राजनीति

राजपुर हाडबासको आगलागी घटनाप्रति सञ्चारमन्त्रीद्वारा दुःख व्यक्त

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री शर्माले सो घटनाप्रति दुःख व्यक्त गर्दै पीडाको क्षणमा घरबारविहीन पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि जुट्न सबैलाई आह्वान  गरेकी हुन्।

गर्मीयाम सुरु भएसँगै आगलागी र डढेलोका घटना बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको र नागरिकका घर, पशुपन्छीलगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल तथा जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै मन्त्री शर्माले सबै पक्षलाई गम्भीर हुन प्रेस विज्ञप्तिमार्फत आग्रह गरिन् ।

नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यून गर्न र तत्काल आगलागी नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको मन्त्री शर्माले बताइन्। 

क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तीनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको उनको भनाइ छ।  

आगलागी र डढेलो मानवीय कमजोरीबाट सिर्जित विपत् भएकाले यसबाट बच्न उच्च सतर्कता र सावधानीको विकल्प नभएको स्पष्ट गर्दै मन्त्री शर्माले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरेकी छन्।

आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालन गर्न समेत उनले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरिन्। -रासस

प्रकाशित: १७ वैशाख २०८१ १०:३९ सोमबार

रेखा शर्मा सञ्चार तथा सूचना हाडबास गाउँमा भएको आगलागी आगलागी हुँदा २४ घर र १० गोठ जले