खेल

पलेशा र प्रशिक्षक नेगीलाई सम्मान

फाइल तस्बिर

किङ्स लाउन्ज काठमाडौंले पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धन र उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मान गरेको छ।

किङ्स लाउन्ज काठमाडौंका अध्यक्ष रामचन्द्र श्रेष्ठ र सिइओ तथा लाउन्जका डाइरेक्टर कुमार गुरुङले पेरिस पारालिम्पिक २०२४ मा छनोट हुन सफल पलेशासहित उनका प्रशिक्षक कविराज नेगी लामालाई सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। चीनको ताइयानमा गत चैत ४ गते सम्पन्न एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेशा पेरिस २०२४ पारालिम्पिकका लागि छनोट भएकी हुन्। पलेशा छनोट चरण पार गरेर पारालिम्पिक खेल्ने पहिलो नेपाली पारा खेलाडीसमेत हुन्।

पलेशाले गत असोजमा चीनको हान्झाउमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। उनी सन् २०२१ मा बहराइनमा सम्पन्न युथ एसियन गेम्समा ए्ेतिहासिक स्वर्ण पदक र ०१८ मा भियतनाममा सम्पन्न एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक विजेता हुन्। यसअघि सन् २०२० मा सम्पन्न टोकियो पारालिम्पिकमा पलेशाले दुई खेल जितेकी थिइन्। ओलम्पिकमा दुई खेल जित्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन्। प्रशिक्षक कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्।

उनको प्रशिक्षणमा नेपालले हालसम्म १० अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। तीमध्ये तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हुन्। नेगीले पलेशालाई सन् २०१६ देखि प्रशिक्षण गराउँदै आएका छन्। किङ्स लाउन्ज काठमाडौंले लामो समयदेखि विभिन्न खेल क्षेत्रका खेलाडीहरूलाई सहयोग गर्दै आइरहेको छ।

प्रकाशित: १९ वैशाख २०८१ ०९:०५ बुधबार

किङ्स लाउन्ज काठमाडौं पारा तेक्वान्दो पलेशा गोवर्धन कविराज नेगी लामा