समाज

त्रियुगा नगरपालिकाले बाँड्यो होलीमा ज्यान गुमाउने मृतकका परिवारलाई राहत

मृतक बालबालिकाका परिवारलाई राहत वितरण गर्दै मेयर बस्नेत। तस्बिर : नागरिक

गएको होलीका बेला नुहाउने क्रममा सुन नदीमा डुबेर ज्यान गुमाउने त्रियुगा नगरपालिका १४ साउनेका बालबालिकाका परिवारलाई नगरपालिकाले राहत दिएको छ। गत चैत ११ गते होली खेलेर नुहाउने क्रममा डुबेर ज्यान गुमाएकाको परिवारलाई नगरले राहत दिएको हो।

साउने बजारका बालबालिकाले बिहानैदेखि होलीको रङ खेलेर ६ किलोमिटर तल उदयपुर र खोटाङको सीमा धाब्लाङस्थित सुन नदी पुगेर नुहाउने क्रममा ज्यान गुमाएका थिए।

स्थानीय रुद्र पुलामी मगरकी १२ वर्षीया छोरी रेखा, केदार मगरका ९ वर्षीय छोरा रिदम र मेहरमान मगरका १२ वर्षीय छोरा लोकबहादुरको नदीमा ज्यान गएको थियो।

दिउँसो २ः०० बजे डुबेर बेपत्ता भएका उनीहरूको खोजी गर्ने क्रममा स्थानीय, नेपाल प्रहरी र सशस्त्रको उद्धार टोलीले तीन दिनपछि ३ किलोमिटर तल मृत शरीर फेला पारेको थियो।

नगर प्रमुख वसन्त बस्नेतले शनिबार साउने पुगेर वडाध्यक्ष हिमराज मगरको उपस्थितिमा राहत प्रदान गरेका हुन्। प्रति परिवार २५ हजार नगद प्रदान गर्दै मेयर बस्नेतले पीडित परिवारप्रति समवेदना व्यक्त गरे।

पीडितका घाउमा मलमपट्टी लगाउने उद्देश्यले सान्त्वनास्वरूप थोरै भए पनि राहत उपलब्ध गराएको उनको भनाइ छ। घटना भएलगत्तै राहत दिनका लागि बजेट अभावले ढिला भएकोमा मेयर बस्नेतले माफी मागे।

प्रकाशित: २७ जेष्ठ २०८१ ११:५१ आइतबार

Triyuga Municipality relief to families of children