खेल

आइसिसी विश्वकप क्रिकेट लिग-२ः नामिबियासँग नेपाल ४ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियाँसग पराजित भएको छ।

त्रिवि मैदान कीर्तिपुरमा बिहीवार भएको पहिलो खेलमा १३३ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले राम्रो प्रदर्शन गर्दै नेपालमाथि ४ विकेटले जित हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमध्ये ४१ दशमलव १ बल खेल्दै सबै विकेट गुमाएर १३२ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि भिम सार्कीले सर्वाधिक ४४ रन बनाए भने गुलशन झाले २२ रन जोडे। त्यसबाहेक अन्य कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन्।

नेपाललाई सस्तोमा समेट्न नामिबियाका कप्तान जेरहार्ड एरासमस एक्लैले ५ विकेट लिए भने रुबेन ट्रम्पेलमेनन् र ज्याक ब्रसेलले समान २÷२ विकेट लिए। यस्तै ज्यान निकोलस लोफ्टी एटनले १ विकेट लिए।

१३३ रनको लक्ष्यसहित मैदान उत्रेको नामिबियाले निर्धारित ओभरको ३३ दशमलव १ बल खेल्दै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

नामिबियाका लागि ज्यान फ्राइलिन्कले सर्वाधिक ३४ रन बनाउँदा ज्यान निकोलस लोफ्टी एटनले ३१ रन बनाए। यस्तै माइकल भान लिंगेनले २३ रन बनाउँदा निकोलस डेभिनले १५ रन बनाए। अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए। जबकी कप्तान रोहित पौडेलले १ विकेट लिए। 

प्रकाशित: ३ फाल्गुन २०८० १५:२१ बिहीबार

गुलशन झा आइसिसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता नेपाल नामिबियाँ त्रिवि मैदान कीर्तिपुर ४ विकेटले जित