उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा रुपान्तरण गराउन जरुरी रहेको बताएका छन्।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ स्थित नौवस्ता कारागारको बिहीबार उद्घाटन गर्दै उनले भने, ‘कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गर्नका लागि गृह मन्त्रालय र सरकार सचेत छ, सुधार गर्नुपर्ने काम धेरै छन्।’
गृहमन्त्री लामिछानेले कारागारमा रहेका कैदी बन्दीले अपराध गरेभन्दा अन्य थप सजाय पाउन नहुने बताए। कैदी बन्दीको कैद माफी मिनाहामा कुनै किसिमको विभेद हुन नहुनेमा सरकार गम्भीर रहेको बताए। ‘कानुनले तोकेको मापदण्ड पुरा गरेको जोसुकै कैदी बन्दी नियम अनुसार छुट्नुपर्छ, यो उनीहरूको अधिकार हो,’ उनले भने ‘कैदीको कैद मिनाहा माफीमा कुनैपनि विभेद हुनु हुँदैन।’
राजनीतिक दबाब र आर्थिक चलखेल गरी माफी मिनाहाका लागि सिफारिस गरेको गुनासो आफू समक्ष आउने गरेको गृहमन्त्री लामिछानेले बताए। ‘आर्थिक चलखेल र राजनीतिक दबाबबाट माफी मिनाहाका लागि सिफारिस आउने गरेको गुनासो सुनेको छु, आइन्दा यस्तो नहोस्,’ उनले भने।
प्रकाशित: २० वैशाख २०८१ १५:४० बिहीबार