२४ असार २०८१ सोमबार
image/svg+xml
कला

कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्!

मुक्तक

१) मुक्तक

आँसु खस्दा सँगै बगाएको भए राम्रो हुन्थ्यो,

दुःखपीर मनमै दबाएको भए राम्रो हुन्थ्यो।

सँगै व्यतीत पलहरूको यादले राति निद्रै पर्दैन,

निर्दयी माया नलगाएको भए राम्रो हुन्थ्यो।

 २) मुक्तक

साहृै सस्तो छौ त फेरि यहाँ बिक्दैनौं किन,

पारिवारिक नाता सम्बन्धमा टिक्दैनौ किन।

मुखमा रामराम बोकिहिंड्छौ बगलीमा छुरा,

तिमीभित्र जस्तो छौ उस्तै बाहिर देखिंदैनौ किन?

 ३) मुक्तक

नकाब उतारेर यहाँ अरूलाई बेनकाब नगर,

चित्रगुप्त राख्छन् लेखाजोखा भो हिसाब नगर।

मलाई हेर्दा किन हेर्छाै गलत नियत नजरले,

म खराब हूँ भैगो तिमी आफ्नो नजर खराब नगर।

 ४) मुक्तक

कोही घृणा गर्छन् मलाई कोही प्यार गर्छन्,

कोही आँखा तर्छन् कोही आँखा चार गर्छन्।

बडो विचित्र अचम्म अनौठो छ यो दुनियाँ,

कोही गर्दैनन् वास्ता कोही बारम्बार गर्छन्।

५) मुक्तक

कहाँ जलाऊँ दीयो कुनै मन्दिर छैन बाटोमा,

विचार भावना कल्पना रोपेर उम्रिदैन माटोमा.

ढुङ्गै ढुङ्गाको छ यो नगर ढुङ्गै ढुङ्गाको छ दिल,

जाँतो अब निर्भर छ नठान्नु घुमाउने हातोमा ।

६) मुक्तक

प्रेमलाई के मतलब यहाँ जात कुजात,

भोकलाई के मतलब बासी ढिंडो भात।

सबैले पुग्नपर्ने ठाउँ आखिर एउटै हो,

दोभान त्रिवेणी नदी किनार त्यो आर्यघाट।

 ७) मुक्तक

म तड्पिरहें यहाँ निःस्वार्थ प्यार पाउनका लागि,

चोखो माया भेटिनँ यो जीवन सजाउनका लागि।

रुनु रोएँ मेरो हृदयबाट दुःख पीडाको नदी नै बग्यो,

सुक्खा भए आँखा थोपा आँसु छैन अब बगाउनका लागि।

 ८) मुक्तक

तड्पिंदै भड्किंदै तिम्रो पछि लाग्न छोडें मैले,

जीवन विम्ब प्रतिविम्ब झल्किने ऐना तोडें मैले।

मेरो बर्वादीको दृश्य हेर्न तिमी अवश्य आउनू,

आफ्नो अन्त्येष्टिका हर सामाग्री लाग्छ जोडेँ मैले।

९) मुक्तक

पेटको भोकै यस्तो बिहानबेलुकी सबैलाई माड चाहिन्छ,

हजुर हामी यो देशका बुद्धिजीवी हरसाँझ जाँड चाहिन्छ।

उन्नतिप्रगति, पदप्रतिष्ठा सम्पन्नता वैभव श्रीवृद्धिका लागि,

पत्याउनोस् नपत्याउनोस् शक्ति केन्द्रको गतिलै आड चाहिन्छ।

प्रकाशित: २७ माघ २०८० ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App