२३ असार २०८१ आइतबार
image/svg+xml
कला

नौ धार्नी सुन र बन्धक बनाइएका राजकुमार

आजभन्दा ७८ वर्ष अघिको कुरा हो, डोटी र अछामको सिमानामा रहेको जंगल नजिकको सानागाउँको मोती खड्काले हलो जोत्दै थिए। हलोको फाली अड्किएपछि फाली केमा अड्कियो भनी खनेर हेर्दा जीर्ण अवस्थाको तामाको बाकसमा राखेको नौ धार्नी सुन फेला पारेका थिए। गुपचुपमा १० रूपैयाँ तोला सुन शेरबहादुर सुनारको मिलेमतोमा बेचियो।

महाराज जुद्धशमशेरले थाहा पाएपछि कर्नेल वेदप्रकाश शमशेरलाई बिजुली दौडाहामा पठाई तत्कालीन सोझा, इमानदार र धार्मिक प्रवृत्तिका बडाहाकिम गोहविक्रम राणालाई समयमै जाहेर नगरेको दोषमा चाँदीका नेल हतकडी लगाई तावदानमा राखी आदरपूर्वक काठमाडौं चलान गरेको यस पंक्तिकारले बाल्यावस्थामा स्वयं देखेको थियो।

त्यसपछि जुद्धशमशेरले कडाइका साथ छानबिन केरकार सुरु गर्न लगाएका थिए। सुन पाउने र सुनारलाई पक्री दलिनमा उल्टो झुन्ड्याई कोर्रा ठोक्दै बकाउँदै सुन किन्नेबाट सुन असुलउपर गरी काठमाडौं पठाइएको थियो। यति धेरै सुन किन, कसले र कहिले गाडेर राखेको थियो होला भन्ने सबैको मनमा खुल्दुली थियो त्यस बेला पनि।

डोटी चौकीतिर प्रचलित लोककथा

आजभन्दा ७० वर्ष पहिलेतिर यस पंक्तिकारले सुनी टिपोट गरेको घटनास्थल नजिक पूर्वीडोटीमा प्रचलित (हाल विलुप्त हुन लागेको) नौ धार्नी सुनबारेको लोककथा २०२० साल कात्तिकमा ‘रूपरेखा’ मासिकमा छापिएको थियो।

कथा यस्तो छ– उहिल्यैको कुरा हो, नागीमल्ल (नागमल्ल) राजालाई अछामी राजाले हाँक दिएपछि साइत निकाली नर्सिङ बाजा र दमाहा घन्काउँदै नागीमल्ल ठूलो फौजका साथ आफ्नोे कोटबाट निक्ली पूर्वतर्फ अछाम सर गर्न पुगे। अछाम सर गरेपछि सुरक्षाको व्यवस्था नै नगरी नागीमल्लको फौज (दुल्लु–दैलेख सर गर्न) अछामको कर्णालीनजिक भैँसोल्लेतर्फ लागेछ। तर वर्षामा उर्लेको कर्णालीले बाटो छेक्यो। उता हारेको अछामी राजाको फौजले फेरि उठी पछाडितर्फबाट नागीमल्लको फौजलाई घेरामा पारी मार्न थालेछन्।

नागीमल्ल जोगीको भेष गरी ज्यान बचाउन खप्तडको जंगलमा पसेछन् र हराएर एक्लो परेछन्। पैतालाभरि ठेला परेका, थकित र रनरन्ती ज्वरो आएका भोका जोगीलाई एउटी बालविधवा बाहुनीले फेला पारी खप्तडलेक छेउको आफ्नोे खर्कमा ल्याइछन्। सुसार गर्दै तात्तातो खीर खान दिइछन्। जोगीले बीचैबाट झिकी हतारमा तातो खीर खान खोज्दा हातै पोलेछ। मायालु दृष्टिले खाएको हेर्दै गरेकी बाहुनीले भनिहालिन्, ‘अफ्फा (ओहो) कस्तो माइसे (मान्छे)! नागी राजाले जित्न नै जाण्यो, यै जोगीले खान नै जाण्यो। (वरिपरिबाट) सिमटसामटअरी खाएपन... ।’ 

हँ, मैले कसरी जित्न जानिनँ? नागीमल्लको मुखबाट निक्लिहाल्यो। जवान र सुन्दर विधवा बाहुनीले चिनिहालिन्। दया र माया जागेर उनले जोगी भेषधारी राजालाई आफ्ना एकलासको खर्क र जंगलमै लुकाएर राख्ने निधो गरिन्। जुम्ली महाराजाका प्रभावमा रहेको डोटीका केही काजी उनका विरोधी केही स्थानीय देवीदेवताका धामी पुरोहितका डरले होला, हारेका शैवशाक्त मतका कट्टर राजा नागीमल्ल डोटी फर्कन सक्ने अवस्था सम्भवतः थिएन पनि। माया प्रेम बढ्दै गयो र केही वर्षपछि विधवा ब्राह्मणीको गर्भबाट एउटा सुन्दर छोरा जन्मियो।

१८–१९ वर्षजति नागीमल्ल त्यतै खप्तडमै रमाए, तर आफ्नोे राज्यको माया उनीमा टुटेन। डोटीतर्फ फर्किएको खप्तडको ठूलो ढुंगामा बसी त्यता हेर्दै बाँसुरी बजाइरहन्थे रे। वर्ष बित्दै गए। एक दिन त्यो अवश्यम्भावी दिन पनि आयो। सिकारमा गएका नागीमल्ललाई जंगली बँदेलले घाइते पारिदिएछ। केही दिनपछि उनको मृत्यु भएछ। अछामी काजीहरूले थाहा पाई बालक राजकुमारलाई खर्कबाटै कब्जामा लिएछन्।

बिचरी विधवा ब्राह्मणीलाई फेरि विधवी भएको दुःख त छँदै थियो, छोरा पनि खोसिएपछि दुःख सहनै नसकी खापरदहमा हामफालिन् रे। केही समयपछि अछामी काजीहरूबाट डोटीमा सन्देश आयो ‘तम्रा राजकुमार हाम्रा कब्जामा छन्। तम्रो गद्दी खाली छ।

राजा चाहिन्या भया राजकुमारको तौल बराबरको नौ धार्नी सुन सिमानाको चौखुट्टेमा लिई आऊ र राजकुमार लैजाऊ ।’ डोटीका राज्य सञ्चालन गर्ने काजीहरूले सैन्यसहित सुन तामाका बाकसमा राखी पठाए रातारात। त्यसताकाको चल्ती बाटो दुधेश्वरको डाँडा हुँदै गएका सैनिकको चौखुट्टे नजिक बास पर्‍यो। रात परेपछि खाल्टो खनी सुन गाडेर लुकाई राखे र माटोले छोपछाप पारी सैनिक सुते। आधी रातमा अछामी सैनिकबाट अचानक हमला भयो। डोटीका सैनिक सबै काटिए, तर सुन छैन। आक्रमणकारी भागेर हराए। पछि के भयो थाहा छैन। यस्ता लोककथाको समसामयिकता र सत्यताको पुष्टि गर्न त्यस युगको इतिहास बुझ्नुपर्ने हुन्छ।

नागमल्लको ऐतिहासिकता

वि.सं. ७४७ तिर कुनै शाल्यवाहन (सातवाहनवंशी) वासुदेवले बद्रीनाथ नजिक ज्योतिर्मठ (जोशीमठमा) राज्य खडा गरेपछि तिनका सन्तानको राज्य विस्तार अल्मोडा कत्युरसम्म भएको थियो। पछि १०औँ शताब्दीतिर यो शक्तिशाली राज्य सात टुक्रामा बाँडियो (थपलियाल, डा. रेखा, सन् १९९१, प्राचीन मध्य हिमालयः ८८–१०६)। यिनै सात कत्युरी राज्यमध्येको दार्चुला पारिको अस्कोट राज्यका राजा त्रिलोकपालका जेठा छोरा निरञ्जन (निरयपाल) ले वि.सं. १४०९ मा जुम्लीहरूबाट डोटी कुमाउँ छुटाई आफूलाई बृहत् डोटी र कुमाउँका राजाधिराज घोषित गरेको प्रमाण पाइन्छ, (पन्त, देवकान्त, वि.सं. २०३२, डोटेली लोकसाहित्यः ८३–८४)। त्यसअघि डोटीमा वि. सं. ११२७ तिर कुनै राधामाधव र त्यसपछि खप्तडी थापा कालुवर्माको राज्य रहेको एक वंशावलीमा उल्लेख छ, (खत्री, विष्णुप्रसाद, वि. सं. २०७४, बझाङ, सङ्क्षेपः २४–२५)। निरयपालले वि.सं. १४०९ तिर डोटीमा राज्य खडा गर्दा, खस साम्राज्यका महान् विजेता क्राचल्ल, अशोकमल्ल र जितारीमल्लले खडा गरेको तिब्बत समेतको साम्राज्य कमजोर हुँदै गएको अवस्था थियो।

यसबेलासम्म बृहत् डोटी राज्यमा उत्तरी भारत र गढवाल कुमाउँतिरबाट हजारौँ आर्य ब्राह्मण र राजपूत परिवार मुसलमानबाट धर्म जोगाउन पहाड पसी यहाँ बसोबास गरिसकेका थिए र डोटीका राजालाई खसहरूलाई धकेल्न राम्रै दबाब परेको देखिन्छ। यस्तो अवस्थामा निरयपालले खस सम्राट् पृथ्वीमल्लकै राज्यकालमा तिब्बतमा विद्रोह भई तिब्बतको खारी प्रदेश खस साम्राज्यबाट गुमेका बेला डोटीमा कब्जा जमाएका थिए र आफूलाई रैका (राजाका राजा) घोषित गरेका थिए।

यी कत्युरी राजवंशीहरू शक (रौका) हाँगाका आफूलाई शाल्यवाहन (सातवाहन वंशी) भन्नेहरू मस्टो पूजक थिए, (सांकृत्यायन, राहुल, सन् १९८५, मध्यएसियाका इतिहास, भाग १: ७४)। पछि गएर निरयपालकै समयमा वि.सं. १४१९ देखि ११४१ सम्ममा सिँजापति जुम्लीखसहरूले डोटीमा पुनः कब्जा जमाएको देखिन्छ।

यिनै निरयपालका छोरा धर्ममा सुधार ल्याउन चाहने, पराक्रमी तर अहंकारी नागमल्लले वि.सं. १४४१ मा खस साम्राज्यबाट डोटी कुमाउँलाई पुनः स्वतन्त्र पारेको देखिन्छ। तर यिनी वि.सं. १४५० सम्म मात्र गद्दीमा बसेको देखिन्छ। वि.सं. १४५० देखि यिनका छोरा रिपुमल्ल गद्दीमा बसेको प्रमाणित समय वि.सं. १४६९ का बीचको १९ वर्ष डोटीको गद्दी खाली रहेको देखिन्छ। यस अवधिमा डोटीराज्यको सञ्चालन हासू कठायत र राई देउवाका साथै पन्त पनेरू आदि थरका काजीहरूले गरेको देखिन्छ।

२५–२६ वर्षको उमेरमै नागमल्लले सिञ्जाली खस साम्राज्यसँग टक्कर लिई कुमाउँका साथै डोटी राज्यलाई फिर्ता लिने समयमा सिञ्जाधिपति सूर्यमल्लका छोरा अभयमल्ल (राज्यकाल वि.सं. १४४०–१४४८) भर्खरै गद्दीमा बसेका थिए।

यस बेला सिञ्जा साम्राज्य अत्यन्त कमजोर भई विखण्डन हुने अवस्थामा थियो। सिञ्जापति अभयमल्लका महात (महामात्य) यशोवर्माको वर्षौंको चलखेलपछि यशोवर्माका छोरा मलयवर्मा (मलैबम्म, राज्यकाल वि.सं. १४४०–१४७५) ले जुम्लाको अधिराज भई सिञ्जा क्षेत्रको मात्र राज्य अभयमल्ललाई छोडी कालिकोटबाट खस साम्राज्य सञ्चालन गरेका थिए।

पूर्वोक्त लोककथामा भनिएझैँ डोटीका राजा नागमल्ल अछाम सरगरी दुल्लुतिर लाग्न खोजेको सम्भावित समय वि.सं. १४५० तिर सिञ्जा, कालिकोट, अछाम र दुल्लुतिर यिनै मलयवर्मा (मलैवम्म) कै राज्य रहेको देखिन्छ।

वि.सं. १४५३ मा आफ्ना कान्छा छोरा संसारवर्मालाई जुम्ली राजा मलयवर्माले दुल्लु भेगको (धेरै सम्भव, अछामको समेत) महामण्डलेश्वर बनाएको अभिलेख प्राप्त छ, (अधिकारी, डा. सूर्यमणि, सं. २०६७, खस साम्राज्यको इतिहासः८०)। पछि गएर डोटीका यिनै नागमल्लका छोरा रिपुमल्ललाई वि.सं. १४६९ मा गद्दीमा राखिँदा अछाम राज्यमा जुम्लीहरूको अधीनस्थ करद राजा थिए, (सुवेदी, डा. राजाराम, वि.सं. २०५४, कर्णाली प्रदेशको मध्यकालीन इतिहासः २०४) ।

डडेल्धुरातिर प्रचलित एक लोककथाका अनुसार नागमल्ल विरक्तिएर जोगी भेषमा अछाम बैजनाथ पुगेको र उनले विधवा ब्राह्मणीको सतित्व हरेको र उनीबाट रिपुमल्ल रौतेला जन्मेको र पछि गएर पूर्वी डोटीको काँडा भन्ने गाउँमा नागमल्लको मृत्यु भएको थियो, (थापा, धर्मराज, वि.सं. २०३३, मेरो नेपाल भ्रमणः ४०१)। यस्तै तामामा सुनको जलप लगाई ३६ धार्नी नक्कली सुन लिई जाने डोटीका तीनजना व्यक्तिलाई चोर, ढाँट र ठग जातमा झारी राजकुमारलाई डोटी लैजान दिने जुम्लाका महाराज नै थिए भन्ने अर्को वर्णन पनि छ, (भट्टराई, विश्वनाथ, वि.सं. २०३१, प्राचीन नेपाल, संख्या ३०–३९ः ५७)। यस लोकथामा राजकुमार जन्माउने नारीलाई विधवा ब्राह्मणी नै भनिएको छ।

अझ अर्को वर्णनका अनुसार, नागमल्लको मृत्यु डोटी अछामको सिमानाका चौखुट्टे नजिक डोटीतर्फ पर्ने फुलोटमा शाके १३३३ (वि.सं. १४६८) मा भएको थियो, (ओझा, डा. देवीप्रसाद, वि.सं. २०४९, डोटी क्षेत्रको इतिहास तथा संस्कृतिः ६५)। तेलमा डुबाई राखेर ल्याएको नागमल्लको मृत शरीरको सनाखत सेनापतिका सन्तान बलायरहरूले गरेपछि मात्र दाहसंस्कार गरियो।

नागमल्लको अन्तिम अभिलेख पाइएको वर्ष (सं. १४५०) देखि उनका छोरा रिपुमल्ल गद्दीमा राखिएको वर्ष वि.सं. १४६९ को बीचको १९ वर्षमा घटित वर्णन नागमल्लबारेका लोककथा तथा देवकान्त पन्तले संग्रह गरेका भैनी, चाचरी र धमारीमा मात्र पाइन्छ, (पन्त, वि.सं. २०३३, पूर्वोक्तः ९२–१०७)। कुनै अभिलेख हालसम्म पाइएको छैन। जुम्ली राजाधिराज मलयवर्माका जुम्ला–अछाममा राज गर्ने कुनै छोरा अथवा नातिलाई सलामी करदस्तुर दिई अछामबाट डोटी ल्याई किशोर बालक रिपुमल्ललाई गद्दीमा राखिएको तथ्य लोककथाबाट मात्र होइन, थप अनुसन्धान भए पुरातात्त्विक प्रमाणबाट पनि पुष्टि हुन सक्नेछ।

पछि गएर नागमल्लका छोरा डोटीका राजाधिराज यिनै रिपुमल्लले भर्खरै बन्न लागेका भुरेटाकुरे बाइसेचौबिसे राजालाई दबाउँदै त्रिशूली नुवाकोटसम्म पुगी वि.सं. १४९८ मा पानस चढाएको अभिलेख छ, (वज्राचार्य, धनवज्र र श्रेष्ठ, टेकबहादुर, वि.सं. २०३२, नुवाकोटको ऐतिहासिक रूपरेखाः ४ र ४३)। मौका छँदाछँदै एकीकरण नगरी कर मात्र उठाई फर्कनु यिनको भुल थियो सायद। तर यिनैले चलाख र विश्वासी डोटेली कुमाई ब्राह्मणहरूलाई, हिन्दूकरण गर्ने उद्देश्यले यस्ता नवोदित केही बाइसी–चौबिसी राज्यहरूको गुरूपुरोहित र ज्योतिषीका रूपमा तैनाथ गरेको संकेत भने पाइन्छ।

सत्य निरूपण

उपरोक्त ऐतिहासिक तथ्यको परिप्रेक्ष्यमा विचार गर्दा नागमल्ल विरक्तिएर जोगी भई अछाम गएको नभई विखण्डन हुन लागेको जुम्ली राज्य जित्ने उद्देश्यले अछाममा युद्ध गर्न गएको मान्नुपर्छ। उनलाई बचाउने द्यौमा नामकी नारी बालविधवा ब्राह्मणी नै भएको र उनको खर्क खप्तडकै पूर्वी छेउमा रहेको लौरी विनायकतिर हुनुपर्छ।

नागमल्लको मृत्यु काँडागाउँमा भई उनको शव फुलौटमा ल्याइएको पूर्वाक्त चाँचरी वर्णन सत्य नै प्रतीत हुन्छ। धर्मराज थापाले संकलन गर्नुभएको लोककथामा भनिएझैँ ८ वर्षका बालक राजकुमारलाई (३६ धार्नी होइन) नौ धार्नी सुनसँग साटिल्याउने क्रममा (काँडा, फुलोट र अछामतर्फको लौरी विनायक तथा चौखुट्टेसँगै रहेको) हालको साना गाउँमै उपरोक्त लोककथामा वर्णित त्यो सुन गाडिएको हुनुपर्ने ठहर नै तर्कसंगत हुन्छ। जुम्ली राजाले कर र सौगात दिने सर्तमा रिपुमल्ललाई डोटीको राजगद्दीमा राखेको मान्नु तर्कसंगत हुन्छ।

पछि गएर विजयी राजा रिपुमल्लले राज्यशक्ति विस्तार गरेको पनि प्रमाणित छ। थप अध्ययन अनुसन्धान भए बाइसे चौबिसे राज्य निर्माणको सुरुवात र तत्कालीन जनभावनालगायत विखण्डनको कारक तत्त्वबारे अनेक महत्त्वपूर्ण र शिक्षाप्रद ऐतिहासिक प्रमाण फेला पर्ने देखिन्छ।

प्रकाशित: १५ माघ २०७८ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App