समाज

सिरोहिया पक्राउपछि बोल्यो रास्वपा: कोही-कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे मुख खोलेको छ। महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता भएको टिप्पणी गरेका छन्।  

‘कानुन भन्दामाथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो,’ महामन्त्री ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोही–कोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ।’  

रास्वपा उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति रहेको उल्लेख गर्दै संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति कटिवद्ध रहेको विज्ञप्तिमा दाबी गरिएको छ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य जानकारीमा आएको भन्दै  विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम रहेको भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा भनिएको छ।  

विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति रास्वपा उच्च सम्मान गर्ने भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ,‘तर एक समयको योगदानको  बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ।’  

रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने  व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको टिप्पणी गरेको छ। ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै रास्वपाले ‘सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस्’ भनेर घटनालाई टिप्पणी गरेको छ ।

प्रकाशित: ९ जेष्ठ २०८१ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App