२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

एक अर्ब २२ करोडको बजेट प्रस्तुत

महेन्द्रनगर – भीमदत्त नगरपालिकाको पाँचौ नगर सभामा आगामी आव ०७६/७७ का लागि एक अर्ब २२ करोड ८२ लाखको बजेट प्रस्तुत गरिएको छ। नगर सभामा वार्षिक नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिएको छ।

आगामी वर्षका लागि प्रस्तुत बजेट चालु आवको तुलनामा १२ करोड बढी हो। गत वर्ष चालु आवका लागि एक अर्ब १० करोड विनियोजन गरिएको थियो। यसमा चालुतर्फ ८० करोड ३३ लाख र पुँजीगतमा ४२ करोड ४९ लाख विनियोजन गरिएको छ। नगरपालिकाको आन्तरिक आम्दानीबाट १३ करोड ३४ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताए। ‘यो नगरलाई समृद्ध, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सबै क्षेत्र समानुपातिक  विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ,’ उनले भने, ‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ।’

नगरको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ। चालु आवमा दीघकालीन योजना बनाउने कार्य सुरु गरिएको छ।

विकासका योजना निजी, साझेदारी, सहकारी र गैरसरकारी संस्था र नागरिक समाजसित सहकार्य सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले आफ्नो नगर आफै बनाऔ भन्ने नाराका साथ जनसहभागिता अभिवृद्धि, स्थानीय स्रोतसाधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

नगरपालिकाको आन्तरिक राजस्व बढाउन आगमी वर्षदेखि प्रगतिशील कर प्रणाली लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ। करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजस्व वृद्धि गर्ने नीति लिइएको छ।

योजनाबद्ध महेन्द्रनगर सहरलाई थप व्यवस्थित गरी नमूना सहर बनाउने कार्य सुरु गर्ने र नगरपालिकालाई क्लिन ग्रिन सिटीका रुपमा विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ।

आगामी वर्षको नीति कार्यक्रममा सोलार बत्ती जडान गरी उज्यालो नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको छ। संघीय र प्रदेश सरकारको नीतिका आधारमा आर्थिक क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकाले आगामी वर्ष नगर क्षेत्रका एक सय युवालाई स्वरोजगार बनाउने भीमदत्त रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा युवाहरुको हात भीमदत्तको साथ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

आगामी वर्ष स्थानीय स्रोत र साधनमा आधारिकत उद्योग मार्फत कम्तीमा ६० जना महिला उद्यमी तयार गरिने लक्ष्य लिइएको छ। लैङ्गिक समानता र आर्थिक रुपमा सशक्त बनाउन उद्यमी तयार गरिने कार्यक्रम अघि सारिएको छ। नगरका सबै वडामा सार्वजनिक जमिनको पहिचान गरी बालबालिकाहरुका लागि एक वडा एक चिल्ड्रेन पार्क निर्माणलाई वडा कार्यालय मार्फत निरन्तरता दिइएको छ।

कृषि र पशुपालन क्षेत्रलाई व्यवसायीकरणका लागि सम्भाव्यता अध्ययन गरी फार्म सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारसित सहकार्य गरिने नीति लिएको छ। यसै गरी एक वडा एक उत्पादन कार्यक्रम, भीमदत्त पन्त कृषि पुरस्कारलाई निरन्तनरता, किसानलाई उपकरण, नयाँ प्रविधि जडान लगायतका कार्यमा सहयोग गरिने कार्यक्रम समावेश गरिएको छ।

भीमदत्त नगरपालिकाका पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास, प्रवद्र्धन र सञ्चाजीकरण गरी पर्यटन गन्तव्यका रुपमा विकास गर्ने नीति लिइएको छ। महाकाली नदीमा साहसिक जलयात्रा सञ्चालनका लागि सम्भाव्यता अध्ययन, भीम वाटिकाको स्तरोन्नति, भ्यू टावर निर्माण थालनी, साँस्कृतिक महोत्स, होमस्टे सञ्चालनमा सहकार्य दिने कार्यक्रमलाई निरन्तनरता दिईको छ। यसै गरी ब्रह्मदेब क्षेत्रका साँस्कृतिक सम्पदाको संरक्षणका लागि समेत कार्यक्रम सञ्चालन गरिनेछ।

शुक्लाफाँटा, राष्ट्रिय निकुञ्ज, महाकाली नदी झोलुङ्गे पुल, ब्रह्मदेब बजार क्षेत्र, झिलमिला ताल, साकेतधाम, भम्केनी धाम, प्राचिन सिद्धनाथ मन्दिर, विष्णुधाम , बाह्राकुण्डा, कालिताल लगायतका पर्यटकीय एवम् धार्मिक स्थलमा अतिथि गृह, विश्राम स्थल, पर्यटन मार्ग निर्माण र सञ्जालीकरण लगायतका कार्य समावेश गरिएका छन्।

नगरपालिकाले कक्षा ९ देखि प्राविधिक र व्यवसायिक शिक्षाको विकास गर्ने नीति अबलम्बनन गर्दै निजी, सहकारी, गैर सरकारी, स्थानीय तह र विकास साझेदारसंगससित सहकार्य गरी प्राविधिक तथा व्यवसायिक शिक्षाका अवसरहरु विस्तार गरिने नीति लिइएको छ।

नगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय पाठ्यक्रमका रुपमा योग पाठ्यक्रम लागू गरिने भएको छ। आगामी वर्षमा एक वडा एक नमूना विद्यालय बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगर क्षेत्रका गरीब, जेहेन्दार र लक्षित समूहका विद्यार्थीलाई छात्रबृत्तिका लागि भीमदत्त छात्रबृत्ति कोष स्थापना गरिने कार्यक्रम अघि सार्दैै आगामी वर्ष साक्षर नगर घोषणा गरिने लक्ष्य लिइएको छ। नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गर्ने र विद्यालयका नयाँ भवनहरु प्रविधिमैत्री, अपाङ्गतामैत्री र भूकम्प प्रतिरोधी बनाउने नीति लिएको छ।

महेन्द्रनगर गड्डाचौकी सडकलाई चार लेन बनाउने र महेन्द्रनगर बजार क्षेत्रमा फेरि सिसीटिभी क्यामेरा जडानका लागि प्रदेश सरकारसंग पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। आगामी वर्ष स्वास्थ्य तथा पोषण अन्र्तगत सुनौलो हजार दिन कार्यक्रमलाई निरन्तरता दिनका साथै नगर क्षेत्रमा सञ्चालित औषधि पसल, क्लिनिक र प्रयोगशालाको अनुगमन निरीक्षणमा कडाई गर्ने नीति बनाएको छ।

नगरपालिकाले अति विपन्न र ज्येष्ठ नागरिकहरुको घरदैलो गएर नियमति एवम् निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ। विपन्न परिवारका अशक्त ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। नगरपालिकाका सहकारी र विद्यालयलाई एक आपशमा गाभ्ने मर्जर नीति अघि सारेको छ। यसैगरी घरेलु तथा साना उद्योगलाई प्रोत्साहन, ठेला व्यवसायलाई व्यवस्थापन, फोहरको वर्गीकरण  गरी निजी साझेदारी अन्र्तगत संकलन र व्यवस्थापन, खेल मैदान स्तरोन्नति, युवालाई क्लबमा आवद्ध गरी खेलाडी उत्पादन, किशोरीहरुलाई आत्म सुरक्षा तालिम लगायतका कार्यक्रम समावेश गरिएका छन्।

घाँडीघाँच क्षेत्रको धार्मिक पर्यटकीय मार्ग कालोपत्रे गर्नका लागि संघ र प्रदेश सरकारसंग पहल गरी कार्य अघि बढाइने भएको छ। नगर चक्रपथ निर्माण हुने गरी शुक्लाफाँटा पर्यटन मार्ग निर्माणलाई निरन्तरता दिइएको छ। सबै वडामा खोला, नालामा पुल पुलेस र कल्भर्ट निर्माण गर्ने लक्ष्य राख्दै नगरभित्रका सार्वजनिक स्थान र सडकहरुको नामाकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगरपालिकाले आगामी वर्षदेखि नगर यातायात गुरु योजना लागू गर्ने भएको छ। यसैगरी सिँचाई, सहरी विकास, विद्युतीकरण, सञ्चार, वन तथा वातावरण, जैविक विविधता, सुशासन, फोहरमैला व्यवस्थापन, सूचना प्रविधि लगायतलाई विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन्।

भीनपाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा सुरु नगर सभामा नगर उप प्रमुख सुशिला चन्द सिहले आगामी वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन्। नगर उप प्रमुख चन्दले आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ पनि नगर सभामा प्रस्तुत गरिएकी छन्।

नगर सभालाई सुदूरपश्चिम प्रदेशका वन, वातावरण, उद्योग पर्यटन राज्यमन्त्री प्रकाश रावल र प्रदेश सभा सदस्य मान बहादुर सुनारले सम्बोधन गरे। उनीहरुले नगरको विकासका लागि प्रदेश सरकार सहकार्य र समन्वय गर्नेमा जोड दिए। सोमबार दिउँसो २ बजेसम्मका लागि नगर सभा स्थगित गरिएको छ। सोमबार नीति कार्यक्रम बजेट तथा बजेट र दुबै विधेयकमाथि छलफल सुरु गरिने भीनपा नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिए।

प्रकाशित: ११ असार २०७६ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App