२३ असार २०८१ आइतबार
image/svg+xml
कला

सडकमा अस्ताएका ताराहरू

वामपन्थी सांस्कृतिक चिन्तक प्रा.डा. ताराकान्त पाण्डेयको नेपालगन्जबाट काठमाडौं आउने क्रममा दाङको भालुबाङमा भएको बस दुर्घटनामा परेर निधन भयो।

हजारौं विद्यार्थीका गुरु, एमए, एमफिल, विद्यावारिधिका सयौं शोधप्रबन्धका निर्देशक, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष, क्रान्तिकारी कम्युनिस्ट पार्टीका सल्लाहकार पाण्डेयको इहलीला कहालीलाग्दो दुर्घटनाले समाप्त पार्‍यो।

म पनि प्राध्यापक पाण्डेयको चेलो हुँ। एमफिल तहमा उहाँबाट सांस्कृतिक अध्ययनको अवधारणा बुझ्ने मौका पाएको थिएँ। पछाडि एमफिलको शोधप्रबन्ध पनि सांस्कृतिक अध्ययनमै गरें। ‘देवकोटाका खण्डकाव्यमा जातीय संस्कृति’ शीर्षकको शोधप्रबन्ध उहाँकै निर्देशनमा तयार पारेको हुँ। ताराकान्त पाण्डेय भन्नासाथ हामी सबैको मानसपटलमा विद्यार्थीमाझ स्पष्ट र खरो तर्क गर्न सक्ने गुरुको तस्बिर आइहाल्छ।

प्रगतिवादी चिन्तनलाई व्यवहारमै लागु गर्नुपर्छ भन्ने मान्यता राख्ने पाण्डेयको जीवन प्रगतिवादको अवधारणाअनुरूप नै सरल र यथार्थ थियो। श्याम वर्ण, प्रायः श्याम वस्त्र अनि श्याम समाजको क्रान्तिकारी चेतसहितको विश्लेषण ताराकान्त गुरुका विशेषता नै बनेका थिए। त्यतिबेला ताराकान्त गुरुले कक्षाकोठामा विश्लेषण गरिरहँदा सांस्कृतिक अध्ययनको अवधारणा र यसको विश्वव्यापी सन्दर्भ हामीलाई निकै जटिल लाग्थ्यो।

ताराकान्त गुरु विद्यार्थीसामु सधैं प्रगतिवादी क्रान्तिकारी सिद्धान्त पढाउनुहुन्थ्यो, राजनीतिकर्मीसामु वामपन्थलाई व्यावहारिक कसरी बनाउने भन्ने सल्लाह दिइरहनुहुन्थ्यो। कक्षा कोठामा होस् वा साहित्यिक–राजनीतिक संगठनमा, उहाँको वैचारिक प्रवाह सदैव क्रान्तिकारी वामपन्थ धारमा बग्यो।  उहाँको भौतिकी क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुलिङ कार्यक्रमअन्तर्गत कैलालीमा वामपन्थी सौन्दर्य शास्त्र पढाएर काठमाडौं फर्कने क्रममा नै समाप्त भयो।

आजका क्रान्तिकारी वामपन्थलाई स्विकार्ने अधिकांश राजनीतिकर्मीहरूको जीवन जटिल, मोजमस्तीपूर्ण देखिइरहेको सन्दर्भमा पाण्डेयको जीवनले दिने सन्देश हो– वामपन्थ जटिल हुँदैन। ‘सादा जीवन, समान संसार, उच्च विचार’ वास्तविक कम्युनिस्ट सिद्धान्त हो। पाण्डेयको जीवनको सार पनि यही हो।

त्यतिबेला एमफिलमा ध्वनि सिद्धान्त, सङ्कथन विश्लेषण, सांस्कृतिक अध्ययन, लोकसाहित्य, पूर्वीय काव्य शास्त्र, शोधविधिलगायतका विषय पढाइ हुन्थे। तीन वर्षअघि कोरोना महामारीले नेपाली केन्द्रीय विभागका विद्वान् गुरुद्वय प्रा. राजेन्द्र सुवेदी र प्रा.डा. मोतीलाल पराजुलीलाई लग्यो।

अहिले सोही विभागमा लामो समय प्राध्यापन गरेर हालसालै मात्र अवकाश लिनुभएका चिन्तक प्रा. डा. ताराकान्त पाण्डेय बस दुर्घटनामा परेर बिदा हुनुभयो। संयोग भन्ने कि के भन्ने, एमए तहको मेरो शोधपत्रका निर्देशक प्रा. राजेन्द्र सुवेदीलाई कोरोना महामारीले लग्यो भने एमफिल तहका मेरा शोधनिर्देशकलाई बस दुर्घटनाले लग्यो।  

लेखनका खरा तर व्यवहारका सरल पाण्डेयका ‘भूमिका र मूल्याङ्कन’, ‘प्रगतिवाद र कविता’, ‘देवकोटाको व्यङ्ग्य व्यक्तित्व’, ‘अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध’, ‘अर्थको आनन्द’, ‘समय र सिर्जना’लगायत पुस्तक प्रकाशित छन्। उहाँले ‘आलोचना’, ‘कलम’जस्ता साहित्यिक पत्रिकासमेत सम्पादन गर्नुभएको थियो।  

पाण्डेय सडक दुर्घटनाका प्रतिनिधि दुःखान्तक पात्र हुनुहुन्छ अनि भालुवाङ घटना प्रतिनिधि सडक दुर्घटना मात्र हो। कुरा यस्ता दुर्घटनामा बर्सेनि हजारौंको संख्यामा मृत्युवरण गर्न विवश निर्दोष यात्रुको हो। पछिल्ला केही वर्ष हेर्ने हो भने सडक दुर्घटनाको तथ्यांक कहालीलाग्दो छ।

पछिल्ला पाँच वर्षमा सडक दुर्घटनाबाट १३ हजारभन्दा बढीले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ। यो संख्या घट्दो क्रममा छैन, हरेक वर्ष थपिँदै छ। यस्ता दुर्घटनाबाट घाइते हुनेको संख्या मृतकका भन्दा झन्डै पाँचगुणा बढी देखिन्छ अर्थात् पाँच वर्षमा मृत्युवरण गर्नेजति मान्छे एकै वर्षमा घाइते हुन्छन्।  

सवारी साधनले ट्राफिक नियम उल्लंघन गर्ने क्रम अत्यधिक देखिन्छ। यो तथ्यांक सवारी कारबाहीबाट उठेको राजस्वले पुष्टि गर्छ। राज्य सवारी कारबाहीबाट अर्बौं रकम राजस्व उठ्यो भनेर मख्ख पर्छ। 

तर जति धेरै सवारी गल्ती हुन्छ र राजस्व उठाइन्छ, त्यति नै धेरै सवारी दुर्घटना बढिरहेको छ भन्ने राज्यले बुझ्नुपर्छ। सवारी कारबाही–राजस्व बढ्नासाथ दुर्घटना हुनसक्ने सम्भावना पनि बढिरहेको छ भनेर राज्यले तयारी गर्नुपर्ने हो कि होइन ? तर राज्यको ध्यान यतातर्फ छँदै छैन।  

नेपालको सरकार सधैं एउटा राजनीतिक पार्टीको हैसियतभन्दा माथि कहिल्यै उठ्न सकेन। सरकारको चित्त माखाको मुन्टोभन्दा ठुलो कहिल्यै हुन सकेन। नत्र यातायात मन्त्रालय छ, पर्यटन मन्त्रालय छ, प्रदेश सरकारमा यस्ता मन्त्री कति छन् कति, तर कुनै सरकारले कहिल्यै न्यायोचित काम गर्न सकेन।

काम गर्ने सरकारका लागि पाँच वर्ष भनेको एक जुगजस्तै हो। यो अवधिमा कायापलट गर्न सकिन्छ। पाँच वर्षको अवधिमा ठुलाठुला राजमार्ग बनाउन सकिन्छ, ठुलाठुला जलविद्युत् आयोजना बनाउन सकिन्छ, सडक, शिक्षा, स्वास्थ्य, रोजगारजस्ता क्षेत्रमा पर्याप्त नीतिनिर्माण, योजना र कार्यान्वयन गर्न सकिन्छ, पर्यटनसँग सम्बन्धित अद्भुत संरचनाहरू बनाउन सकिन्छ, देशका ठुलाठुला सहर जोड्ने रेलमार्ग बनाउन सकिन्छ, देशभर ठुलाठुला हस्पिटल बनाउन सकिन्छ अर्थात् देशको रूपरंग नै फेर्न सकिन्छ।

तर हाम्रो देशमा पुलमा मोड नपुगेर, सवारी साधन थोत्रा भएर, घुम्तीमा पांग्रा नघुमेर एकै वर्षमा हजारौंले ज्यान गुमाउनुपर्छ। यस्ता दुर्घटनामा घाइते भएकाहरूले तत्काल उपचार पाउने अवस्था छैन। निरोरूपी नेताहरू बाँसुरीको धुनमा मस्त छन्, आफ्नै दरबार जलिरहेको छ तर हाम्रा नेतालाई पत्तो छैन।  

नेपालको सडक मात्र होइन, आकाश पनि असुरक्षित छ जस्तो लाग्छ किनभने अन्य देशका तुलनामा नेपालमा सवारी दुर्घटना बढी हुने महसुस हुन्छ। सडक दुर्घटना जति धेरै भए पनि यस्ता दुर्घटना न्यूनीकरणमा सरकारको खास ध्यान गएको छैन। सडक दुर्घटना न्यूनीकरण गर्न अल्पकालीन र दीर्घकालीन नीति तत्काल बनाउनुपर्ने देखिन्छ।

अल्पकालीन नीति त एकै दिनमा तयार हुन्छ र तत्कालै लागु गर्न सकिन्छ। दुर्घटना न्यूनीकरणमा अल्पकालीन नीति नै सर्वाधिक महŒवका हुन्छन्। सवारी चालकले यात्रामा निस्कँदा अपनाउनुपर्ने सावधानी, यात्रुको सावधानी, ट्राफिक प्रहरीका पलपलका क्रियाकलाप, सवारी साधनको चेकजाँच तथा मर्मतजस्ता कुरा त हामीले दिनहुँ गर्नु नै पर्ने हुन्छ।

यस्ता सानासाना कुरामा ध्यान नदिँदा मान्छेको ज्यानै गइरहेको छ। हाम्रो वरिपरि मृत्यु सधैं घुमिराखेको हुन्छ। भौतिक सर्वस्व गुम्न कुनै समय लाग्दैन। मान्छेको ज्यान कहिल्यै पनि ठुलो कारणले जाने होइन। ज्यान जान सानो कारण नै पर्याप्त हुन्छ भने ज्यान जोगाउन पनि सानो सावधानी नै पर्याप्त हुन्छ। त्यसकारण हामीले त्यस्तो सावधानी किन नअपनाउने, जुन सावधानीले हामीलाई अमूल्य जीवन दिन्छ।  

दुर्घटनाको अर्को दुःखद पक्ष हो– एउटाको असावधानीले अर्काको ज्यान जानु। त्यसकारण सावधानी सबैले समानरूपमा गर्नुपर्छ। एउटाको असावधानीको भयावह नतिजा अर्काले भोग्नुपर्ने अवस्था आउनुहुँदैन। सवारी दुर्घटनामा यही विडम्बना हुने गर्छ। गल्ती चालकको होस् वा सवारी साधनमा खराबी होस्, अभिशाप निर्दोष यात्रुले भोग्नुपर्ने देखिन्छ।  

नेपालमा किन पटक पटक सवारी दुर्घटना भइरहन्छ ? कारण अनेकौं छन्। सडकको रेखांकन नमिल्नु, नेपालको भूगोलअनुसार चालक अनुमतिपत्र दिने प्रणाली कमजोर हुनु, सडकमा तँछाडमछाड गर्ने चालकको प्रवृत्ति हुनु, बनाइएका पुराना सडकमा इन्जिनियरिङ नमिल्नु, बनाइएका सडकमा अत्यधिक घुम्ती हुनु, तीव्र गतिका कारण सवारी साधन चालकको नियन्त्रणभन्दा बाहिर हुनु, सडकमा सवारी साधन तथा चालकको नियमित चेकजाँच नहुनु, सवारी साधन दुर्घटनाका यस्ता अनेकौं कारण हुन सक्छन् तर यस्ता दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको मूल हत्यारा राज्यसंयन्त्र र राज्यको नेतृत्वमा बस्ने नेता नै हुन्, जो तीन दशकभन्दा बढी समय राज्यको नेतृत्वमा बसेर पनि यस्ता कारणबारे अनविज्ञ छन्।  

सडक विकास र सुरक्षामा सिन्को नभाँच्ने, सधैं सत्ता जोगाउने खेल मात्र खेलिरहने, तिनै निरोहरूलाई नै नेपाली जनले सधैं सत्तामा पुर्‍याइरहने अनि यस्ता दुर्घटना नभए के हुन्छ ? असक्षम सवारी चालकले गाडी जसरी भिरबाट पल्टाउँछ, त्यसैगरी देशका असक्षम चालकले देशलाई नै भिरबाट पल्टाउँछन्। फेरि नेपाली जनताले पटक पटक तिनै चालकलाई सकारिरहन्छन्।

अब पनि नेपाली जनता संवेदनशील नभए कहिले हुने ? एकै वर्षमा तीन हजारभन्दा बढी सकुशल व्यक्तिको ज्यान जाने सडक दुर्घटनाको विषय सानो हुन सक्छ ? ताराकान्त गुरुहरू कहिलेसम्म सडकमा अस्ताइरहने ?

प्रकाशित: ६ माघ २०८० ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App