२१ असार २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

तीन विद्यार्थीले पाए ‘निम्स दाइ’ पुरस्कार

अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविमा अध्ययनरत ‘निम्स दाइ’  पुरस्कार प्राप्त विद्यार्थी । तस्बिर : नागरिक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानास्थित ज्ञानप्रकाश माविबाट उत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीले एक लाख रुपैयाँकाे  ‘निम्स दाइ’  पुरस्कार प्राप्त गरेका छन्।

पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान कायम गरेका आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेसन कोषमार्फत कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विपिन राम्जालीलाई एक लाख रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरेका हुन्।

पर्वतारोहण क्षेत्रमा दर्जन कीर्तिमान कायम गरेका पुर्जा दानामा जन्मिएका हुन् । उनले गत वर्ष विद्यालयमा ४० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए। गत वर्ष एसईईमा विद्यालय प्रथम हुने अश्विन विकले ८० हजार र कक्षा ८ मा प्रथम हुने अप्सन पुर्जाले ५० हजार रुपैयाँ र सम्मानपत्र प्राप्त गरेका छन्।

पुरस्कार प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र निर्मलका दाइ जितबहादुर पुर्जाले पुरस्कृतहरुलाई हस्तान्तरण गरेका थिए। म्याग्दी जिल्लाका सामुदायिक विद्यालयमा यो पुरस्कार हालसम्मकै सबैभन्दा ठूलो हो।

सोही अवसरमा दानामा रहेका चारवटा समुदायिक विद्यालयलाई पनि आर्थिक सहयोग प्रदान गरिएको थियो भने ज्ञानप्रकाश माविको शैक्षिक विकासका लागि एक लाख ४७ हजार सहयोग गरिएको निम्स दाइ फाउन्डेसनका प्रतिनिधि गणेश बरुवालले जानकारी दिए।

पर्वतारोहणका क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीले सामाजिक उत्तरदायित्वअन्तरगत शिक्षा क्षेत्रको उन्नयनमा सहयोग पुर्‍याउने गरी स्थापित कोषबाट हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई  ‘निम्स दाइ’ पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताए।

‘निम्स दाइ’ फर एजुकेसनका संस्थापक पुर्जाले आफ्नो कम्पनीको आम्दानीबाट शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गर्दै आएको बताए। यो सम्मानले विद्यालयमा विद्यार्थीको पहुँच बढाउन र उच्च शिक्षा हासिल गर्न विद्यार्थीको आकर्षण बढाउने विद्यालयका उच्च शिक्षा संयोजक बाबुराम पौडेलले बताए।

पुर्जाले विश्वका आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन आरोहण गरिसकेका छन्। उनले विश्वका आठ हजार मिटर अग्ला हिमालहरु ४४ पटक आरोहण गरी अर्को विश्व कीर्तिमान कायम गरेको इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८१ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App