विशाल उपत्यका। वरिपरि हरिया डाँडा, चरनका लागि ल्याइएका गाईका बथान। पाटनमा बनाइएका भेंडीखर्क, भैंसीखर्क, गाईगोठ। हावा झैं वेगले यताउता कुदिरहने घोडाको हुल र तिनका घाँटीमा बाँधिएको घन्टीको आवाज, घुम्न आएका मानिसको चहलपहल। हरिया घाँस र रंगीबिरंगी फूलले गुठीचौरको सौन्दर्य अझ थपिएको छ।
![](https://images.nagariknewscdn.com/third-party/1718164364_guthichaur%20patan6.jpg)
गर्मी लागेपछि जुम्लाको गुठीचौर गाउँपालिका– २ मा पर्ने गुठीचौर पाटनमा भेडा गोठालासँगै मानिसहरुको चहलपहल बढेको छ। भेँडाबाख्रा, गाईभैंसी, घोडाखच्चडलगायतका पशुवस्तु लिएर गुठीचौर पाटनमा पुगेसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।
असार महिनादेखि जाजरकोटबाट गाईभैँसीहरु पाल्न गुठीचौर ल्याउने गरेको किसानहरु बताउँछन्। गुठीचौर– २ की चमेली बुढाले गुठीचौरमा गोठालाहरु उक्लिएसँगै चहलपहल बढेको बताइन्। उनी भन्छिन्, ‘गाईभैंसीको दूध, दही, खिर खान र पाटनहरुमा घुम्न–रमाउन आन्तरिक तथा बाह्य पर्यटक पनि आउने गर्दछन्।’
![](https://images.nagariknewscdn.com/third-party/1718164412_guthichaur%20patan88.jpg)
गुठीचौर गाउँपालिकाभित्र गज्र्याङ्गकोट, प्याकुरेबाडा, उखाडी, धल्पुरा, डाडाबाडा, थामीगाउँ, खल्लालबाडा, चौबिगारे, बिगारे, धिता, देपालगाउँलगायतका पाटन छन्। किसानहरुले पशुवस्तुहरु यिनै पाटनहरुमा लगेका हुन्।
कोल्ते गाउँका तुलविर बोहोराले हिजोआज दैनिकजसो २० देखि ३० जना मानिस आइपुग्ने गरेको बताए। उनी भन्छन्, ‘जुम्लाको सदरमुकाम खलंगादेखि डोल्पाको शे–फोक्सुन्डो जाने सडक गुठीचौर हुँदै जाने भएकाले यहाँको सुन्दर उपत्यकाका कारण पर्यटकहरु लोभिने गर्दछन्। गोठालासँगै उनीहरु प्नि पाल टाँगेर बसेको भेटिन्छ।’
![](https://images.nagariknewscdn.com/third-party/1718164389_guthichaur%20patan77.jpg)
यो मौसममा छिमेकी जिल्ला जाजरकोट र आसपासका गुठीगाउँ, कुडी, खल्लाबाडा, देपालगाउँ लगायतबाट चरनका लागि ल्याइएका गाईवस्तु दृश्यले मानिस र प्रकृतिको साइनोलाई नजिक ल्याउँछ। गुठीचौरमा सरकारले भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना गरेको छ।
गुठीचौर पुग्न सदरमुकाम खलंगाबाट करिब ३÷४ घन्टा पूर्वतर्फ पैदल हिँड्नुपर्छ, तर अहिले गुठीचौर हुँदै डोल्पा जाने सडक यातायातको सुविधा छ। सदरमुकाम खलंगाबाट धिता, देपालगाउँ, गर्जायाङकोट हुँदै गुठीचौरको फाँटमा एक डेढ घन्टामै पुगिन्छ।
![](https://images.nagariknewscdn.com/third-party/1718164270_guthichaur%20patan2.jpg)
गुठीचौर गाउँपालिकाका पूर्वअध्यक्ष हरिबहादुर भण्डारी गुठीचौरको सौन्दर्यले सबैको मन जितेको बताउँछन्। उनी भन्छन्, ‘गुठीचौर पाटन आफैंमा सुन्दर छ। त्यसमा गोठालाहरुको उपस्थितिसँगै आन्तरिक तथा बाह्य पर्यटक बढेपछि यहाँ चहलपहल बढ्न थाल्छ।’
![](https://images.nagariknewscdn.com/third-party/1718164439_guthichaur%20patan99.jpg)
गुठीचौरको पूर्वपट्टि गुठी कोल्त्या गाउँ छ। गाउँमा एक सय ३० घरधुरी छन्। फराकिलो पाटनका बीचबीचमा अस्थायी गोठहरु छन्। ती गोठमा गाई र भैंसीको दूध, दही पाइन्छ। भेँडापालनका लागि चर्चित गुठीचौरको सुन्दरताले कसको मन लोभिँदैन र ?
![](https://images.nagariknewscdn.com/third-party/1718164292_guthichaur%20patan3.jpg)
गुठीचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जीरोवा हिमाल आँखै अगाडि देख्न सकिन्छ भने जुम्लाकै पातारासी हिमशृंखला लमतन्न परेको देखिन्छ। हरेक साताको शुक्रबार र शनिबार गुठीचौरमा चहलपहल बढ्ने गर्छ।
![](https://images.nagariknewscdn.com/third-party/1718164245_guthichaur%20patan1.jpg)
गुठीचौर घुम्न जाने पर्यटकहरु गोठालाहरुले बनाएका खाना, दूध, दही खाने गर्छन्। जेठ–असारमा पाटन पुगेका गोठालाहरु असोज महिनामा मात्र घर फर्कने गर्छन्। पशुपालनका लागि उपयुक्त स्थान र चरन क्षेत्र धेरै भएकाले गोठालाहरुले गाईवस्तु गुठीचौर लैजाने गरेका हुन्।
![](https://images.nagariknewscdn.com/third-party/1718164462_guthichaur%20patan100.jpg)
प्रकाशित: ३० जेष्ठ २०८१ ०९:१६ बुधबार