समाज

दलितकी भरोसा

उसै त महिला। त्यसमाथि दलित समुदायको। अझ त्यसमा पनि चेतना अभाव र रुढिवादिताले ग्रस्त तराई समुदायकी। तर पनि शर्मिलाकुमारी रामले वडाध्यक्षमा जितिन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारले ३३३ मत ल्याउँदा शर्मिलाले दोब्बर अर्थात् ६०६ मत ल्याइन्।

नेपालका ६ हजार ७ सय ४३ वडामध्ये जम्मा २ वटामा मात्र दलित महिलाले वडाध्यक्ष जितेका छन्। तीमध्ये एक हुन् शर्मिला। यसरी बहुजन एकता पार्टी, नेपालबाट जितेर इतिहाससमेत रचेकी उनी यतिबेला आफ्नो गाउँठाउँका दलित दिदीबहिनीका लागि के गर्न सकिन्छ भन्ने ध्याउन्नमा छिन्।

गैरदलितले दलितलाई अछूत भनेर हेप्ने गरेका घटनाले उनलाई राजनीतितर्फ डोर्‍यायो। त्यसैले चुनाव जितिसकेपछि उनले विशेषगरी दलित दिदीबहिनीका लागि पाठेघर शिविर चलाइन्।

धुवाँले स्वास्थ्यमा असर गरेपछि अब ग्यास सिलिन्डर दिलाउने प्रयासमा छिन्। दलित बालबालिकालाई वडाको २ ठाउँमा निःशुल्क ट्युसन पढ्ने व्यवस्था मिलाएकी छिन्।

अब विपन्न दलितलाई आर्थिक स्तर उकास्नका लागि बाख्रा वितरण गर्ने प्रयास पनि अघि बढाएकी छिन्। समग्रमा भन्दा यहाँका विशेषगरी दलित महिला अहिले केही समस्या पर्‍यो कि यिनकै भरोसा गर्न थालेका छन्।

यो पनि पढ्नुहोस्

नारी दिवस विशेष: प्रजातन्त्रकालका प्रेरक युवा महिला

प्रकाशित: २५ फाल्गुन २०८० १०:४१ शुक्रबार

दलित समुदाय दलितकी भरोसा