसइई परीक्षा दिन अनिच्छुक देखिए।

‘परीक्षा नियन्त्रक कार्यालयबाट फाराम भरेकामध्ये चार लाख ७५ हजारले प्रवेशपत्र नै लिइसकेका रहेछन् तर प्रवेश पत्र लिएर पनि परीक्षामा भने सहभागिता जनाउनेहरू चार लाख ६७ हजार मात्र रहे’, नियन्त्रक पौडेलले नागरिकसँग भने, ‘फाराम भरेकामध्ये पाँच महिनाभित्रै ३७ हजार विद्यार्थी बिचैमा हराउनु चानचुने विषय होइन। राज्यले यस्ता विद्यार्थीको हराउनुको कारण खोजी गर्न अनुसन्धान नै गर्नुपर्ने देखियो।’

उनले थपे, ‘यी विद्यार्थी कठिन समुहका हुन्। पढाइ छाडेर श्रम बजारमा गएका हुन्। राज्य प्रणालीले निःशुल्क शिक्षा कायम गरे पनि विद्यार्थीलाई आवश्यक सुविधा दिन सकेन, जसका कारण विद्यार्थीहरू बिहान–बेलुका हातमुख जोड्न र परिवार पाल्न पढाइ छाड्नुपर्ने परिस्थिति रहेको प्रस्ट छ।’

यति मात्र होइन, विद्यार्थीको मनमस्तिष्कमा अक्षरांकन प्रणालीले पनि नकारात्मक सोच उत्पन्न गरेको छ। विगतमा नपढे पनि पास हुने गलत सोचाइले पनि विद्यार्थीमा अध्ययन गर्ने बानी र शिक्षकमा पढाउने प्रवृत्ति घट्दै गयो।

विद्यालय शिक्षाको गुणस्तर कमजोर भई कक्षाकोठाको शिक्षण सिकाइ कमजोर हुँदै गएको विद्यालयका प्रधानाध्यापकहरू नै बताउँछन्। यति मात्र होइन, परीक्षा प्रणालीमा बेलाबखत हुने फेरबदलले पनि विद्यार्थीमा त्रास उत्पन्न भई परीक्षामा सहभागिता नजनाउने प्रवृत्ति देखिएको छ।

२०७२ अघि प्रतिशत प्रणालीको परीक्षामा विद्यार्थीले पास हुन ३२ नम्बर ल्याउनुपर्ने थियो। यो बखत पनि सामुदायिक विद्यालयको नतिजा ३० प्रतिशतमाथि थिएन। ०७२ देखि दातृ निकायहरूको इशारा सामुदायिक विद्यालयको पास प्रतिशत बढी देखाउन विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत सबै पास हुने अक्षरांकन प्रणाली कार्यान्वयनमा आयो, तर यसले सामुदायिक विद्यालयको नतिजा उकास्नुभन्दा पनि कमजोर ग्रेडका विद्यार्थी बढी सामुदायिक विद्यालयमा देखिए। सरकारी नतिजा अझै सुधार भएको छैन।

यसपछि २०७६/०७७ सालको कोरोना महामारीले त झनै विद्यालय शिक्षा कमजोर बनायो विशेषगरी सामुदायिक विद्यालय। सामुदायिक विद्यालयको कक्षाकोठाको शिक्षण सिकाइ कमजोर देखिएपछि परीक्षा बोर्डले यसपटक एसइईको पास प्रतिशत ३५ प्रतिशत कायम गर्‍यो। यसपटक आफू फेल हुने निश्चित भएका विद्यार्थी पनि परीक्षामा अनिच्छुक भएको देखिएको प्रधानाध्यापक कँडेलले बताए।

विगतमा कक्षा ११ पढ्नका लागि १.६ ग्रेड प्वाइन्टले पनि शैक्षिक गुणस्तर कमजोर बनाएको उनको भनाइ छ। १.६ ग्रेड प्वाइन्ट ल्याए कुनै न कुनै विषय अध्ययन गर्न कक्षा ११ मा पाइहाल्ने व्यवस्थाले विद्यार्थीमा अध्ययन गर्ने बानी हराउँदै गएको उनको विश्लेषण छ।

‘कोरोनाकालमा विद्यालयले पठाएको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरी नतिजा मात्र प्रकाशित गरिदिएको थियो। त्यसबखत पनि धेरै विद्यालयको नतिजामा गडबडी देखियो’, नियन्त्रक पौडेलले भने, ‘प्रणाली सुधार नगरी नतिजामा सुधार आउँदैन। फेल हुनेमा ढुक्क भएका विद्यार्थीहरू परीक्षामा सहभागिता जनाउन अनिच्छुक देखिए। उनीहरू श्रमतिर लागेका कारण ३७ हजार विद्यार्थी फाराम भर्दा र परीक्षा समयको बिचमै हराए।’

अब राज्यले विद्यालयको शैक्षिक क्रियाकलाप सुधारतर्फ ध्यान दिनुपर्ने उनले सुझाए। कक्षाकोठाको शिक्षण सिकाइ बालमैत्री बनाउने, विद्यार्थीको सिकाइ व्यवहारसँग जोड्नुपर्ने, भर्ना भएका विद्यार्थीलाई विद्यालयमा निरन्तरता दिलाउनेतर्फ जोड दिनुपर्ने र मावि तहमा शिक्षक व्यवस्थापन गर्नुपर्ने परीक्षा नियन्त्रक पौडेलको सुझाव छ।

एसइई नतिजा यसै साता

परीक्षा नियन्त्रक पौडेलले एसइई नतिजा प्रकाशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताए। उनले एसइई नतिजा यसै साता प्रकाशित गर्ने तयारी बोर्डले गरेको जनाए। ‘एसइई नतिजा प्रशोधन गर्ने काम बोर्डले गरिरहेको छ’, नियन्त्रक पौडेलले भने, ‘असार १४ भित्रै नतिजा प्रकाशन गर्ने बोर्डको तयारी छ।’ उनले थपे, ‘३५ प्रतिशतभन्दा कम अंक प्राप्त गर्नेको यसपटक ग्रेडिङ गरिँदैन।’

प्रकाशित: १० असार २०८१ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App