२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

चाइना रेल्वे कम्पनीको मनोमानीः चुरे फेदीका खोलामा अनियन्त्रित दोहन

लहान नगरपालिका–१५ स्थित खुट्टी खोलामा चाइना रेल्वे कम्पनीले एक्साभेटरमार्फत गरिरहेको उत्खनन। तस्बिरः मिथिलेश/नागरिक

लहान नगरपालिका–१५ चुरे पर्वतको दक्षिण पश्चिम फेदीबाट खुट्टी खोला बगिरहेको छ। यो खोलाको पूर्व टाँसिएर झवाई खोल्सी सामुदायिक वन छ। चुरे र सामुदायिक वन टाँसिएरै चाइना रेल्वे कम्पनीले एम्साभेटरमार्फत खोला खनिरहेको छ। चुरे र सामुदायिक वननजिकै भइरहेको खोला दोहनमा लहान नगरपालिकाकै स्वीकृति रहेको पाइएको छ।

लहान नगरपालिकाले चाइना रेल्वेलाई प्रतिघन मिटर चार रूपैयाँका दरले खोलाजन्य पदार्थ उत्खनन गर्न ठेक्का सम्झौता गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत सञ्जय साहले जानकारी दिए।

चुरे मूल भएको यस खोलाको मूलमै एक्साभेटरमार्फत गहिरो खाल्डो बनाएर उत्खनन भइरहँदा नियामक निकाय मुकदर्शक बनेका छन्। नगरपालिकाले चाइना रेल्वे कम्पनीसँग सम्झौता गरे पनि उत्खनन स्थल तोकेको छैन। खुट्टी खोलाभरी घुम्दा कहीँ पनि संकलन÷उत्खनन केन्द्रको बोर्ड देखिँदैन। 

कुन स्थानबाट कति परिणाममा खोलाजन्य पदार्थ उत्खनन गरिँदै छ, त्यो कतै भेटिँदैन। नगरपालिकाले खोलामा सीमांकन गरेको पाइँदैन। नगरपालिकाको आडमा चाइना रेल्वे कम्पनीले चुरे संरक्षित क्षेत्रमा अनियन्त्रित दोहन मच्चाइरहेको छ। स्थानीयले गरेको विरोधको स्वरलाई लोभ्याएर, धम्क्याएर दबाउने काम गरिरहेको छ।

चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा मात्र अनियन्त्रित दोहन मच्चाइरहेको छैन। धनुषा र सिरहाको साझा कमलानदी र सिरहाकै गागन नदीमा पनि खुट्टीखोला जस्तै दोहन गरिरहेको पाइएको छ।

विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने लहान नगरपालिका–१५ ढोडना गाउँका स्थानीय टीकाबहादुर राउत बताउँछन्। राउत भन्छन्, ‘सीमाविहीन दोहनको दुष्परिणाम सामुदायिक वनमा कटान तीव्र भएको छ।

दोहनको गति यस्तै रहे झवाई खोल्सी सामुदायिक वनको अस्तित्व नै मेटिने राउत बताउँछन्। वन मात्र नभई खोला बस्तीतर्फ सोझिने खतरा बढ्दो छ। क्षणिक लाभका लागि मानव बस्ती र प्रकृतिको अस्तित्व संकटमा पार्ने खेल रोकिनुपर्ने राउतको कथन छ।

स्थानीय तहले नदी/खोला पैदावरको ठेक्का लगाउँदा सबैले देखिने गरी ठेक्का लिने फर्म तथा व्यवसायीको नाम, ठेक्का अंक, परिमाणको साइनबोर्ड राखेर प्रत्येक १५/१५ दिनमा उत्खनन गरेको परिमाण नगरपालिकाबाट प्रमाणित गरी जिल्ला समन्वय समितिमा पठाउनुपर्ने व्यवस्था छ। तर स्थानीय तहले आफूखुसी खोलानदी दोहन गर्ने–गराउने गरेकाले उल्लिखित नियम पालना गरेको पाइँदैन।

चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा अनियन्त्रित दोहन मात्र गरिरहेको छैन। यो कम्पनीले कानुनमाथि नै क्रसर चलाउँदै छ। चाइना रेल्वेले कानुनविपरीत खुट्टी खोलामै गरेको ‘स्टोन क्रसिङ प्लान्ट’ नामक क्रसरको अभिलेख घरेलु तथा साना उद्योग कार्यालय लहानमा छैन। यो क्रसरबाट निस्किने फोहोर पानी तथा अन्य प्रदूषित पदार्थ ह्युम पाइपमार्फत खुट्टी खोलामा फालिरहेको छ। जुन कानुनविपरीत हो।

ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ ले जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, डिभिजन वन प्रमुख, प्राविधिक इन्जिनियर, राजस्व कार्यालय वा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला समन्वय अधिकारीसहितको अनुगमन समितिको व्यवस्था गरेको छ।

यो समितिले वातावरणीय अध्यन प्रतिवेदनका सर्त पालना गराउने, उत्खनन र संकलनका लागि स्वीकृत विधि, प्रक्रिया र परीक्षणसम्बन्धी व्यवस्थाको पालना गराउने, राजस्व चुहावट तथा चोरी निकासी रोक्ने, ठेक्का सम्झौता पालना गराउने, सञ्चालित क्रसर उद्योगले तोकिएको मापदण्ड पूरा गरेनगरेको अनुगमन तथा नियन्त्रण गर्ने कानुनी अधिकार राख्छ। तर समितिले जिल्लाका खोलानदी र क्रसर उद्योग अनुगमन गरेर कारबाही गरेको रेकर्ड भने छैन। समितिले कारबाही गर्नुको साटो चुप लागेर बस्नुले सेटिङलाई प्रस्ट्याउँछ।

ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ मा राजमार्गको राइट अफ वेबाट ५ सय मिटर, खोला वा नदीकिनारबाट ५ सय मिटर, पक्की पुलबाट ५ सय मिटर, हाइटेन्सन लाइनबाट २ सय मिटर, घना बस्तीबाट २ किलोमिटर, चुरे पहाडको फेदीबाट १५ सय मिटर टाढाको दुरी कायम गरेर मात्र क्रसर सञ्चालन गर्नुपर्ने उल्लेख छ।नागरिकमा गैरकानुनी क्रसर र अनियन्त्रित खोलानदी दोहनको समाचार निरन्तर प्रकाशित भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले स्थलगत अनुगमन सुरु गरेका छन्।

खुट्टी खोलामा सञ्चालित क्रसर उद्योग र चुरे फेदीको खुट्टी खोलामा एक्साभेटरमार्फत भइरहेको दोहन देखेपछि प्रजिअ कवाडीले नागरिकसँग भने, ‘चुरेकै फेदीमा भइरहेको उत्खननको दृश्यसँग कानुन र मापदण्ड भिडाएर हेर्छु। त्यसबाट जे नतिजा निस्किन्छ सोहीबमोजिम कारबाही अघि बढाउँछु,’ उनले भने।

लहान नगरपालिका–१४ बस्तीपुरस्थित खुट्टीखोलामा सञ्चालित स्टोन क्रसर प्रोसेसिङ प्लान्टमा पनि कैफियत देखिएको छ। प्रजिअ कवाडीले भने, ‘क्रसर उद्योग सञ्चालनसम्बन्धी मापदण्ड भिडाएर हेरेपछि सोहीअनुसार प्रक्रिया अघि बढाउँछु।’

खुट्टीखोलामा सञ्चालित यस क्रसर उद्योगले क्रसर सञ्चालनसम्बन्धी मापदण्ड पालना गरेको छैन। यो खोलाको वातावरणीय प्रभाव मूल्यांकनसमेत नभएको बताइएको छ।

बिना वातावरणीय मूल्यांकन कुनै पनि खोलाबाट नदीजन्य पदार्थ निकाल्न पाइँदैन। उद्योग दर्ता अनुमति प्राप्त गर्न वनक्षेत्र सीमांकनका लागि डिभिजन वन कार्यालयको सहमति आवश्यक पर्छ। वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनलगायत मापदण्ड पूरा गर्नुपर्छ। तर चोरबाटोबाट क्रसर सञ्चालन गर्दा मापदण्ड, प्रतिवेदन, कानुनी प्रावधान केही पनि पूरा गर्नुपर्दैन।

पूर्व पश्चिम राजमार्गअन्तर्गत पश्चिममा कमला नदी पुलदेखि पूर्वमा सप्तरीको कञ्चनपुरसम्म निर्माणको ठेक्का पाएको चाइना रेल्वे कम्पनीले क्रसर र खोला नदीजन्य पदार्थको उत्खनन पनि मनोमानी ढंगले गर्दै छ।

प्रकाशित: २२ माघ २०७८ ०३:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App