२३ असार २०८१ आइतबार
image/svg+xml
कला

हार्नेहरूको इतिहास: भक्तपुरका आदिविद्रोही अवधूतसिंह मल्ल

१८२७ सालतिरको कुरा हो,नेपालमण्डलमा पूरा कब्जा जमाई ढुक्क भई बसेका पृथ्वीनारायण शाह भक्तपुरबाट म्यानमा बसी फर्कंदै गर्दा थिमी ह्वाँह्वाँ पाटीतिर नगरकोटी सर्दार भवानीसिंहले पृथ्वीनारायणलाई काट्न एक्कासि तरबार झिके, तर तरबार म्यानमै अड्किएछ र अंगरक्षक हर्ष पन्थले भवानी सिंहलाई त्यहीँ मारिदिएछन्। धन्य, पृथ्वीनारायण बाँचेछन्,(पासा, वासु, वि.सं. २०५१, भादगाउँ : ९५–९६)।

यस आक्रमणमा ककसको मिलोमतो थियो भन्ने पत्ता लगाउन रातदिन गोर्खाली दरबार लाग्यो। पाटनका ६ प्रधान, स्वरूपसिंह कार्की र नगरकोटी सर्दार भवानी सिंहको यसमा प्रत्यक्ष सहभागिता रहेको र मुख्यतः हारेर कासीबास गएका राजा रणजित मल्लका मठ्या रानीपट्टिका छोरा अवधूतसिंह मल्लले नै यो काण्ड रचाएको पत्ता लाग्यो।

अवधूतसिंहलाई जहाँ भेटे पनि तुरुन्तै मार्ने आदेशका साथ उनको भक्तपुरको श्रीसम्पत्ति जफत गरियो, (श्रेष्ठ, प्राडा टेकबहादुर, २०५९,पर्वतराज्यको ऐतिहासिक रूपरेखा :८१)। यस प्रकार गोर्खाली शासन नेपालमण्डलमा स्थापित भएपछिको पहिलो भक्तपुर विद्रोह असफल भयो।

अवधूतसिंह राजा रणजित मल्लका मठ्या (ल्याइते) रानीका सात छोरामध्येका एक हुन्। यिनीहरूलाई बहाले भाजुराजा तथा सतभैया पनि भनिन्थ्यो। यिनकी आमाको दरबारको नाम जयलक्ष्मी थियो। मन पर्ने कान्छी रानी भएकाले मनमैँजु पनि भनिन्थ्यो (मल्ल, देवेन्द्र, विसं २०५५,राजा भुवन मल्लका वंशज:१६ र पासा, वासु, विसं २०५१, भादगाउँ :८०)। यी मनमैँजु रानी उदाथाछें पानिखेती भनिने राठोर, भारदारहरूले धर्मपुत्री बनाई पालेकी कन्या थिइन्, (मुनकर्मी, लीलाभक्त, विसं २०४१, नेपालको सांस्कृतिक तथा ऐतिहासिक  दिक्दर्शनः १८७–१८८)। भक्तपुरका जानिफकार वयोवृद्ध कृष्णालाल उदांथाँचेका अनुसार,रणजित मल्लकै शासनकालमा राठौरहरूबीच कलह भएको थियो। उनले पुर्खाहरूबाट सुनेअनुसार मनमैँजु उदांथाँचे राठौरहरूकै छोरी थिइन् र उनको केटाकेटीको नाम नवः मैंजु थियो।

भाजुराजाहरूमा यिनमा जेठा मनोरथसिंह मल्ल, माइला धनसिंह, साइँला उपेन्द्रसिंह, काहिँला अच्युत (अजित) सिंह, ठाइँला, अवधूतसिंह, कान्छा लक्ष्मीनरसिंह र सानोकान्छा जयनारायणसिंह थिए। पूर्वाेक्त मुनाकर्मीको पुस्तकमा स्पष्ट रूपमा नखुलेका (यी राजकुमारहरूका लागि बनाइएको) बहालहरूको स्थितिबारे बुझ्दा भक्तपुरका वरिष्ठ इतिहासकार ओमप्रसाद धौभडेलले भनेअनुसार दरबारचोकको पश्चिम कुनाबाट दक्षिणतर्फ जाने सडकमा दुवसी,सन्तन (शान्त), खौमा,दथु र कुथु वहाः गरी पाँच र वंशगोपाल मन्दिर नजिकको नासमना–१ र चाँगुनारायण जाने बाटोतिरको तुछें वहाः गरी जम्मा सात बहाल थिए। जयनारायणसिंहको बहाल नासमनामा राखिएको थियो।

पटरानी ऋद्धिलक्ष्मीका बारेमा पनि स्पष्ट सूचना पाइन्न र यिनका छोरा युवराज वीरनरसिंह थिए। केही वर्ष पहिले नेवाः देय दबुको एक सम्मेलनमा कालिम्पोङका डेलिगेट एक प्रधानजीले भने अनुसार उनीहरूका मूलपुर्खा रणजित मल्लकी मठ्या रानीबाट जन्मेका छोरा थिए। पटरानीभन्दा पहिले गर्भवती भएकाले ती मठ्या रानीलाई मार्ने षड्यन्त्र भएकाले भागेर दार्जिलिङतिर पुगेको उनको भनाइ थियो। थप शोधकार्य जरुरी छ।

ज्योतिर्मल्लले मठ्या रानीका सन्तानले सिंह जनाई नाम लेख्नुपर्ने थिति बाँधेका थिए, (श्रेष्ठ, डा. तुलसीनारायण,विसं २०६६, नेपालका नेवारहरू:५२)। त्यस्तै उपपत्नीहरूलाई नेवार मल्ल दरबारमा मैँजुरानी र उनीहरूबाट जन्मेका राजकुमारहरूलाई भाजुराजा भनिन्थ्यो,(आचार्य, बाबुराम, २०६०, श्री ५ प्रतापसिंह शाह : ५७)। यी भाजुराजाहरूमा केही युवराज वीरनरसिंहभन्दा जेठा भएकाले गद्दीमा आफ्नोे हक लाग्नुपर्छ भन्नेमा थिए। तर बाबु रणजित मल्लले यो कुरा नमानेकाले उनीहरू राजासँग चिढिएका थिए, (चालिसे, डा. पुष्पराज, २०५८, नेपालको इतिहास र सभ्यता :२९९)।

यस्तो अवस्थामा काठमाडौं उपत्यका जित्ने भित्री लालसा बोकेका गोर्खाका युवराज पृथ्वीनारायण शाहले भक्तपुर आई भक्तपुर दरबारमा बसेको केही समयपछि विसं १७८९ मा आफ्ना बाबु नरभूपाल शाहको पगडी राजा रणजित मल्लको पगडीसँग साटी रणजित मल्ललाई मीतबाबु बनाई आफूले पनि वीरनरसिंहसँग मीत लगाएका थिए, (उपाध्याय, डा. श्रीरामप्रसाद, विसं २०५१, नेपालको प्राचीन तथा मध्यकालीन इतिहास:१८९)।

भक्तपुरमा पृथ्वीनारायणका मुख्य सल्लाहकार र जासुस रामकृष्ण कुँवर थिए। अवधूतसिंह र अजितसिंहबाहेक अरू सतभैयाहरू पूर्णतः पृथ्वीनारायण शाहका भक्त र रामकृष्ण कुँवरको मतियार भइसकेका थिए। अजितसिंह र अवधूतसिंहले भने आफ्ना बाबु राजा रणजित मल्ललाई बफादारीपूर्वक सघाइराखेको देखिन्छ।

अजितसिंह विसं १८०३ देखि १८०८ सम्म दोलखाका जागिरदार (गभर्नर) रहेको देखिन्छ। यसैताका हनुमन्तेखोलामा बनाइएको पोखरीको पिँधमा ठाडो चुप्पी राखी युवराज वीरनरसिंहको हत्या गरिएको वर्णन पाइन्छ। तर, केही इतिहासकाहरू वीरनरसिंहलाई विष दिई मारेको मान्दछन्, (चालिसे, २०५८ पूर्वोक्त:२९९)। जसले विष खुवाएको भए पनि दोषचाहिँ सतभैयाहरूलाई लाग्यो।

यस घटनापछि ठिमी (युवराज वीरनरसिंहको मावली) तिर र अन्यत्र पनि यी भाजुराजाहरूप्रति आक्रोश बढेको र राजा स्वयं त्रसित भएकाले युवराज वीरनरसिंहको मृत्युपछि भक्तपुरमा अर्को व्यक्ति युवराज हुन पाएन।

उतातिर,काठमाडौं र पाटनका राजाहरूसँगै मिलेर लडे मात्र प्रचण्ड शक्तिका रूपमा उदाउँदा गोर्खालीबाट नेपालमण्डललाई बचाउन सकिन्छ भन्नेमा आफ्ना बाबु रणजित मल्ललाई सम्झाउन अवधूतसिंह र उनका पक्षधर लागेका थिए। तर नाल्दुम दोलखा जित्न मद्दत गरी आफूलाई दिने मीतछोरा पृथ्वीनारायणले धोका देलान् भन्ने मान्न तयार थिएनन् सोझा र धार्मिक राजा रणजित मल्ल।

काठमाडौंका राजा जयप्रकाश मल्ल तथा पाटन र कीर्तिपुरका राजा र रानीहरूमा भेट गराई एकजुट हुन प्रयास पनि भएको थियो। उता पृथ्वीनारायण शाहले यस कुराको चाल पाएपछि विसं १८११ मा नाल्दुम दोलखा पुनः कब्जा गरी आफैँले राखे। त्यसपछि मात्र रणजित मल्लको घैँटोमा घाम लाग्यो। गोर्खालीको विसं १७९६ मा नुवाकोटमा भएको पहिलो हमला उपत्यकाका तीनवटै राजा मिली विफल पारेका थिए, (दाहाल,डा.पेशल, २०४१, नेपालको मल्लकालीन इतिहास :१३०)। उपत्यकामा पहिलो हमला विसं १८१४ मा कीर्तिपुरमा हुँदा उपत्यकाका भक्तपुरसहित चारवटै राज्यका सेनाले गोर्खालीलाई धेरै नराम्रोसँग हराएर धपाएका थिए। त्यसपछि भने कोभन्दा को कम भन्ने नेवार राज्यहरूमा आपसी कलह र फुट बढेरै गयो।

मल्ल राजाहरू हामीलाई कसले जित्न सक्छ? भनी ढुक्क भई बसेको अवस्थामा कूटनीतिमा चतुर र दृढ अठोटका पृथ्वीनारायण शाहले उपत्यकामा नाकाबन्दी गर्दै, घेराउ गर्दै कीर्तिपुरमा पटकपटक आक्रमण गरी विसं १८२२ मा कीर्तिपुर कब्जा गरे। विसं १८२५ मा कान्तिपुर र ललितपुरमा गोर्खालीको कब्जा भएपछि त्यहाँका राजा जयप्रकाश र तेजनरसिंह भक्तपुरको शरणमा पुगे।

पृथ्वीनारायणको पत्रको जवाफमा सम्पूर्ण जनता र राजाले शरणमा आएकाको रक्षा गर्छौं, फिर्ता बुझाउने छैनौँ भन्ने जवाफ दिएपछि गोर्खाली मीतछोराले मीतबाबुसँग युद्ध गर्नैपर्ने भयो। यस युद्धको नेतृत्व मल्ल राज्यहरूका तर्फबाट भाजुराजा अवधूतसिंह, राजा जयप्रकाश मल्ल र राजा तेजनरसिंहले गरेका थिए, (पासा,विसं २०५१, पूर्वोक्त:८८)। उता गोर्खाली सेना भक्तपुरको एकएक कुना चिन्ने कान्छा भाजुराजा जयनारायण मल्लकै बहालमा वर्षौं बसेका रामकृष्ण कुँवरको मार्गदर्शनमा चलेको थियो।

यस युद्धमा पनि भाजुराजाहरूमध्ये अवधूतसिंह र अजितसिंहबाहेक सबै भित्री रूपमा गोर्खालीसँग मिलेका थिए। गोर्खालीले कब्जा गरेको उत्तरतर्फका नाल्दुम, दोलखा र दक्षिणको मकवानपुरबाट नाकाबन्दीमा परेका र कीर्तिपुरे जनताको नाक काटिएको देखेका त्रसित जनता पनि नेपालमण्डलहरूलाई बचाउन उठेनन्। फलस्वरूप तीन दिन चलेको भक्तपुरको युद्धमा हार खाई तीनैजना राजाहरूले पगडी झिकी देखाई विसं १८२६ मा आत्मसमर्पण गर्नुपर्‍यो।

मात्र १५०० गोर्खालीले भक्तपुरको ५०१ घरमा आगो लगाएका थिए र यस आक्रमणमा २१०० जना नेवार मारिएका थिए। भक्तपुरको प्रख्यात अभिलेखालय समेत जलाइएको थियो।

त्यसपछि केही भाजुराजाहरू पृथ्वीनारायण शाहले पहिले वचन दिएझैँ भक्तपुरको राज्य हाम्रो हुने भो भनी राज्य माग्न जाँदा पृथ्वीनारायण शाहले उल्टो उनीहरूलाई काठमाडौंमा कैद गरे। आफ्नो बाबुलाई धोका दिने गद्दार तिमीहरूले मलाई छोड्छौ? भनी उनीहरूको नाक काट्न लगाई सर्वस्व हरण गरे, (शर्मा, बालचन्द्र, विसं २०३३, नेपालको ऐतिहासिक रूपरेखा :२२८)।

गरुडनारायण गोँगल (राठौर) को प्रत्यक्षदर्शी टिपोटका अनुसार हारेपछि आत्मसमर्पण गर्न खौमाटोलको बाटुले देवल गएका भाजुराजा धनसिंह मल्ल र अजितसिंह मल्ललाई कैद गरी अन्य केही काजी, प्रधान र राजा जयप्रकाश मल्लका कोठामोचे (हजुरिया)लाई समेत पृथ्वीनारायण शाहका भाइ सुरप्रताप शाहले सङ्गीनले रोपेर मार्न लगाएका थिए। यस टिपोटमा जानाजानी अवधूतसिंह बारेका वर्णन लुकाइएको छ, (श्रेष्ठ, देवीचन्द्र, २०७६, भक्तपुरमा गोर्खाली हमला :३२ र ३५)। एक वंशावलीका अनुसार अवधूतसिंह लडाइँमा हारेपछि भाग्न सफल भई (भक्तपुरमै) लुकेर बसेका थिए।

पृथ्वीनारायण शाहले रणजित मल्ललाई कान्छीरानी र अवधूतसिंहलाई लिएर कासीवास जान दिने धर्मभाका दिई सम्मान दिएर राखेको थाहा पाएपछि मात्र आफ्नी दुई पत्नीसहित अवधूतसिंह बाबुलाई भेट्न आएका थिए, (प्राचीन नेपाल, २०२९ वैशाख,नेपाल देशको इतिहास वंशावली :२१)। अवधूतसिंहलाई नचाहेर पनि रणजित मल्लका साथ जान दिइएको थियो, (पासा, विसं २०५१, पूर्वोक्त:  ९०)।

कासीवास जानुअघि थुनामा परेका आफ्ना छोराहरूको मुख हेर्न खोज्दा उनले आफ्ना जेठा छोरा (वंशावलीमा अच्युत भनिएको) मनोरथसिंह धेरै बिरामी रहेको भेटे। केही दिनपछि उनको मृत्यु संस्कार विष्णुमती घाटमा गरिएको थियो।

यस्तो अवस्थामा कासीवास जाँदा चन्द्रागिरीको चौतारामा बसी यिनी राजाले लेखेका पश्चाताप र देशभक्तिको कारुणिक कविता नेवारी वाङ्मयको उत्कृष्ट नमुना मानिन्छ। यसै वंशावलीका पृ. २३ का अनुसार (विसं १८२७ को सुरुतिर कासी पुगेको डेढ वर्षपछि) रणजित मल्लको मृत्यु ब्रह्मनालमा भएको थियो।

मृत्यु हुनु चार दिनपूर्व एउटा जोगी आई राजासँग गोप्यवार्ता गरेको थियो। त्यस जोगीलाई पछि कसैले देखेको थिएन। सम्भवतः जोगी भेषमा आउने अवधूतसिंह नै थिए। यिनी बनारसबाट भागेर लुकेर बस्ने गरेको देखिन्छ। यस्तै प्रकारको वर्णन (हज्सन कलेक्सन) ब्रिटिस लाइबे्रेरीमा रहेको ज. माथवरसिंह थापाले लेखाएको वंशावलीमा पनि छ,(प्राचीन नेपाल, २०६३, अङ्क १६२ :५ र ६)। रणजित मल्लको काजकिरिया छोरा अजितसिंहले गरेका थिए, (मल्ल, विसं २०५५, पूर्वोक्त : १६)।

यसैताका विसं १८२७ मा ठिमीमा पृथ्वीनारायण शाहलाई तरबारले काट्ने (पूर्वोक्त वर्णनको) असफल घटना अवधूतसिंहले नै गराएका थिए।

पृथ्वीनारायण शाहको मृत्यु (विसं १८३१ मा) नभएसम्म अवधूतसिंह लुकिछिपी विद्रोहका लागि सहयोग जुटाउँदै बसेको देखिन्छ। चौदण्डीका राजा कर्णसेन र पटनाका अङ्ग्रेजी प्रशासकसँग उनको घनिष्ठ सम्बन्ध छँदै थियो। यस समयमा सम्भवतः उनी तनहुँ, पर्वत र कास्कीका राजाहरूसँग गोप्य सरसल्लाह गर्दै छद्मभेषमा घुमी बसेका थिए।

तत्कालीन गोर्खाली राज्यका शत्रु पर्वतका राजा कीर्तिबम मल्लले विसं १८४० मा उनलाई बागलुङको उपल्लाचौरको बिर्ताका साथै मुस्ताङबाट भोटको व्यापारको इजाजत र राजकुमारको मान्यता दिई शरण दिएको देखिन्छ, (श्रेष्ठ, विसं २०५९,पूर्वोक्त :८०)। अवधूतसिंहका सानाकान्छा भाइ जयनारायणसिंह मल्ल (रूक्कामा जयमल भनिएको) लाई भने तनहुँको अभियानको गोर्खालीहरूलाई ठूलो मद्दत गरेबापत (रामकृष्ण कुँवरको प्रयासमै होला) विसं १८४१ मा गाउँ, हटिया (थर्पु) र घरबारी दिई तनहुँको थर्पुमा राखिएको देखाउने एक अभिलेख प्राप्त छ।

पर्वत राज्य विसं १८४४ मा गोर्खालीहरूसँग हारेपछि पर्वते राजा कीर्तिबम मल्ल, तनहुँका राजा हरकुमार सेन र अवधूतसिंह भागेर भारतको बलिरामपुर गएका थिए। यिनीहरू भारतको कम्पनी सरकारसँग सहायता माग्दै हारेको राज्य फिर्ता लिने प्रयास गर्दै थिए। तर उनीहरू असफल भए। त्यसपछि सम्भवतः अवधूतसिंह पनि बुटवल नजिक सिमाना क्षेत्र मोतीपुरतिर बस्न थाले।

धेरै समयपछि विसं १८९६ मा (भीमसेन थापाको अन्तिम समयतिर) पर्वते राजाले दिएको बिर्ता थामिदिएको अभिलेखको आधारमा धेरै लामो उमेरसम्म यिनी बाँचेको देखिन्छ, (श्रेष्ठ, विसं २०५९, पूर्वोक्त: ८१)। यिनका सन्तान पाल्पा, बुटवल र डोटीसम्म फैलिएको बुझिएको छ।

तर उनकै सन्तानहरूलाई समेत अवधूतसिंहको देशभक्ति र बहादुरीको क्रियाकलापबारे थाहा छैन होला, भाजुराजा अवधूतसिंहलाई समेत उपरोक्त सत्यतथ्य बुझ्दैनबुझी गद्दार भनी दोष लगाउनेहरू कम छैनन्। यस्ता देशभक्त आदिविद्रोही वीरप्रति यो अन्याय हो।

प्रकाशित: ३ पुस २०७८ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App