२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

खाद्य स्वच्छता कायम गर्न आग्रह

बजारमा अखाद्य वस्तुको बिक्री हुँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले खाद्य स्वच्छतामा ध्यान दिन सरोकारवालाले सुझाव दिएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘खाद्य स्वच्छतामा अप्रत्याशित अवस्थाको पूर्वतयारी’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले बजारमा देखिने विकृति अन्त्य र खाद्य स्वच्छता कायम गर्न सबैले सघाउनुपर्ने बताए।

खाद्य स्वच्छता कायम गर्न ऐन बनेको भए पनि कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिए। नयाँ बनेको खाद्य ऐन कार्यान्वयन र खाद्य स्वच्छतामा लगाानी बढाउनुपर्ने धारणा राखे।

खाद्य स्वच्छताको शृंखला लामो हुँदै गएकाले जटिलता पनि बढ्दै गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बताए। संशोधित नयाँ खाद्य ऐन राम्रो बनेकाले सबैको सहकार्यमा कार्यान्वयनमा लैजान आग्रह गरे।

 स्वदेशमा स्वदेशीसँगै विदेशबाट पनि खाद्यवस्तु आयात हुने गरेको बताउँदै यस्तो अवस्थामा खाद्य स्वच्छताको शृंखलामा जटिलता आउन सक्ने भन्दै चिन्ता  व्यक्त गरे।

नयाँ ऐनमा उत्पादक तथा प्रशोधनकर्ताको दायित्व तोकिएकाले व्यवस्थित हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले बताइन्।

सबैको दायित्व र जिम्मेवारी तोकिएकाले सबैको सहकार्य आवश्यक रहेको उनको तर्क थियो। खाद्य स्वच्छता कायम गर्नका लागि विभागले सबै निकायसँग सहकार्य गर्ने बताइन्। विगतको तुलनामा खाद्य पदार्थलाई नयाँ रूपमा परिभाषित गरिएको बताउँदै सबै जिम्मेवार निकायले आआफ्नो भूमिका निर्वाह गर्न आग्रह गरिन्।

ऐनमा कसुरअनुसार जरिवाना प्रष्टरूपले उल्लेख गरिएको छ। खाद्यको नियमन र अनुगमन गर्न तीन वटै निकाय (संघ, प्रदेश र स्थानीय तह) ले गर्न सक्छन्, जसले गर्दा समन्वय र सहकार्य आवश्यक रहेको जोशीको धारणा थियो।

उत्पादकले स्वच्छ वस्तु उत्पादन गर्ने वातावरण बनाउन सोहीअनुसार नीति आवश्यक रहेको कृषि विभागका महानिर्देशक हरिबहादुर केसीले बताए।

 बजारमा चुनौती थपिएकाले अनुगमनसहित प्रयोगशालाको विस्तार गर्दे लैजानुपर्ने अवस्था रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले बताए। पाँच वर्षको योजनासहित ऐन कार्यान्वयन गर्नुपर्ने पशु सेवा विभागका महानिर्देशक विनयकुमार कर्णको धारणा थियो।

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App