समाज

चिकित्सा क्षेत्र सुधार्ने हो भने युवालाई स्थान देऊ: नागरिक नायक माकजु

नागरिक नायक २०८१ डा.रामकण्ठ माकजुले गुणस्तर भन्ने कुरा किनेर आउने होइन त्यसका लागि प्यासेन चाहिने बताएका छन्।

नागरिक रिपब्लिक मिडियाका प्रधान सम्पादक गुणराज लुइँटेलसँग नागरिक नायक २०८१ संवादको क्रममा उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि जोकोहीमा पनि प्यासेन चाहिने बताए।

उनले स्वास्थ्य क्षेत्रमा केही फरक गर्नु छ भन्ने सोचकै साँढ विदेशको जागिर छाडेर आफ्नै देश नेपाल फर्केको भन्दै नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गर्न पाउन् भन्ने मात्रै आफ्नो उद्देश्य रहेको बताए।

स्वास्थ्य क्षेत्रमै काम गर्छु भन्ने कहाँबाट मनमा आयो भन्ने प्रश्नमा उनले भने, ‘२५ वर्षको प्रयासले हामी यहाँसम्म आइपुगेका हौँ। धुलिखेल अस्पताल आउने बिरामीमध्ये ९० प्रतिशतको खुट्टामा त चप्पल पनि हुँदैनन्। त्यस्ता नागरिकले पनि स्वास्थ्य सेवाको उपभोग गर्न पाउनुपर्छ। त्यसका लागि पनि हामी छौँ।’

उनले भने, ‘काठमाडौँका मान्छेलाई भिड मन पर्छ, महँगो कुरा मन पराउँछ तर, हामी कहाँ आउने मान्छे फरक छन्। उनीहरूको पीडा फरक छ। उनीहरुका सन्तानले छोडेका हुन्छन्। कैयन पीडा हुन्छ। सबै सम्बोधन गर्न नपाए पनि केही भएपनि धुलिखेल अस्पतालले गरिरहेको जस्तो मलाइ लाग्छ।’

उनले भने, ‘नेपालमा नेपालीले चाहेर नहुने केही छ ? अस्पतालमा युवालाई कसरी ल्याउने भन्ने विषयमा सरकारले छिटोभन्दा छिटो कानुन ल्याउने, बनाउने र परिमार्जन गर्नुपर्छ। अनि सबै सहज र सम्भव हुन्छ।’

उनले पत्रकार र मिडिया हाउससँग आग्रह गर्दै सधैँ जे पनि हुँदैन भनेर नभन्न बरु हुन्छ भनेर लेख्न आग्रह गरे। उनले बलात्कार पीडित महिलाका लागि धुलिखेल अस्पतालले जे गर्न सक्छ त्यो गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: ११ वैशाख २०८१ २०:१४ मंगलबार

नागरिक नायक २०८१ डा.रामकण्ठ माकजु