समाज

मानसिक अस्वस्थताले युवा क्षमता घट्दै

यस्ताे पनि!

मानसिक स्वास्थ्यका कारण युवाहरूमा कार्यक्षमता घट्दै गएको एउटा बेलायती संस्थाको अध्ययनले देखाएको छ। पाँचमध्ये एक वयस्कहरूमा मानसिक स्वास्थ्यका कारण उनीहरूले कार्यालयमा काम गर्ने क्षमता घटेको देखिएको हो।

बेलायतमा वयस्क भन्नाले १६ देखि ६४ वर्ष उमेर समूहलाई जनाउँछ। यो उमेर समूहका व्यक्तिहरू काममा निकै सक्रिय हुने गर्छन् तर विगत केही वर्षयता उनीहरूको कार्यक्षमतामा क्रमशः ह्रास आइरहेको देखिएको छ।

‘द अफिस फर नेसनल स्टाटिस्टिक्स’ले जनाएअनुसार पछिल्लो समय बेलायतमा १६–२४ वर्ष उमेर समूहका व्यक्तिहरू जो शैक्षिक गतिविधिमा संलग्न छैनन्, उनीहरू काम गर्न गइरहेका छैनन्। उनीहरूको गुनासोचाहिँ आफू अस्वस्थ रहेको बताइरहेका हुन्छन्।

यसरी काम नगर्ने वयस्क युवाहरूको संख्या सात लाख ३० हजार रहेको बताइएको छ। काममा नजाने ती युवाहरूको मानसिक स्वास्थ्य नाजुक रहेको निष्कर्ष तथ्यांकशास्त्रीहरूको छ।

१६–२४ वर्ष उमेर समूहका वयस्क युवाहरूमध्ये ३३.९ प्रतिशत आर्थिक रूपमा निष्क्रिय हुनु चिन्ताजनक रहेको ‘द इन्स्टिच्युट फर इम्प्लोयमेन्ट स्टडिज’का निर्देशक टोनी विल्सन बताउँछन्।

बेलायतमा २६ लाख विद्यार्थी अध्ययनमा सक्रिय भएकाले उनीहरूको आर्थिक गतिविधि शून्य हुन्छ। कमजोर स्वास्थ्यका कारण न शिक्षामा समय दिइरहेका छन् न त आर्थिक गतिविधिमै सक्रिय छन्, यस्ता युवा देशका लागि चिन्ताको विषय हुने ‘थिंक ट्यांक’ संस्था ‘रिजोलुसन फाउन्डेसन’की लुसी मर्फी बताउँछिन्। एक दशकयता यस्ता युवाको संख्या दोब्बरले बढेको उनको भनाइ छ।

सन् २०१० ताका स्वास्थ्यका कारण काम गर्न नसक्ने युवाको संख्या पाँच प्रतिशत मात्र थियो। अहिले बढेर १५ प्रतिशत हुनु चिन्ताजनक रहेको टाइम्स अखबारले लेखेको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ५ चैत्र २०८० ०८:२७ सोमबार

यस्ताे पनि!