२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लेकसाइडका व्यवसायीको नि:शुल्क एम्बुलेन्स सेवा

पोखराको लेकसाइडका पर्यटन व्यवसायीले आइतबार सुरु गरेको नि:शुल्क एम्बुलेन्स सेवा । तस्बिरः सन्तोष पोखरेल/नागरिक

आर्थिक अवस्था कमजोर भएका कोरोना संक्रमित बिरामीका लागि अस्पतालसम्म आउजाउमा सघाउने गरि यहाँका पर्यटन व्यवसायीले नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेका छन् । उनीहरुले पहिलो चरणमा सरकारी अस्पतालसम्म बिरामी आउन र अस्पतालबाट घर फर्किन थालेका बिरामी र आफन्तलाई आउजाउमा सघाउनेछन् ।

अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई र अर्का व्यवसायी टिकाराम सापकोटा मिलेर निशुल्क एम्बुलेन्स सुविधा दिन थालेका हुन । भट्टराई र सापकोटालाई अरु व्यवसायीले पनि सघाएका छन् । निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि व्यवसायी आफैले रकम जुटाएका छन् । बालहितकारी परियोजना नेपालले संचालन गर्दै आएको तर पछिल्लो समय बिग्रेर थन्केको एम्बुलेन्सलाई समेत उनीहरु आफैले मर्मतसम्भार गरेका छन् । एम्बुलेन्स मर्मतसम्भारमा मात्र झन्डै दुईलाख रुपैयाँ खर्च गरेका छन् ।

भट्टराई र सापकोटा मिलेर खडा गरेको कोषमा भट्टराईले १ लाख ५६ हजार, सापकोटाले ७५ हजार रुपैयाँ थपेका छन । अर्का व्यवसायी माउन्ट कैलाश रिसोर्टका संचालक नरेश भट्टराइले ५१ हजार, प्याराडिसो स्पोर्टस बारका संचालक गोपि भट्टराइले ५१ हजार, दी यात्रा कोर्टयार्ड होटलका संचालक रामचन्द्रबहादुर भट्टराईले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । पोखरा महानगरपालिका–६ वडा कार्यालयले पनि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  

कोरोना संक्रमण रहेसम्म बिरामीको आउजाउमा सघाउने गरि एम्बुलेन्स संचालन गर्दा आवश्यक इन्धन र चालकको खर्च पनि व्यवसायीले ने बेहोर्ने नेतृत्वतकर्ता गणेशबहादुर भट्टराइले बताए । ‘चालकलाई तलब र इन्धन बापत मासिक ५० हजार रुपैयाँ खर्च हुने अनुमान छ,’ उनले भने । व्यवसायीले एम्बुलेन्सको चाबी वडाअध्यक्ष जगत पहारीलाई हस्तान्तरण गरे । ‘पैसा हुनेसँग मन छैन, मन हुनेसँग पैसा छैन,’ भट्टराइले भने, ‘हामीले अहिलेसम्म कमाएका थियौं । एकवर्षदेखि मात्र आम्दानी गुमाएका हौ । तर, हामीले सामाजिक काममा कर्म खर्चेका छौ । अहिलेको बेला सुत्ने होईन, सघाउने हो ।’

अर्का व्यवसायी सापकोटाले पनि पहिलो प्राथमिकता सरकारी अस्पतालमा आउजाउ गर्ने बिरामीलाई दिने बताए । ‘अरुको पनि सहयोग आएमा लिन्छौ । केहीगरि पुगेन भने हामीले आफै गोजिबाट झिकेर भएपनि गरिब र असहायका लागि साथ दिन्छौ,’ सापकोटाले भने, ‘अहिलेको अप्ठेरोमा सबैको साथले मात्र संक्रमण कम हुन्छ । अप्ठेरो परेको बेला सघाउन सकियो भने त्यो नै पूण्य काम हुन्छ ।’  

भट्टराईले अस्पतालका बिरामी र उनीहरुका कुरुवाका लागि पनि आवश्यक खानाको सहयोग गर्न तयार रहेको सुनाए । ‘अरु निकायले पनि खानामा सघाएका छन् । हामीले अहिलेका लागि एम्बुलेन्स सहयोग गर्छाै । आवश्यक परेमा खाना खुवाउन पनि तयार छौ ।’ व्यवसायीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भोगेका समस्यालाई गर्न मिल्नेसम्मको सहयोग गर्ने तयारी रहेको बताए । अक्सिजनका रित्ता सिलिण्डरलाई भर्नका लागि प्लान्टसम्म ल्याउन र लैजान पनि अप्ठेरो परेको थाहा पाएकोले त्यसमा पनि सघाउने योजना रहेको उनीहरुले बताए ।

प्रकाशित: २ जेष्ठ २०७८ ११:१७ आइतबार

पर्यटकीय लेकसाइड एम्बुलेन्स सेवा