२४ असार २०८१ सोमबार
image/svg+xml
कला

अवसान

कथा

ऊ हेर त मोनिटरमा; त्यहाँ जमिनबाट पाँचहजार मिटरमाथि हामी चढेको हेलिकप्टर उडिरहेको देखाइरहेको छ। यति उचाइबाट फनफनी फन्को मारिरहेछ गाउँघरतिर। हेलिकप्टरभित्र पाइलोट, एउटी सहयोगी, तिमी र म छौं।

ऊ हेर त्यो सानो गाउँकति सुन्दर छ! त्यो नागवेली भई बहेकी नदी, अलिमाथिको हरियो जङ्गल, फाट्टफुट्ट देखिने साना घरहरू। आहा! यी दृश्यले मनै आनन्दित हुन्छ। यो गाउँभन्दा माथितिर धेरै ठूलो गाउँ छ; हाम्रोभन्दा नि ठूलो। यै सानो गाउँको दक्षिणतिर हाम्रै गाउँ त हो। त्यो मोनिटरमा प्रष्टसँग नक्साले पनि देखाइरहेछ। आठ गाउँमध्ये सबैभन्दा ठूलो गाउँचाहिं हाम्रै हो। जनसङ्ख्या पनि धेरै छ।

 यहीं गाउँबाट गएकी गङ्गा हाम्रो गाउँलाई हिउँदमा वरदान हुन्छे भने वर्षामा श्राप। धेरै पहिला वर्षामा धेरै मान्छेले ज्यान गुमाउँथे यसको कारणले। उनीहरूको घरखेत सबै बगाउँथ्यो। बाँचेको मान्छेलाई यस धर्तीमा फेरि बाँच्न बडो मुस्किल पर्थ्याे।

यस्तै बिचल्ली नहोस् भनेर मैले ठूलो बाँध बाँधेँ; हेर त्यहाँ साँधमा। त्यो बाँधमा धेरै ढोका छन् र ती ढोकाको ताल्चा साँचो छ हाम्रै गाउँलेको हातमा। पानी चाहिए सबै ढोका खोल्छन् ; नचाहिए बन्द।

 यतातिर पानी जम्दैन भनेको? जम्छ नि। वर्षामा आधा जमिन डुवानमा पर्छ यस गाउँको। यता पनि नोक्सान त कति हुन्छ–हुन्छ। त्यसको जिम्मेवारी हामीलाई पर्दैन। हाम्रा गाउँको रक्षाका लागि यस गाउँबाट केही योगदान गराइएको छ। गरेको होइन, गराएको। के गर्ने एउटा बाँच्नलाई अर्को मर्नुपर्छ भन्ने उखानै छ। प्राकृतिक छनौटको नियमले पनि यसलाई स्वीकारेको छ। मानवीयताको कारण हामी त्यतिबेला केही धन सहयोग गरी यताको मुखियालाई खुसी पार्छौ।

तिमीले सोचेजस्तै कराउँछन् नि केही मान्छेहरू। धेरै त डाडाँका कराउँछन्। डुबेका मान्छे कराउन त श्वास फेर्ने मुख खुला हुनुपर्‍यो नि! बोलबोल माछा, मुखभरि पानी भनेझैं हुन्छ तिनीहरूको। तर केही लाग्दैन यिनीहरूको। यो गाउँलाई हरेक सरसहयोग गर्ने हामी नै हौं। बाटो बनाउने, अस्पताल, पुल सबै हामी गरिदिन्छौं। चामल, ग्याँस पुर्‍याउने हामी नै हौं। माथिको मङ्गोलियन पाराको गाउँलेसँग व्यवहार मिल्दैन यिनको। रोटी खानुपरे नि बेटी दिनुपरे नि हामी नै चाहिन्छ यिनलाई। मुख्य कुरा गाउँको मुखियाले हाम्रो कुरो खान्छ। खाँदैन भने अर्को फेरिन्छ तुरुन्तै।

कोही कोहीले हामीलाई राम्रो मान्दैनन्। दुःख दियो भन्छन्। तिनको कुरा हावामा उडाइदिन्छौ हामी। कैलेकाहीं हामीविरुद्ध गर्ने गतिविधिले बडो चिन्ता लाग्छ। 

माथिको भोटे गाउँबाट सुरक्षित हुन पनि यो गाउँबिचमा रहनु आवश्यक छ हामीलाई। यो गाउँको त्यो लाम्चो सुर्केबारीको वीचमा पर्खाल लाइदिन पाए मङ्गोलियनबाट त पूर्ण सुरक्षा मिल्छ नै यो गाउँका बकबक गर्नेको मुखमा पनि ताल्चा लाग्छ।

केही वर्ष पहिले तिमी आएको भए छक्क पर्थ्याैं यहाँका मान्छे देखेर। त्यही सुर्केबारीको वीचमा पर्खाल लगा भनेर मैले धेरै भनें। फिटिक्कै मान्दैन यहाँको मुखिया। ऊ आफ्नो मनले चाहेको जस्तो पर्खाल लाउँछु भन्छ। मेरै गाउँको अन्नपात खाएर मलाई टेर्दैन। कस्तो तनाव!

मैले भनेजस्तै पर्खाल लाउनी भए लगा नत्र अन्नपात आउने बाटो बन्द गराइदिन्छु भन्नलाई यहीं गाउँको मान्छे लगाएँ। त्यही मान्छेले साँधमा बसेर रोक्यो पनि। त्यसको काम ठीक छ भनेर यस गाउँका ठूलाठूला मान्छेलाई भन्न लगाएँ। तैपनि त्यस मुखियाले टेर्दै टेरेन। उल्टै भोटे गाउँसँग मिल्छु भनेर धम्की देखायो। भोटे गाउँले पनि सहयोग गरेजस्तो गर्‍यो।

आखिर कति गरोस्! त्यो डाडाँमा आउनेजाने बाटो छैन। हिंडेर आउजाउ गर्ने हो भने महिनौ लाग्छ। यिनलाई पुग्ने सामान प्लेनबाट ओसार्न सक्दैन। हाम्रा गाउँका मान्छे पनि यताकालाई मालताल नबेचे खानै नसक्ने भइसकेछन्। उनीहरूले नै खान पाएनन् भनेर मात्रै मैले साँधमा रोक्ने काम बन्द गराएँ। नत्र त जहिलेसम्म मेलै भनेजस्तो पर्खाल लाउँथेन; त्यहिलेसम्म साँध खुल्थेन।

त्याँ’ सरसामानन जाँदा यो गाउँको मान्छेको जीवन सयौं वर्ष अघि फर्केको थियो। इन्धन नभएपछि गाडी चढ्ने मान्छे साइकल चढ्थे। दाउराले खाना पकाउँथे। हाम्रो गाउँको मान्छेभन्दा यहाँको मान्छे कस्तो कस्तो!

हामीले जति सस्तोमा ग्याँस बाँडे पनि हाम्रा मान्छेलाई कोइलामै खाना बनाउन मन लाग्छ। यहाँचाहिं ग्याँसका लागि मान्छे जति पनि पैसा तिर्न तयार छ। कोइलाभन्दा ग्याँसले गाउँमा गन्धा आउँदैन। धेरै कुरामा फाइदै छ।

हे पाइलोट! कति तल ल्याएको? डाँडमा ठोकिएला। माथिमाथि लैजाउन!

आ... ! झ्वाट्टै माथि ल्यायो। मुटु च्वास्सै गर्‍यो। तिम्रो नि गर्‍यो जस्तो छ। हाहाहा! नआत्तिऊ केही नि हुँदैन। ए... ! फेरि तल गएजस्तो गर्‍यो। बाबू धेरै तलमाथि नगर! राम्रोसँग उडाऊ।

कानुनको कुरो? यै गाउँको मान्छेले साँध थुनेको भनेपछि केको कानुन? त्यो मान्छेलाई कारवाही गर्ने कानुन यिनीहरूसँग त होला तर ती मान्छे हाम्रो गाउँतिर सरेपछि फेरि केको कानुन?

हाहाहा! कानुनको पालनाकर्ता त हामी हौं। हामीले जे चाहेको, त्यो हुन्छ। हामीले भनेको मान्ने हो भने यो गाउँलाई नराम्रो केही हुँदैन। हेर्नुस् न यस गाउँको पूर्वतिरको थेप्चो गाउँमा केही समस्या छ? कति शान्ति, विकास र आनन्द छ! सबै हामीले गराएको न हो। हाम्रो कुरा नखाएपछि दुःख त झेल्नुपर्छ। मेरा सात छिमेकी गाउँमध्ये त्यो थेप्चे गाउँको मुखियाले बुद्धि  पु¥याएको छ है।

अरे के भनेको? सबै छिमेकी गाउँमा अशान्ति मच्चाउने हामी हो? छि: छि:  के भनेको? हाम्रो गुरु त तिमी नै हौ। तिमीहरूको पश्चिमी देशमा के गर्छौ?आफूले भनेको नमान्ने परदेशी होस् या गाउँ–शहरका प्रमुखलाई घोक्रेठ्याक लाउँछौ। यही होइन? हामी पनि त्यही गरिरहेछौं। आतङ्कवाद नियन्त्रण, मानवअधिकार, प्रजातन्त्र, दिगो विकास, समावेशी जस्ता सिद्घान्तको छिमेकीलाई पालना गर्न लगाइरहेछौं।

आहा! कति सुन्दर पहाड यो? स्याउ नै स्याउ फल्ने रहेछ। हेर न, डाँडै स्याउले गर्दा राताम्मै। पाइलोटजी, हेलिकोप्टर तेतै लैजाऊ न! त्यो सबै स्याउ त्यहाँबाट बजार गयो भने हाम्रो गाउँको स्याउ कसले किन्ने? अनि रोक्नु परेन यो स्याउलाई? बाटो त हामी त्यहाँ बनाउँछौं; जहाँबाट हाम्रो सामान बजार ल्याउन सजिलो हुन्छ। बस्! अन्त त न हामी बनाउँछौ; नबनाउँन दिन्छौं।

के छ त तिमेरको गाउँको हालखवर? के हाल सोधी रा? आधुनिक जुक्ति ला रे! तिमेरले जस्तो राष्ट्रसङ्घ बना रे? अनि सकारात्मक कुरा गरीगरी आफ्ना वरिपरिका सबै गाउँको ठालु बन् रे! त्यो संस्था चलाउन दुई तिहाई खर्च आफ्नै हाल् रे! अनि आफ्नो नीति बम चलाएर अरू गाउँलेको बुद्धि क्षतविक्षत पार्दे रे!

 हरे भगवान्! क्या कुरो गर्छौ साथी तिमी! मलाई लाग्दैन कि यो भेगमा त्यस्तो संस्था चाहिन्छ भनेर। चाहियो भने तिमेरकै संस्थाबाट काम लिउँला। यो कुरा बुझिराख कि; जबसम्म यस्ता गाउँमा हामीले भनेको मान्ने मुखियाहरू पाइन्छन् तबसम्म अरू दुःख गर्नुपर्दैन। हा! हा! हा!

हँ, फेरि के भन्यौ? ढिलो भइसक्यो रे? कन्टकाँडे नीति अस्त्र चला रे! सबै गाउँलाई युरोपियन युनियन जस्तै एक ढिक्का बनाएर विरोधीहरूलाई चुनौती दे रे! सल्लाह त राम्रो दियौ साथी तर यसको पनि अहिलेसम्म आवश्यक देख्दिनँ।

मान्छेले मान्छेसँगै सहयोग लिने हो। हाम्रा पितृले दिमाग परिचालन गरी अरू गाउँका मान्छेलाई हाम्रो लागि काम गर्न लगाउनुपर्छ भनी महान् सूत्र दिएका छन्। यो सूत्रलाई म रकेटमय विचार भन्न रुचाउँछु। जहिलेसम्म यो रकेटमय विचार उडिरहन्छ; तहिलेसम्म हाम्रो लक्षलाई यस्ता डाँडाकाँडाले छेक्न सक्दैन। यही सूत्रले वारिगाउँ पारिगाउँ सबैलाई हामीले ठीक पारिरहेछौ र पछि पनि पार्ने छौं।

ए ...! ए ...! ए ...! के भो ? हेलिकप्टरभित्र किन गडवड भइराछ?किन झड्कालिएको यसरी? लौन के भो?

पाइलोट के भन्छ? आज एउटा रकेटमय विचारले हावा खाने जस्तो छ रे! जस्तै रकेट भए पनि पहाडसँग टक्कर लिन सक्दैन रे! टक्कर लियो भने आफैं टुक्राटुक्रा हुन्छ रे! लौन त्यसो नभन् न! भन्ने मात्रै होइन भइसक्यो; अब रामनाम सत्य हो भन्नुस् रे ! लौन बचाऊ! हे पशुपतिनाथ, तिम्रो मन्दिरमा हाम्रो गाउँको राम्रो भट्ट पठाइदिउँला, बचाइदेऊ न प्रभु! बचाऊ ...! बचाऊ ...! ब...चा...ऊ ...!

उफ्! हिजो सुत्ने बेलामा एउटा खराव छिमेकीको तर्कना गर्दै सुतेको थिएँ। सपनामै भए पनि त्यसको अवसान भएको देखेँ।

( कथाकार रामकुमार पण्डितकाे आधुनिक माधवी कथासंग्रहमा सङ्गृहीत।)

प्रकाशित: २१ फाल्गुन २०८० १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App