२३ असार २०८१ आइतबार
image/svg+xml
कला

व्यावहारिक

लघुकथा

१) इमान्दार मन्त्रीज्यू

धेरै पटकको प्रयासपछि मन्त्राणीज्यूलाई भेटेर हल्दीरामले सबै कुरा निवेदन गर्‍यो। पैसाले भरिएको व्याग पनि मन्त्राणीज्यूलाई अर्पण गर्‍यो।

‘नाइँ नभनिबक्सियोस्, मन्त्राणीज्यू! यो पैसा त मैले हजुरले यसो सपिङ गर्नुहोस् भनेर मात्रै। मन्त्रीज्यूलाई भनेर आगामी बजेटमा यी चार चिजको भाउ बढाइदिइहाल्नुस् तब धापासी हाइटमा हजुरलाई आधा रोपनी जग्गा उपहार। त्यत्ति मात्र हैन हजुर, अर्को सालको बजेट भाषणपछि त्यहाँ सुइमिङ पुल, गार्डेन भ‘को बंगला बनाइदिने जिम्मा पनि मेरै भो, हुजुर।’

मन्त्राणी चन्दप्रभाले यसो विचार गरिन्, हल्दीरामको कुरा पनि नराम्रो त हैन। हामीले मागेका हैनौं क्यारे, उसले आफैं ल्याएर दिन्छ भने लिन किन नहुने?

मन्त्री र मन्त्राणीको धाक मात्रै त ठूलो हो नि, आफूसँग दुई जोर गतिला लुगा छैनन्। छोराछोरीलाई भने जस्तो राम्रो विद्यालयमा हाल्न सकिएको छैन। अरू मन्त्राणीहरू गहनाले पहेंलै भएर हिंडछन् आफूसँग सुनको के कुरा चाँदीको सिक्री समेत छैन। तर मन्त्री मान्लान् जस्तो लाग्दैन। जहिलेतहिलेको अकडो बुढा न हुन्? सधैं मार्क्सवादी विचार, सिद्धान्त, देशभक्ति, निष्ठा र इमान्दारिताकै कुरा गरिरहन्छ्न्।

‘खै, मन्त्रीज्यूले मान्लान् जस्ताे लाग्दैन मलाई। इमान्दारिताको माामिलामा कडा हुनुहुन्छ। तैपनि म कुरा गर्छु नि।’ मन्त्राणीज्यूको आश्वासन पाएर हल्दीरामले बलजफ्ती पैसाको व्याग त्यहीं छाडेर गयो।

रातिको खाना खाइसकेर शयनकक्षमा जाँदा पनि चन्द्रप्रभालाई हल्दीरामको प्रस्ताव मन्त्री दिनबन्धु रेग्मीलाई भन्ने आँट आइरहेको थिएन। तर नभनेर पनि भएको थिएन त्यसैले डराईडराई उनले हल्दीरामको प्रस्ताव सुनाइन्।

चन्द्रप्रभाको कुरा सुनेर मन्त्री दिनबन्धु मन खोलेर उन्मुक्त हाँसो हाँस्दै भने, ‘यो मामलामा तिमी लाटी नै छौ, बजेटमा चार थोक सामानको भाउ बढाइदिए बापत ओमप्रकाश गोयलले हामीलाई भैंसेपाटीमा एक रोपनीमा बनेको बंगला र पाँच करोड दिने पक्कापक्की भैसकेको छ। हाम्रा छोराछोरी विदेशका महँगा विद्यालयमा पढ्ने पक्का। ल भन, तिमीलाई अरू के चाइयो?’ अँध्यारोमा मन्त्रीज्यूको खित्का टाढाटाढासम्म सुनिइरहेको थियो।

२) इमान्दारिता

जीवनमा यो मेरो लागि नयाँ काम थियो। किनभने डबिङ र रेकर्डिङको संसार मेरो लागि नयाँ र पृथक थियो। त्यसैले उनीहरूलाई मैले भनेकै थिएँ-म त भाषा साहित्यको विद्यार्थी हुँ, कला क्षेत्र मेरा लागि नितान्त नौलो हो है भनेर। तैपनि उनीहरूले पटक्कै मानेनन्। मबाट नै त्यो काम सम्भव हुन्छ भन्ने उनीहरूको विश्वास देखेर उनीहरू को मप्रतिको विश्वासलाई कायम राख्न पनि मैले जे त होला भनेर आँट गरे।

मलाई दिइएको स्क्रिप्टलाई मैले दुईतीन चोटि पढें। साधारण शब्द र वाक्यहरू भएको स्क्रिप्ट पढ्न मलाई खासै कठिनाइ होला जस्तो लागेन। अगाडि चलिरहेको दृश्यका साथसाथै स्वरलाई उतार, चढाव र ठहरावका साथ कसरी प्रस्तुत गर्ने भनेर प्राविधिकले भनेपछि मैले फेरि प्रयास गरें। फाइनल रेकर्ड भोलि गर्ने भन्ने भयो।

भोलिपल्ट निर्धारित समयमै म स्टुडियो पुगें। तर महिला र पुरूषले स्वर दिने सम्पूर्ण स्क्रिप्ट म एक्लैले बोल्नुपर्ने भयो। हिजो प्राविधिकले निर्देशन गरे अनुसार नै मैले भिडियोमा स्वर भरेँ। तेस्रो प्रयासममै फाइनल रेकर्डिङ ओके भयो।

परिवर्तनको संवाहक बनेका सशस्त्र द्वन्द्वका कमाण्डरको विगत र वर्तमान झल्काउने भिडियोमा स्वर दिन पाएकोमा पार्टीको एक इमान्दार कार्यकर्ताको रूपमा म ज्यादै खुशी थिएँ। रेकर्डिङ सकिएपछि भाइहरूले पारिश्रमिकको कुरा गरे।

‘‘भाइ, तपाईहरू म एउटै पार्टीको कार्यकर्ता। मेरो लागि पार्टी र नेतृत्वका लागि केही गर्ने यो सुनौलो अवसर थियो। म खुशी छु। अवसरका लागि धन्यवाद। मलाई पारिश्रमिक चाहिन्न, भाइ। देश बनाउनका लागि पार्टीमार्फत् यस्तो काम हामीले अझै धेरै गर्नु छ।’

त्यहाँबाट म उठेर हिंड्दा माघको ठिहीमा पनि मेरो आङमा पारिलो घाम लागिरहेको थियो।

३) व्यावहारिक

लामो समयदेखि ऊ र म पार्टीमा सँगसँगै थियौं। धेरै हदसम्म ऊ सरल मान्छे हो, सहज पनि हो। तर अरूले जत्ति नै उपयुक्त सल्लाह दिए तापनि उसलाई त्यो खासै पच्दैनथ्यो। राजधानीको बसाइँ। चार जना छोराछोरी र श्रीमान् श्रीमती। पन्ध्र वर्षभन्दा लामो समयदेखि डेराको बसाइ। कामको नाममा साहित्यिक पत्रकारिता।

मैले सधैं उसलाई भन्ने गर्थे, ‘माक्र्सवादी विचारबाट प्रभावित भएर तपाईहामी यो पार्टीमा आवद्ध भएका छौं। तर तपाईले अलि व्यावहारिक भएर पनि सोच्नुपर्छ है, कमरेड। भोलिका दिनमा साह्रोगाह्रो पर्‍यो भने पार्टीले हेर्छ त?’

‘हेर्ला नि कमरेड। कसो नहेर्ला त?’-मलाई थाहा थियो मेरो कुरा उसलाई मन परेन भनेर।

उसका प्रत्येक आर्थिक समस्यामा ऊ मलाई नै गुहार्न आउँथ्यो। एक महिनाका लागि भनेको सापट उसले छिट्टो फर्कायो भने छ महिनामा फर्काउँथ्यो। ऊ साहित्यिक पत्रकार म सरकारी जागीरे। त्यसैले हातमुख जोर्नकै लागि मलाई समस्या थिएन। त्यसैले मैले पटकपटक भनेको छु, ‘कमरेड, तपाईले जागीर नखाए पनि पार्टीलाई भनेरै भए पनि मेडमलाई सानोतिनो भए पनि जागीरमा अल्झाउनुस्।’

‘आः पार्टी जिन्दावाद नि, कमरेड।’ मेरो कुरालाई उसले अत्यन्त हल्का ढङ्गले लिएपछि मलाई अलिकति पनि निको लागेन। त्यसको तीनचार हप्तापछि ऊ झुस्स बढेको दाह्रीमा मेरो घरको आँगनमा टेक्न आइपुग्यो।

‘कमरेड, ज्वरोले इन्तु न चिन्तु भएपछि जहानलाई अस्पताल लगेको थिएँ। बिल तिरेर डिस्चार्ज गराउन पैसै भएन। लौन गोडा दशेक हजार सापटी दिनुपर्‍यो।’

‘सापटी त म चलाउँला कमरेड। यही कुरा मैले तपाईलाई पटकपटक भन्दा पार्टीले हेर्छ, पार्टी जिन्दावाद भन्नुहुन्थ्यो, के यस्तो अवस्थामा पनि पार्टीले नहेर्ने रहेछ त? अब पनि अलिकति व्यावहारिक नबन्ने, कमरेड!’

( इन्द्रकुमार श्रेष्ठ सरितकाे लघुकथासंग्रह एक मुठी घाममा सङ्गृहीत ।)

प्रकाशित: २८ जेष्ठ २०८१ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App