२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

लागुऔषधको मुद्दामा संघाई ग्रुपलाई सफाइ दिने तयारी

मदचश्रनेपालको व्यापारिक घराना संघाई ग्रुपमाथि लागेको सिउडो एफेडिन (लागुऔषध) तस्करीको मुद्दामा औषधि व्यवस्था विभागको तर्फबाट सफाइ (क्लिन चिट) दिन लागेको छ। सोसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेको बेला व्यापारिक घराना संघाई ग्रुपलाई विभागले सफाइ दिन लागेको स्रोतले जनाएको छ।  

२०७३ सालमा ललितपुरमा रहेको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलोग्राम लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ फेला परेपछि रतन संघाई लगायतका व्यक्तिहरू पक्राउ परेका थिए। प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा ४ सय ७१ किलोग्राम लागुऔषध बरामद गरेपछि संघाई ग्रुपका रतन संघाई पक्राउ परेपछि त्यसको अन्य कनेक्सनहरू भेटिएका थिए। योसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा अझै विचराधीन रहेको छ। जिल्ला अदालत धादिङ र जिल्ला अदालत पर्साले सर्फा दिएको र त्यसकै आधारमा औषधि व्यवस्था विभागले सफाइ दिन लागेको हो।  

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष भट्टराईले प्रक्रिया पूरा गरेको अवस्थामा सफाइ दिन कुनै अप्ठेरो नभएको बताए। ‘उहाँहरूले सफाइ पाएका छन् प्रक्रिया पूरा गरेमा सफाइ दिन सकिन्छ’, प्रवक्ता भट्टराईले भने। उनका अनुसार त्यसको बारेमा छलफल गर्नुपर्ने भएकाले रोकिएको र अदालतले सफाइ दिएपछि विभागले पत्र लेखेर सफाइ दिन गाह्रो हुँदैन। ‘सबै कुरा भन्न त मिल्दैन तर अदालतबाट सफाइ पाएको अवस्थामा रोकिने ठाउँ छैन,’ प्रवक्ता भट्टराईले भने।  

त्यतिबेला लागूऔषध नियन्त्रण ब्युरोका तत्कालिन प्रमुख डिआइजी जयबहादुर चन्द तत्कालीन डिएसपी अपील बोहोरा र उनको टिमले पाटन औद्योगिक क्षेत्रमा रहेको संघई प्लाष्टिक इन्डष्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको थियो। सो घटनामा काठमाडौं कमलपोखरीमा रहेको आर्य फार्मा ल्याब प्रालिमा कामगर्ने भारतीय नागरिक दिलीप पण्डित पक्राउ परेका थिए। सो प्रकरणमा सांघाई समूहका मुख्य व्यक्तिका रूपमा पवन सांघाईलाई पनि विपक्षी बनाइएको थियो। ग्यास उद्योगदेखि बैंक तथा औषधि उत्पादन कम्पनीसम्म लगानी गरेका उनीमाथि लागुऔषध कारोबारीको आरोप लागेपछि त्यसबाट अहिलेसम्म उन्मुक्ति पाउन सकेका छैनन्। ‘उहाँहरूले लामो समयदेखि सफाइ लिन खोज्नु भएको थियो, अघिल्लो सरकारको पालामा पनि सफाइ लिनु खोज्नुभयो तर संभव भए अहिले भने विभागका कर्मचारीले नै प्रक्रिया पूरा गरेर सफाइ दिन लागिएको हो,’ औषधि व्यवस्था विभागका एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार सबै तहको अदालतबाट सफाइ पाएको पत्र आएपछि मात्रै विभागले स्वास्थ्य मन्त्रालयको अनुमतिले सफाइ दिन मिल्छ। विभागले सफाइ दिँदा मन्त्रालयको सहमति लिनुपर्ने भएकाले अहिलेका स्वास्थ्य मन्त्री पदम गिरीले सहमति दिएमा यसैपल्ट सफाइ पाउनेछन्।  

त्यतिबेला लागुऔषध नियन्त्रण ब्युरोले आर्य फर्मा र त्यसबाट औषधि बनाउने रसायन तस्करीमा संलग्नहरूको एउटा सूची तयार पारेपछि रतन संघाईलाई पक्राउ गरेको थियो। ब्यूरोले सिउडो एफेडिन खरिदको लागि भन्दै एउटा नक्कली ग्राहकमार्फत आर्य फर्माका मालिक भनिएका शंकर हलानसँग मोलमोलाई गरिरहेको बेला त्यसको कनेक्सन संघाई ग्रुपसम्म पुगेको थियो। लामो समयको बागेर्निङपछि २२ किलो सिउडो २५ लाखमा किनबेच गर्ने डिल भएकाले शंकर हलानले पैसा बोकेर आउनेलाई सिउडो दिएर पठाउने जिम्मा छोरा मोहित हलानलाई लगाएपछि प्रहरीले पक्राउ गरेको थियो।  

आर्य फर्माको लागि भन्दै औषधि बनाउन ल्याउने रसायन सिउडो एफेडिन चीन, भारत, बर्मा लगाएतका देशका लागुऔषध कारोबारीलाई बिक्री गरेको भेटिएपछि व्यवसायी रतन र पवन सांघाई मुछिएका थिए। सिउडो एफेडिन औषधि बनाउन प्रयोग हुने एक प्रकारको रसायन हो। यो रसायन ल्याउन औषधि उत्पादक कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दिनुपर्छ। विभागले उक्त निवेदन अनुमतिका लागि गृह मन्त्रालय पठाउँछ। कति ल्याउने, कुन देशबाट ल्याउने भन्ने स्पष्ट भएपछि गृहले स्वीकृति दिन्छ। गृहकै अनुमतिमा ल्याएको सो सिउडो एफेडिन दुरूपयोग भएको थियो। गृहकै अनुमति दिएपछि र सिउडो ल्याउने कम्पनी र फर्माले स्वीकृति पाएपछि एलसी खोलेर मात्रै सिउडो खरिद गर्न पाउँछ। उनले त्यतिबेला गृहमन्त्रालयलाई पनि गुमराहमा राखेर सिउडो एफेडिन ल्याएको प्रहरी अनुसन्धानमा देखिएको थियो। त्यसरी ल्याइएको रसायनबाट कति ट्याब्लेट औषधि उत्पादन भयो र उक्त औषधि कुन–कुन पसलमा बिक्री भयो भन्ने विवरण तयार पारेर सरकारलाई बुझाउनुपर्छ। नेपालमा कुन कम्पनिले कति सिउडो एफेडिन ल्यायो भन्ने तथ्यांक नेपालको लागुऔषध व्यूरो र अन्र्तराष्ट्रिय लागूऔषध नियन्त्रण ब्युरोमा समेत पुगेको हुन्छ। त्यतिबेला संघाई ग्रुपले मन्त्रालय, विभाग र ब्युरोलाई समेत छलेर तेस्रो मुलुक सप्लाइ गर्ने गरेको आरोप प्रहरीले लगाएको थियो ।

प्रकाशित: २४ माघ २०७९ ०१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App