समाज

विदेशको लाख कमाइ छाडेर महेन्द्रनगरमा घुम्ती चिया व्यापार

कञ्चनपुरको भीमदत्त नगरपालिका-६ ऐटपुरका ३० वर्षीय हरिष चन्द दैनिक जसो बिहान र साझँ चियाको घुम्ती व्यापारमा व्यस्त देखिन्छन्। पाँच वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा दुवई पुगेका उनीले त्यहाँ सेक्यिुरिटी गार्डका रूपमा काम गरेका थिए।

गत मंसिर १ गतेदेखि आफ्नै ठाउँमा केही गरौँ भन्ने बिचार गर्दै घुम्ती चियाको व्यापार थालेका उनले अहिले दैनिक तीनदेखि चार हजारसम्मको चियाको व्यापार गरिरहेको बताए। चियामा थोरै लगानीमा राम्रो आम्दानी हुने गरेको छ। दैनिक १५० देखि २०० कप चिया बिक्री हुने गरेको बताउँदै उनले आफू यो  व्यापारबाट सन्तुष्ट रहेको बताए।

यहाँको आर्दश विद्या निकेतनबाट प्रवीणता प्रमाणपत्र तह उत्रिर्ण गरेका चन्दले परिवारबाट पनि सहयोग पाउँदा आफूले सानै भए पनि राम्रै व्यापार गर्न पाइरहेको बताए। चन्दले युवा पिँढी स्वदेशमा काम गर्न नरुचाउने तर विदेश गएर कडा मेहेनत गर्न पनि तयार हुने वातावरण रहेको बताए।

घरमै चिया तयार गरेर बजारमा दैनिक बिक्री गर्न निस्कने चन्द यहाँको बजार, बसपार्क, कभर्डहललगायत क्षेत्रमा चिया बिक्री गर्दै आएका छन्। चन्दले चिया व्यापारलाई नै दीर्घकालीनरूपमा अघि बढाउने सोच बनाएको बताए। रासस

प्रकाशित: २७ माघ २०७८ ०९:०१ बिहीबार

कञ्चनपुरको भीमदत्त नगरपालिका चियाको घुम्ती व्यापार