२३ असार २०८१ आइतबार
image/svg+xml
कला

इँटा ओसार्ने विद्वान् र शक्तिशाली राजा

आधी रात हुनै लागेको थियो। भक्तपुरको विश्वविख्यात पचपन्न झ्याले दरबारको खोपीमा पानसहरूमा बत्ती बलेकै थिए। राजा भूपतिन्द्र मल्ल चिन्ताग्रस्त भई खोपीमा ओहोरदोहोर गरी केही सोच्दै थिए। निद्रा कोशौँ टाढा थियो। के गर्ने कसो गर्ने? हे तलेजु भवानी! हे महासिद्धिलक्ष्मी ! बाटो देखाऊ।

टौमढी टोलमै देश रक्षा, पामनाश र सङ्कटमोचनका लागि मन्दिर बनाई भैरवको मूर्ति स्थापना गरिएको थियो। केही कारणले भैरव रिसाई जनतालाई ठूलो दुःख दिन थालेका थिए। जान्ने बुझ्ने, तान्त्रिक गुभाजूहरूसँग परामर्श गर्दा भैरवसमेतले मान्नुपर्ने तन्त्रशास्त्रका अधिष्ठात्री महासिद्धिलक्ष्मीको तीनतले भैरव मन्दिरभन्दा अग्लो मन्दिर, भैरवकै अगाडि बनाएमा भैरव शान्त भई उनले रक्षा गर्न सक्दछन् भन्ने सर्वसम्मत समाधानको उपाय आएको थियो।

भक्तपुरे नेवारी राजतन्त्रका मान्यताअनुसार जनतालाई भेला गराई रायसल्लाह लिने काम गर्दा सारा जनताको जोड सिद्धिलक्ष्मी मन्दिर सकेसम्म छिटो बनाउने पक्षमा थियो। तत्काल काम थाल्नेमा जनदबाब बढ्दो थियो। राजा भूपतिन्द्र निर्माणमा अति रुचि राख्ने र त्यसबारे ज्ञान भएकाले, नेपालमै सर्वश्रेष्ठ र सर्वोपरि उचाइ भएको मन्दिर बनाउने उनले दृढसङ्कल्प गरी आफ्नोे विचार पनि सार्वजनिक गरिसकेका थिए। जग खन्ने काम भइसकेको थियो।

हिजो दिउँसो थाकुर जुजु (राजा) ले बोलाएको बैठकमा छ थरे मन्त्री (काजी) हरू, राजभण्डारी, जोशी, श्रेष्ठ, प्रधान, राठौर, हाडा र चौहानहरूका थकाली तथा राजगुरु कर्माचार्य र सल्लाकार झा, मिश्र, कायस्थहरूले यत्रो भव्य र ठूलो मन्दिर बनाउन के गर्ने? धनको जोहो कसरी गर्ने? भन्नेबारे आआफ्ना रायसुझाव दिएका थिए। किसानका थकालीहरू मन्दिर र कुलोहरू सँगसँगै बन्नुपर्छ भन्नेमा थिए।

चौहानहरूका थकाली राजभण्डारीले ढुकुटीमा धेरै रकम नरहेको र बुबा राजा जितामित्र मल्लले बनाएका राजकुलो, पोखरी, जलद्रोणी, ढुङ्गेधाराहरू, बाटाघाटा र पाटीपौवाका मर्मतसम्भार र यस्ता निर्माणकार्यलाई थप निरन्तरता दिन ठूलो धनराशी चाहिने भएको अवस्थामा यत्रो ठूलो भव्य मन्दिर बनाउन थप कर लगाउनुपर्ने राय दिएका थिए। धर्मगुरुहरू कर्माचार्य, झा र मिश्रहरूले भने राजाले करको भार बढाउन नहुने र जनताको आयको छैटौँ भाग (१७ प्रतिशतभन्दा बढी) कर लिने कार्य धर्मविपरीत हुने भन्दै चर्को विरोध गरेका थिए।

मकवानपुर, गोरखा र तनहुँ राज्यहरूसँग मैत्रीसम्बन्ध बढाइएको र पाटन र कान्तिपुर राज्यसँग विसं१७५५ मा शान्ति र मैत्रीसन्धि भएको भए पनि भक्तपुर राज्यले आफ्नोे सैन्यशक्ति नबढाए ठूलो धोका हुन सक्ने सम्भावना औँल्याउँदै शान्ति सुरक्षा र रक्षाको जिम्मा पाएका श्रेष्ठ, प्रधान, हाडा र राठौरहरूका मुली थकालीहरूले सुरक्षाका लागि ठूलो रकमको माग गरेका थिए। तर मन्दिर बनाउन धन कहाँबाट र कसरी ल्याउने भन्ने ठोस उपाय कसैले देखाउन सकेका थिएनन्।

थप कर उठाउन हुन्न र लोककल्याण हुने निर्माणकार्यमा र जनतालाई उन्नत बनाउने काममा तथा शान्ति सुरक्षामा खर्च बढाउनै पर्ने हो भन्नेमा विद्वान् राजा भूपतिन्द्रको पनि पूर्ण सहमति थियो। तर ठूलो र भव्य मन्दिर बनाए देशको रक्षा हुने र हजारौँ वर्षसम्म रहने नेवारी संस्कृतिको विकास हुने र त्यसले विश्वलाई नै आकर्षित गर्न सक्ने गुरुयोजना र मन्दिरको मोडल जुजु थाकुर भूपतिन्द्रको मनमस्तिष्कमा जरो गाडेर बसिसकेको थियो।

यो सपना टुट्न दिन्नँ भन्ने अठोट गरिसकेका थिए; तर पाँच तला जग भएको पाँच तले अग्लो विश्वमै अनुपम हुन सक्ने मन्दिर बनाउन चाहिने लाखौँ टन निर्माण सामग्री तयार गर्ने, ओसार्ने, काठ ल्याउने तथा हजारौँ कालीगढ र कामदारको ज्याला दिन कहाँबाट धन ल्याउने? भन्ने चिन्ताजन्य छटपटीले जुजु थाकुर आधी रातसम्म सुत्न सकेका थिएनन्। भोलि बिहान जग हाल्ने साइत छ। के गर्ने तलेजु भवानी, महासिद्धिलक्ष्मी ? बाटो देखाऊ, बाटो देखाऊ।

अचानक एउटा विचार फु¥यो। बिजुली चम्केझैँ बाटो देखा पर्‍यो। मनमनै हाँसे जुजु थाकुर। तनाव र चिन्ता हट्यो। मनमनै भोलि बिहान संसारलाई देखाउँछु भन्दै निष्फिक्री भई सुते भूपतिन्द्र मल्ल।

भोलिपल्ट बिहान राजषी वस्त्र र पगडी धारण गरी रानी र भारदारहरूका साथ तौमढीमा राजा भूपतिन्द्र मल्ल पुगे। हजारौँको जमघट थियो। कोही काठ ओसार्दै थिए; कोही इँटा ओसार्दै थिए छेवैको इँटाभट्टाहरूबाट। राजाले सरासर गई छेवैमा रहेको एउटा खर्पन उठाए। त्यसपछि इँटाभट्टामा गई इँटा ओसार्न लागे। सारा काजी, भारदार र जनता ट्वाल्ल, छक्क परे। एकछिनमा होस आएपछि, सबैले इँटा, माटो, ढुङ्गो, काठ ओसार्न थाले।

बाजागाजाका साथ साइतको कर्मकाण्ड सुरु भएपछि राजाले तीनओटा इँटा राखी जगहाल्ने काम गरे। जनताको र कालीगढहरूको हौसला बढाउन प्रतिदिन राजा आई इँटा ओसार्दथे। श्रमदान गर्नेहरूको र नगद चढाउनेहरूको ताँती लाग्दथ्यो। महिलाहरू छोयला, बारा भएको सम्यबजी र वास (रक्सी) बोकी आउँथे र कलाकर्मी कालीगढहरूलाई खाजा खुवाई हौसला बढाउँथे। यसप्रकारले छोटो समय र कम खर्चमै बन्यो विश्वप्रसिद्ध न्यातपौ: मन्दिर नेसं ८२२ (विसं १७५९ मा)।

(कथाशैलीमा प्रस्तुति पङ्क्तिकारको)

ऐतिहासिक–सांस्कृतिक विवेचना

उपरोक्त वर्णनको ऐतिहासिकता पुष्टि गर्ने अनेक प्रमाण उपलब्ध छन्। राइट वंशावलीका अनुसार भूपतिन्द्र मल्लले आफै श्रमदान गरी जनतालाई उच्चतम् स्तरको उत्प्रेरणा दिई यस मन्दिरको निर्माणका लागि चाहिने सम्पूर्ण निर्माण सामग्री ओसारी जम्मा पार्ने काम मात्र पाँच दिनमा सम्पन्न गराएका थिए (सं. राइट, डेनियल, सन् १८७७, हिस्ट्री अफ नेपाल: १८२)। ट्रक र ट्रिपर नभएको त्यस जमानामा सम्पन्न यस कार्यलाई आश्चर्यजनक मान्न सकिन्छ। विकासप्रेमी नेपालीहरूले बुझ्नुपर्ने तथा पर्यटन व्यवसायी र प्रबुद्ध गाइडहरूले भक्तपुर आउने लाखौँ पर्यटकहरूलाई सुनाउन लायक प्रसङ्ग पनि हो यो।

मुनकर्मी, हरिप्रसाद श्रेष्ठ, डा. पेशल दहाल, डा. श्रीरामप्रसाद उपाध्यायलगायत सबै जस्तो इतिहासकारहरूले राजा स्वयम्ले उपरोक्त प्रकारले इँटा ओसारी श्रमदान गरी जनतालाई प्रोत्साहित गरेको तथ्यलाई उजागर गरेका छन्। तर छोटकरी पार्दा अथवा यस विषयको महत्त्व नबुझी केही इतिहासकारले तीनओटा इँटा ल्याई मन्दिरको जग हाल्ने काम गरेको उल्लेख गरेका छन्।

यस्ता इँटा राखी जग हाल्ने काम सबै मन्त्री, प्रधानमन्त्री र मेयर आदिले गर्दै आएका छन्; तर यस्तो कार्यबाट जनता जुर्मुराएर श्रमदान–धनदान गर्ने कार्य भएको पाइन्न। यसप्रकार हेर्दा पनि राजा भूपतिन्द्र मल्लले इँटा ओसार्ने काम नै गरी जनतालाई श्रमदान, धनदान गर्न प्रोत्साहित गर्ने महान् कार्य गरेका थिए भन्ने बुझिन्छ। क्रूर नियतिले बाल्यकालदेखि नै श्रम गर्ने बानी यी राजामा परेको थियो पनि।

बालचन्द्र शर्मा र मेरी स्लुसरलगायत सबै इतिहासकार तथा संस्कृति र वास्तुविद्हरूले यस नेपाली (नेवारी पगोडा शैलीको) न्यातपौः मन्दिरलाई अद्वितीय तथा विश्वमै सर्वश्रेष्ठ पगोडा शैलीको संरचनाहरूमध्ये एक मानेका छन्। भूपतिन्द्र मल्लको व्यक्तित्वमा रहेको उच्च धार्मिक भावना र मानवीय उदात्त भावकै कारण यो मध्यकालीन वास्तुकलाको सबैभन्दा उत्कृष्ट नमुना बन्न सकेको इतिहासकारहरूको मान्यता छ (चालिसे, डा. पुष्पराज, विसं २०५८, नेपालको इतिहास र सभ्यता: २९२–२९३)।

यस न्यातपौँः मन्दिरको उचाइ र भव्यता चाँगुनारायण र काठमाडौँको तलेजु मन्दिरको भन्दा कम छैन। पाँचओटा अत्यन्त ठूला जगमाथि सत्तरी फिट अग्लो पाँच तला भएको मन्दिरको प्रथम तलाको गर्भगृहमा बेतालमाथि आसन गरी बसेका ढुङ्गाको भैरवको मूर्तिमाथि चढेकी सिद्धिलक्ष्मीको तान्त्रिक मूर्तिको स्थापना गरिएको छ। तर यस मूर्तिलाई ढुङ्गाले छोपी गोप्य राखिएकाले सबैले दर्शन गर्न पाउँदैनन् (मुनकर्मी, लीलाभक्त, विसं २०४१, नेपालको सांस्कृतिक तथा ऐतिहासिक दिग्दर्शन: १७७–१७८)।

नेवारहरूबाटै विकसित तथा सम्पूर्ण नेपालले ग्रहण गरी विश्वमा विस्तारित गरेको यस प्यागोडा शैलीका मन्दिरहरू तलैतलाको बनेका हुन्छन्। वर्गाकार आधारभूमि बनाएर त्यसमाथि तलाहरू (पेटीहरूमा मन्दिरका तलाहरू) उभ्याउने क्रममा माथि बढ्दा, एकभन्दा अर्को अलिक सानो हुँदै जान्छ। यस्ता प्यागोडा शैलीका मन्दिरमा तलैपिच्छे छाना हालिएको हुन्छ। छाना झिँगटीका अथवा तामा अथवा सुनको जलप लगाइएको हुन्छ। देवता राख्ने गर्भगृह पहिलो तलामा हुन्छ। यसको मध्यभागमा मुख्य देवदेवीको मूर्ति राखिन्छ। गर्भगृहको वरिपरि प्रदक्षिणापथ (बरन्डा) राखिन्छ। गर्भगृहमा पुग्न सिँढी बनाइएको हुन्छ। यस्तो सिँढीको दुर्वतर्फ द्वारपालहरूको मूर्ति राखिएको हुन्छ।

न्यातपौःमा सबैभन्दा तल दायाँबायाँ पहलमान जयमल र पत्ताको प्रस्तर मूर्ति छ। त्यसभन्दा माथि दश गुना शक्तिशाली दुई सिंहहरूको र त्यसभन्दा माथि दशगुना बढी शक्तिशाली दुई शार्दूलहरूको र त्यसभन्दा माथि सिँढीको दुवैतिर दश गुना बढी शक्तिशाली दुई हात्तीहरूको र माथि पाँचौँ स्तरमा अझै दश गुना बढी शक्तिशाली मानिने दुई देवीहरूको सुन्दर भव्य मूर्तिहरू राखिएका छन्। यस्तो प्रचलन दक्षिण भारतका मन्दिर निर्माणमा पनि पाइन्छ।

यस्ता गर्भगृहमा पुग्ने सिँढीहरूको दुईतर्फ द्वार रक्षकहरूको मूर्ति राख्ने चलनको सुरुवात करिब साढे चार हजार वर्ष पहिलेदेखि अनातोलिया (हालको टर्की देश) का प्राचीन हित्ती (खत्ती) आर्यहरूले गरेको मानिन्छ (श्रेष्ठ मल्ल, शिवराज, विसं २०७७, मानव यात्रा: सृष्टिदेखि आर्यहरूको प्रथमा संस्कृतिसम्म:  २११)। मन्दिरका पाँचै तलाहरूमा चारैतिर कलापूर्ण झ्यालहरू र काठका टुँडालहरू छन्, जुन काष्ठकलाको विश्वमै सर्वश्रेष्ठ नमुना मानिन्छन्। मन्दिरको धुरीमा घण्टाकार सुनौलो गजुर छ। ढोकाका पल्लाहरूमा काठ तथा धातुको कलाकृति कुँदिएका छन् र अर्धवृत्ताकार तोरण राखिएका छन् (क्षत्री, गणेशप्रसाद, विसं२०४८, संस्कृति, सभ्यता र पुरातत्त्व: १०६–१०७)।

यसप्रकारले न्यातपौः मन्दिर वास्तुकलाको दृष्टिले सर्वगुण सम्पन्न र सर्वश्रेष्ठ निर्माण बन्न गएको छ। यो कार्य सम्पन्न गरी जुजु थाकुर भूपतिन्द्र मल्लले आफ्नोे महान् सपना (लोककल्याणकारी योजनाहरू पूरा गर्दै, करको भार नबढाई, जबरजस्ती बेठबेगार नलगाई) जनसहयोगमा साकार पारे।

राजा भूपतिन्द्र मल्लको ऐतिहासिक पृष्ठभूमि र व्यक्तित्व विकासको आधार

राजा जयस्थिति मल्लको पालादेखि नै भक्तपुरका राजाहरूमा विद्वत् परम्परा चलिआएको थियो। उनका वंशज राजा जितामित्र मल्ल विविध शास्त्रका ज्ञाता, कला र सङ्गीतप्रेमी तथा प्रजाको कल्याणका लागि लागिपर्ने व्यक्ति थिए। नेवारी, संस्कृत र मैथिली भाषामा उनको दखल थियो। उनले सुमति, सुमतितन्त्र, मदालसाहरण, गोपीचन्द्र, अश्वमेघ र जैमिनी भारत आदि उच्च कोटीका ग्रन्थ र नाटक लेखेका थिए। यिनले एउटा वंशावली पनि लेखाएको मानिन्छ (चालिसे, विसं २०५८, पूर्वोक्त : २८५)। यिनकी दुईवटी रानी थिए। जेठी रानी लालमतीबाट भूपतिन्द्र जन्मेका थिए।

वंशावली र लोककथाहरूका अनुसार सोझा र धार्मिक राजा लेखनपठनमा नै मग्न रहने भएकाले होला आफ्नी कान्छी रानीको मोहजालमा परेर उनको चरित्र जान्न बुझ्न जितामित्रले सकेनन्। उनको मृत्युपश्चात् निःसन्तान कान्छी रानीले काजी भाजुकसाः को षड्यन्त्र र सहयोगमा सत्ता कब्जा गरिन्। युवराज भूपतिन्द्र सानै (१३ वर्षका) र असहाय थिए।

मुख्यमन्त्री भाजुकसाः कान्छी रानीको प्रेमपात्र पनि भए। बालक युवराज भूपतिन्द्रलाई डोरीले बाँधी विहावरको जङ्गलमा लगी मार्न चार जना जल्लाहरूका साथ रातारात पठाइयो र युवराज हराएको हल्ला पिटाइयो। घोर जङ्गलबीच मार्न तयार जल्लादहरूलाई आमाको दुहाई दिई भगवान् बनी मलाई बचाऊ भन्दै वाकपटु भूपतिन्द्रले ज्यान बचाउन रोइकराई गरेपछि जल्लादहरूको पनि मन पग्लेछ। युवराजलाई जङ्गलमै छाडी, एउटा मृग मारी त्यसको मुटु लिएर जल्लादहरू भक्तपुर दरबारमा पुगेछन्। कान्छी रानी र भाजुकसाःले अब निष्फिक्री भई मोजमस्ती गर्दै राज चलाउन थालेछन्।

भाग्यवश सिकर्मी काम गर्ने एउटा तामाङले बालक भूपतिन्द्रलाई जङ्गलमा भेटेर सबै कुरा सुनेपछि मेरो पनि सन्तान छैन, म तिमीलाई बचाउँछु, पाल्दछु भनी पहाडतिर लगेछन्। भोटतर्फ पनि लगी काठको काम पनि उनले सिकाएछन्। बिस्तारै भूपतिन्द्र काष्ठकलामा निपुण पनि बनेछन्। अब युवा भइसकेका भूपतिन्द्रले तामाङहरूको सहयोगमा सङ्गठन बनाउन थालेछन् र तामाङको भेषमा भक्तपुरमा आई भाजुकसाः र कान्छी रानीको चर्तिकलाबाट आजित जनताको भावना बुझ्दै असन्तुष्ट धौकाजी, भौकाजी र तिमिला काजीहरूसँग गोप्य सम्पर्क बढाएछन्। सङ्गठन बलियो भएपछि (सम्भवतः कुनै तामाङ राज्यको सहयोगमा) उनले भक्तपुर सुकुलढोकाबाट प्रवेश गरी भक्तपुर कब्जा गरी भाजुकसाःलाई मारेर कैदमा परेकी आफ्नी आमा लालमतीलाई छुटाइ सौतेनी कान्छीआमालाई थुथुदरबारको बगैँचाघरमा कैद गर्नुपरेको थियो (मुनकर्मी, सं. २०४१, पूर्वोक्त: १७४ तथा पासा, वासु, वि.सं. २०५१, भादगाउँ: ७३–७६)।

यस्तो परम उतारचढाव भोगेका राजा भूपतिन्द्रले दुनियाँदारको दुःख देखेका अनि बुझेका थिए। ज्याला मजदुरी गरी बलियो भएका थिए। सानैमा बाबु सुमती जितामित्रको बौद्धिक प्रभाव उनमा परेकै थियो। यस्तो ज्ञान र अनुभव प्राप्त उनी विवेकवान् बनेका थिए। उच्चतम् मानवीय उदात्तभाव भएका भूपतिन्द्र विसं १७५३ मा गद्दीमा बसेका थिए। उच्चस्तरको कूटनीतिक क्षमता भएका यिनले मकवानपुर, तनहुँ र गोरखासँग मित्रता गाँसी आफ्नोे शक्ति बढाएका थिए र चार पटकसम्म कान्तिपुर र पाटन राज्यको सेनालाई हराई शान्तिसम्झौता गरी नेवार राज्यहरूमा मेलमिलाप र सुख, समृद्धि ल्याउने प्रयास गरेका थिए। राजकाज, निर्माण, साहित्य रचना सबैमा पोख्त यिनी कर्मवीर, कुशल प्रशासक, वीर राजा थिए।

आफ्नोे राज्यमा सुनौलो युग ल्याएकाले यिनलाई भक्तपुरको सर्वश्रेष्ठ राजा मानिन्छ (चालिसे, विसं २०५८, पूर्वोक्त: २९३ र दाहाल, पेशल, वि.सं. २०४१, नेपालको मल्लकालीन इतिहास : १२६)। यिनले सं. १७७९ सम्म २६ वर्ष राज्य गरी भक्तपुर राज्यलाई सुसम्पन्न र कलात्मक सुन्दरताले जडित ‘जीवित अजायव घर’ बनाएका थिए। सम्पूर्ण नेपालीको शान बनेको उनले सिँगारेको, भक्तपुर हेर्न बर्सेनि दसौँ लाख स्वदेशी–विदेशी पर्यटक त्यहाँ पुग्दछन्। मैथिली भाषामा विशेष दखल भएका भूपतिन्द्र उच्चकोटीका साहित्यकार पनि थिए। जैमिनी भारत, उषाहरण,, पशुपति प्रादुर्भाव आदि अनेक ग्रन्थका लेखक र नाटककार हुन् यी वीर र कुशल राजनेता जुजु थाकुर। यिनका छोरा भक्तराजा रणजित मल्ल भक्तपुरका अन्तिम राजा भए। उनकै समयमा यस्ता विवेकवान् र कलाप्रेमी नेवार राजाहरूको हार भयो; तर उनीहरूले खडा गरेको संस्कृति र सभ्यताले विश्वको मन अझै जितैकै छ।

(श्रेष्ठ मल्ल व्यवस्थापन र इतिहासको क्षेत्रमा कार्यरत अन्वेषक हुन्।)

प्रकाशित: १० वैशाख २०७९ ०२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App