२३ असार २०८१ आइतबार
image/svg+xml
कला

ओ शून्यता !

‘धेरै सम्झे धेरै हुन्छ

थोरै सम्झे थोरै हुन्छ

नसम्झेमा केही पनि छैन

तिम्लाई दिएको मेरो माया’

सहरका कार्यक्रममा चटक्क भादगाउँले टोपीमा देखिने उज्याला मानिस हुन् उनी। सधैं मुस्कुराउने र सिर्जनामा लागिरहने यी हुन्–गणेशकुमार राई अर्थात् गणेश रसिक।

आफ्नै गामठामका भए पनि हामीले एकअर्कालाई सार्वजनिक कार्यक्रमबाहेक अरू बेला कमै भेट्यौं। जब भेट्यौं, तब एकअर्कालाई टाढैबाट आदर र सम्मान साटासाट गर्दै आएका हौं।

वर्षौंको यो देखादेख र जानपहिचान भिन्न रूपमा रह्यो। अनायासै अघिल्लो साता पत्रकार मित्र देवेन्द्र भट्टराई र म उनलाई भेट्न पुग्यौं, उनकै निवास बालकोटमा। ‘भेटेर कुरा गर्ने’ भनेर राखेको भाका यो रूपमा पूरा भयो। उनी ओछ्यानमै परेका भए पनि उही पुरानै अन्दाजमा भादगाउँले टोपी मिलाउँछन्।

जिन्दगीमा सधैंको धपेडी हुन्छ। समय घडी–पला गर्दै घर्किरहेको हुन्छ। एउटा समयमा पुगेपछि मानिस आफैंसँग मात्र हुन्छ। सबैले खोजिरहेका रसिक आज आफैंसँग एकालाप गर्दैछन्।

शरीरमा तागत होइन्जेल कहिल्यै सोच्दा पनि सोचिन्न। यदाकदा फर्केर हेरिन्छ। तर, यस्तो एउटा समय पनि आउँछ, जतिबेला आफूले आफैंलाई फर्केर हेरिन्छ। सायद, उनी यो बेला बाल्यकालदेखि अहिलेको अवस्थासम्म पुनरावलोकन गरिरहेका छन्।

‘जिन्दगीमा तत्कालीन कुरालाई ज्यादा प्राथमिकता दिइन्छ,’ उनी सुस्तरी बोल्दै गए, ‘जिन्दगीमा दुःखहरू धेरै थिए। तर, तिनलाई सुखै सम्झेर बाँचियो। त्यो समय सपनाजस्तै बितेर गयो।’

भोजपुर छिनामखुमा जन्मिएका गणेशकुमार राईले आफूलाई रसिक अवतारमा ढाले। पिताजीले घरमा ल्याएका दार्जिलिङे चर्चित साहित्यकार अच्छा राई ‘रसिक’का कृति पढेपछि कता हो कता ‘रसिक’ प्रेमले उनलाई छोयो। उनले आफूलाई रसिककै रूपमा जिन्दगीभरि बाँचेका छन्। उनी यति लोकप्रिय भएका छन् कि रसिक भन्नासाथ धेरैले गणेश रसिक नै सम्झिन्छन्। अच्छा राई ‘रसिक’लाई त धेरैले बिर्सिसके।

७८ को यो उमेरमा क्यान्सरले थलिएर ओछ्यान परेका बेला पनि रसिक आफूलाई कमजोर ठान्दैनन्। बरु त्यति दुर्गम ठाउँबाट आएर देशका केही छानिएका स्रष्टाको कोटीमा आफू उभिन सक्ने हुनु कम्ती उपलब्धी होइन।

‘एउटा सानो झोला बोकेर हिँडेको मान्छे, यो ठाउँमा आइयो,’ उनी आफैंलाई ढाडस दिन्छन्, ‘केही अघिसम्म यो काम गर्न सकिएन, गर्नुपर्थ्याे भन्ने लाग्थ्यो। बिरामी हुँदै गएपछि ‘त्यो केही होइन’ भन्ने लाग्न थाल्यो।’

बिरामी नहुँदा र शरीर चल्दा सबै सहज लाग्छ। तर, बिरामी भएपछि त्यही नै प्राथमिकता हुने रहेछ। आफू अस्वस्थ हुँदा आफैंलाई मात्र यस्तो भएको हो कि जस्तो पनि लाग्छ। तर, उनलाई समयमै आफूलाई हिफाजत गरेको भए यी कुरा धेरै पर पुग्थे भन्ने तर्कना पनि आउँछन्।

लेखनप्रतिको उनको जिजीविषा अझै कम भएको छैन। छेउमा रहेका भतिज सन्तोषलाई उनले कति स्मृति–विस्मृति टिपाइरहेका छन्। बोल्दाबोल्दै थाकिन्छ भन्ने महसुस पनि उनलाई भएको छ। एकातिर सोच्नुपर्ने र अर्कोतिर बोल्नुपर्ने अवस्था असहज किसिमको हुने रहेछ। जीवनमा यस्तो अवस्था शरीरमा बल भएका बेला कमै आउने गर्छ।

‘मर्न मन लाग्छ मलाई काल आउँदैन

सपनीको लौरो टेकी हिँड्न सकिएन

चिताएको धेरै कर्म गर्न सकिएन...’

०००

‘बलियो छँदा आमाबाबुलाई धक्कु लगाई हिँड्थें

भालु बाँसको तामाजस्तै आकाश छेड्छु भन्थें

वृद्धरोगी अपांगलाई खिसीट्युरी गर्दै

म कसैको बोझ हुन्न भन्दै फुर्ती गर्थें...’

०००

जीवनका कतिपय ‘फ्ल्यास ब्याक’ पनि उनलाई कठिन गराउँछ। ‘मनमा बोझा थपिने, झन् गाह्रो हुने रहेछ,’ उनी भन्छन्, ‘कसैलाई बोलेर टिपाउन पाए सजिलो हुन्थ्यो भन्ने लाग्थ्यो, झन् गाह्रो रहेछ त्यो।’

‘मुनिया र उसको छोरो’, ‘दशगजामा उभिएर’, ‘ताराभन्दा सपना धेरै’, ‘आकाशगंगाको ओतमुनि’, ‘छपक्कै मनमा बसेकाहरू’ जस्ता कृति लेखिसकेका उनलाई अझै उपन्यास लेख्ने रहर मेटिएको छैन। अनेकन् प्रसङ्गमा गीत लेखेर नेपाली समाजलाई आह्लादित तुल्याएका छन् रसिकले वितगमा।

उनले कैयन् आत्मपरक पत्रहरू लेखेका छन्, अझै पनि लेखिरहेका छन्। केही महिनायता उनले कृष्ण जोशी, हिरण्य भोजपुरेलगायतलाई पत्र लेखेका छन्। जिन्दगीभरि पत्र नलेखेकी आफ्नै स्वर्गवासी पत्नी निरालाई समेत उनी पत्र लेखिरहेका छन्। एक मात्र छोरा निमेष बितेर गएपछि पनि उनले लामो पत्र लेखेका छन्। बेलायतवासी छोरी निरजाका नाममा पत्र लेखेका छन्।

‘हातपाखुरा गलेर आउँछ, ढाड दुख्छ, बोलौं स्वर सुकेर आउँछ,’ उनी भन्छन्, ‘जीवन निकै बलियो लाग्थ्यो तर साह्रै निरीह रहेछ। अन्तिम घडीमा जीवन ज्यादै निरीह भएर जाने रहेछ। आफूलाई जति दह्रो बनाए पनि यथार्थ यही हो।’

उनले आफू सक्रिय भएकै बेला लेखेको गीत ‘हुस्सुले ढाकेको यो सहरमा कति दिन बाँच्नु’ भित्रका निराशालाई अहिलेको परिस्थितिकै पूर्वाभासका रूपमा लिएको हो कि जस्तो पनि लाग्छ।

उनले प्रेमभावका गीत मात्र होइन, पञ्चायतका बेला चल्तीमा आएका कक्षागीत पनि उत्तिकै लोकप्रिय छन्। राजा वीरेन्द्र चीन भ्रमण गरेर फर्केपछि त्यहाँ प्रत्येक कक्षामा गाइने गीतकै शैलीमा यहाँ पनि गीत सिफारिस गर्न राष्ट्रकवि माधवप्रसाद घिमिरेको नेतृत्वमा समिति बनेको थियो। त्यो बेला उनले लेखेका ‘हटी होइन डटी लड्ने नेपालीको बानी हुन्छ’, ‘तराई हेर कति राम्रो हरियो वन हुनाले’, ‘हामी धेरै साना छौं’ जस्ता गीतहरू छनोटमा परेका थिए। उनका कुनै गीत त्यतिबेला सिफारिस भएका थिएनन्, तर दरबारबाट उनका गीत छनोटमा परेका थिए। त्यो बेला प्रत्येक गीतको सात हजारका दरले २८ हजार रूपैयाँ पुरस्कार पाएका थिए उनले। त्यो बेलामा महाराजगन्जतिर एक रोपनी जग्गा पाइने दाम थियो त्यो।

भोजपुरको त्यो बेलाको वातावरण साहित्यिक थियो। परशु प्रधान, कृष्ण जोशीजस्ता साहित्यिक स्रष्टाको प्रभाव त्यहाँ थियो। २००७ सालको क्रान्तिले भोजपुरको वातावरण सर्लक्कै उचालेको थियो। नारदमुनि थुलुङ, रामप्रसाद राईजस्ता राजनीतिक व्यक्तित्वको प्रभाव पनि उत्तिकै थियो। सात सालको क्रान्तिले ल्याएको लहर २०२० सालसम्म रहिरह्यो। त्यही लहरका उत्पादन हुन्– रसिक। भोजपुरका कवि मेघराज नेपाल (मञ्जुल) को बहुआयामिक प्रभाव पनि छँदै थियो। राल्फा आन्दोलनले ल्याएको प्रभावले कुन युवालाई छोएन र ? त्यो आन्दोलनको समेत केही समय सानो हिस्सा बनेका थिए रसिक, तर फेरि छोटै समयमा उनी अलग्गिए। र, हिरण्य भोजपुरेसँग मिलेर ‘लेकाली समूह’ बनाए।

रसिकसहित धेरैजसो पात्रहरू राजधानी काठमाडौं उत्रिएपछि त्यसको प्रभाव यता बढ्दै गयो। बरु पहाडमा साहित्यिक गतिविधि कम भए। त्यो सिर्जनाको समय थियो। एउटा कृति लेखेपछि कहाँ गएर सुनाउने भन्ने हुटहुटीले तानिरहन्थ्यो। कुनै सिर्जनापछि त्यसलाई सुनाउनका निम्ति कति समय त खल्तीमै बोकेर हिँडिन्थ्यो।

रसिक कहिले गीतकार बने, कहिले बने संस्मरणकार। समयअनुसारका सबै सिर्जनामा उनको आफ्नै किसिमको लगाव छ। आफू धेरै विधामा बाँडिएका कारण औसतजस्तो बन्न पुगेको ठान्छन् उनी। बिरामी भएर आराम गरिरहेका बेला पनि जिन्दगीको सिकाइलाई यसरी व्यक्त गर्छन् उनी, ‘म एउटै विधामा बाँधिएको भए योभन्दा अब्बल हुन्थेँ जस्तो लाग्छ।’

प्रेमका गीतमा उनी अब्बल छन्। उनका पुराना प्रेमका गीत सुनेर धेरैले उनलाई मन पराए पनि होलान्। तर, उनले प्रेमको चाहना गरेर ती एकतर्फी गीत लेखेका थिए।

जीवन कति संघर्षपूर्ण छ। टाढा गाउँबाट काठमाडौं आएर एउटा कोठामा बास बस्दा सम्पत्ति भन्नु नै एउटा फ्याङ्लो ओछ्यानबाहेक केही थिएन। त्यस्तो बेलामा प्रेमको चाहना गरेर उनले लेखेका गीत सुनेर पछिपछि पनि धेरैले आफ्नै लागि लेखिदिएको हो कि भन्ने नठानेका होइनन्।

जिन्दगीभरि प्रेमका गीत लेख्ने र गाउने यी स्रष्टालाई प्रेमबारे नसोधी हुन्न भन्ने लाग्यो। ‘प्रेम के हो?’ मैले सोधेँ।

जवाफ दिनुअघि सुतीसुती उनले आफ्नो कालो भादगाउँले टोपी फेरि एक पटक मिलाए रसिकले। लामो सास ताने। अनि सुस्तरी बोल्न थाले, ‘प्रेम एउटैसँग हुन्छ भन्ने छैन। जसले एकैजनासँग प्रेम गरेको छ भन्छ भने त्यो झुटो हो। हरेक मान्छेको जीवनमा फरक–फरक स्थान र परिवेश आउने रहेछ। त्यसैले नै मानिसलाई बचाउने रहेछ। कतिपयले प्रेमका खातिर आत्महत्या गरेका छन्। तर, मलाई त्यस्तो लाग्दैन। प्रेमले विकल्प खोजिरहन्छ। एउटाबाट घात भयो भने अर्कोलाई खोज्छ। जसले खोज्न सक्दैन, त्यसले मृत्यु वरण गर्छ।’

पूर्वी पहाडका यी राईले पश्चिम पहाडकी थकालीसँग बिहे गरे। सुरुमा उनले पत्याएकी थिइनन्, यति लोकप्रिय मानिसले आफूसँग बिहे गर्लान् भनेर। उनले प्रेमलाई स्वीकार गरे र विवाह गरे। ४७ वर्ष उनीहरू सँगै बसे र अनायासै उनले कोभिडको समयमा साथ छाडेर गइन्।

‘बिहा भनेको दुर्घटना हो,’ उनी भन्छन्, ‘चट मगनी पट बिहा भन्छन् नि। जसले लामो कुर्छन् तिनको बिहा हुँदैन। बिहा भनेको हरेक परिवारको आवेगको निर्णय हो।’

‘भुल्न सकिनँ भुल्न सकिनँ

तिम्रो मायालाई भुल्न सकिनँ

तिमी भन्थ्यौ-मेरो चिठी अगेनामा सल्काइदिनू

डढेको खरानीलाई फूलको फेदमा राखिदिनू

प्रत्येक बिहान घामसँगै फूल भएर म फुल्नेछु

त्यही फूलको मुस्कानलाई

आफ्नो ओठमा सारिदिनू  

मैले सकिनँ, मैले सकिनँ

चिठीहरू सल्काउन मैले सकिनँ...’

०००

उनी एकताका सिलिगुढीको मेथीबारीमा इन्द्रबहादुर राईलाई भेट्न गएको प्रसङ्ग पनि सम्झिन्छन्। राईले ‘पछुतोको इरेजर नै छैन’ भनेका थिए। उही राई अभिव्यक्ति सम्झिँदै रसिक भन्छन्- ‘पछुतो गरेर के काम छ? पछुतो गर्नु आफूलाई दुखाउनु मात्र हो। एक समय दुख्नुको पनि अर्थ हुन्थ्यो। गीत, कथा लेखियो दुख्दाखेरि। अब त यस्तो समय आयो, यी सबैको अर्थ हराउँदै जाने रहेछ।’

रसिकलाई आइबी राईले भनेको एउटा प्रसङ्गले चाहिँ अहिले पनि छाडेको छैन। उनले त्यो बेला भनेका थिए– ईश्वरले दिन्छन् भने दुई वर्ष आयु थप दिऊन् र आँखा दिऊन्।

आइबीलाई दुई वर्षमा आफ्ना सबै लेखन पूरा गर्ने इच्छा थियो। अहिले रसिकलाई पनि त्यस्तो समय कहींकतै पाइन्छ भने लिने चाहना छ। अब यो बाटो लिने वा अर्कोे बाटो जाने भन्ने विकल्प जीवनमा कमै छ।

रसिक भोजपुरमा जन्मिए, काठमाडौंमा आएर साहित्यिक–सांगीतिक जीवन खोजे, फेरि इलाम पुगे। अहिले फेरि काठमाडौंमै छन्। राजविराजमा बसेर पत्रकारिता पनि गरे उनले। राष्ट्रिय नाचघरको नेतृत्वमा रहे, साझा प्रकाशनदेखि नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पनि प्राज्ञिक पदाधिकारी बने। अनेकन् सिर्जन कर्ममा उनले आफूलाई लगाइरहे। साहित्यिक कार्यक्रम र भेटघाटमा उनको दौडधुप चलिरह्यो। जीवन अविराम अघि बढिरहेकै हो।

‘जीवनमा मैले नसोचेको इज्जत पाएँ,’ उनी फर्केर हेर्छन्, ‘भाषा-साहित्य-संगीतमा लागेका अरू साथीभन्दा मलाई बढी इज्जत प्राप्त भयो। कहिलेकाहीं म भाग्यवादी पनि हुन्छु। यस्तो हुनुमा मेरो आनीबानीको पनि असर होला।’

उनले जीवन निर्वाहभन्दा पनि स्वान्त सुखायका निम्ति आफूलाई निरन्तर सिर्जनामा लगाइरहे। जीवननिर्वाहका निम्ति पेसा वा व्यवसाय गर्ने हो भन्ने उनलाई जहिल्यै लाग्छ-साहित्य त जीवन जिउने अर्को मिठो बहाना मात्रै हो। दालभातमा लिने चटनीजस्तै!

‘म चाहिँ असन्तुष्ट छैन है,’ उनले भने, ‘मलाई यो समाज, यो देशले केही दिएन भन्नुहुँदैन। धेरै दिएको छ, मेरो हैसियतभन्दा बढी !’

सामुमा बसेको यो उज्यालो अनुहार यदाकदा शरीरमा उब्जिएका पीडाले कान्तिहीनजस्तो देखिन खोज्छ। तर, आफूलाई खोज्दै आएका शुभचिन्तक सामु रसिकको उही व्यक्तित्व छ। तर, उनका आँखामा देखिएको शून्यतालाई भने महसुस गर्न सकिन्छ। आखिरमा यो शून्यता के होला रसिकजी ? के यो शून्यवाद हो अर्थात् निहिलिजम?

‘म हेर्दैछु तिमीलाई

पश्चिमको घाम भएर

म हेर्दैछु तिमीलाई  

पूर्वको जून भएर

सुदूर पूर्व, सुदूर पश्चिमझैं

भिन्नाभिन्नै छौं हामी

तर पनि ओ शून्यता

हाम्रो मायाको आकाश एउटै छ

ओ शून्यता,

हाम्रो मायाको धर्ती एउटै छ

ओ शून्यता...’

प्रकाशित: १९ जेष्ठ २०८१ ०८:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App