समाज

शिविर राखेर साकेलाले बाँड्यो वृद्ध भत्ता

वृद्ध भत्ता लिन वडा कार्यालय आइपुगेका ज्येष्ठ नागरिक। तस्बिर : नागरिक

साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरुलाई दिइने सामाजिक सुरक्षा भत्ता गाउँगाउँमा शिविर राखेर त्रैमासिक रुपमा वितरण गर्दै आएको छ। यसैअनुरुप पछिल्लो त्रेमासिक भत्ता पनि पाँचवटै वडा कार्यालयका पायक पर्ने ठाउँमा शिविर राखेर वितरण भइरहेको छ।

नेपाल एसबिआई बैंकसँग सहकार्य गर्दै बिहीबारदेखि शिविर आयोजना गरी तेस्रो त्रैमासिक भत्ता वितरण थालेको गाउँपालिकाले जनाएको छ, जसअनुसार पहिलो दिन १ नम्बर वडा कार्यालयमा आयोजित शिविरबाट ९० जना लाभग्राहीले ११ लाख २५ हजार रुपैयाँ भत्ता प्राप्त गरेका छन्।

गाउँपालिकाका सामाजिक सुरक्षा शाखा संयोजक डिएम चामलिङ राईका अनुसार शुक्रबार १ नं वडाको चण्डेश्वरी आधारभूत विद्यालयमा शिविर राखेर भत्ता वितरण गरेको छ।

वैशाख २३ गते २ नं वडा कार्यालय रतन्छामा शिविर राखिने छ भने २४ गते ३ नं वडा कार्यालय खिदिमा, २५ गते ५ नं वडा कार्यालय मात्तिमबिर्ता र २६ गते अन्तिम दिन बुधबार ४ नं वडा कार्यालय मात्तिममा शिविर राखेर भत्ता बाँडिने चामलिङले बताए।  

साकेलाले आर्थिक वर्ष ०७७-०७८ को दोस्रो चौमासिकदेखि नै बैङ्किङ प्रणालीमार्फत भत्ता वितरण कार्य थालेको हो। त्यसयता निरन्तर बैंकिङ प्रणालीमार्फत भत्ता दिइँदै आएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा गाउँपालिकाभरका १ हजार ४ सय जना सामाजिक सुरक्षा भत्ताग्राही रहेका छन्। चालु तेस्रो त्रैमासिकमा भत्ताका लागि १ करोड ३३ लाख रुपैयाँ निकासा भई आएको पनि चामलिङले बताए।

गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगोलिक कठिनाइले ज्येष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिका केन्द्रको बैंकसम्म आएर भत्ता लिन नसक्ने देखिएकाले वर्षमा ३ पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको बताए। 

भौगोलिक रुपमा टाढा र अफ्ठ्यारो बाटो धाएर भत्ता थाप्न वृद्ध बाबुआमा तथा अशक्त नागरिकलाई समस्या पर्ने भएकाले सहजरुपमा भत्ता दिने उद्देश्यले गाउँमै घुम्ती शिविर राखेर वितरण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष राईले बताए।

टाढाटाढाका वडाबासी ज्येष्ठ नागरिकलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुःख र झन्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायक सेवा दिन शिविर राएिको अध्यक्ष राईको भनाइ छ।

प्रकाशित: २१ वैशाख २०८१ १५:३८ शुक्रबार

सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक अशक्त अपाङ्गता