राजनीति

उपनिर्वाचन सम्मुखमा इलाम केन्द्रित हुँदै शीर्ष नेता

इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलामकेन्द्रित भएका छन्। विभिन्न पार्टीका शीर्षनेता तथा देशकै पूर्वकार्यकारी प्रमुखहरूसमेत आफ्ना उम्मेदवार जिताउन इलाम २ मा दिनहुँ आइरहेका छन्।

आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताहरूले इलामको विकासको जिम्मा आफ्नो पार्टी र आफूले नै लिनेसमेत आश्वासन दिइरहेका छन्। वैशाख ५ मा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन क्षेत्र २ को मंगलबारेमा आयोजित चुनावी सभामा सहभागी भए।

यो क्षेत्रमा एमालेले ३३ बर्से सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ। सुहाङलाई नेकपा (माओवादी केन्द्र), नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टीले पनि सघाएका छन्।

यो चुनावी सभामा एमाले उपाध्यक्ष तथा पूर्वउप्रधानमन्त्री रामबहादुर थापा बादल, परिवार दल अध्यक्ष एकनाथ ढकाललगायत सहभागी भए।सभामा ओलीले सुहाङलाई जिताउन मतदातालाई आग्रह गरे। उनले भने, ‘सुहाङलाई जिताएर पठाउनुस्, इलामको विकासको जिम्मा म लिन्छु, एमालेले लिन्छ।’

अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल अहिले इलाम क्षेत्र २ मा चुनावी घरदैलो गर्दै आइपुगेका छन्। उनले आफ्ना उम्मेदवार जितबहादुर राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन्।

खनालले माङ्सेबुङस्थित लारुम्बा पुगेर किरात धर्मगुरु आत्मानन्द लिङ्देनसँगसमेत शुक्रबार साँझ भेटघाट गरे। खनाल चैत २४ मा उम्मेदवारी मनोनयन दर्ताको दिनसमेत इलाम आएका थिए। उनले भनेका थिए, ‘यसपटक इलाम २ मा हाम्रा उम्मेदवारलाई मतदाताले जिताउनेछन्, हाम्रो जित सुनिश्चित छ।’

उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने अहिले इलाम क्षेत्र २ चुनावीसभामा व्यस्त छन्। उनी शुक्रबार माङ्सेबुङ गाउँपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभामा सहभागी भए। उनले परिवर्तन गर्ने अर्काे बाटो नभएको भन्दै उपनिर्वाचनमा रास्वपालाई मतदान गर्न आग्रह गरे।

‘आश्वासनका पोका बाँडेर मात्र हुँदैन, अब काम गरेर देखाउनुपर्छ,’ उनले आफ्ना उम्मेदवार मिलन लिम्बूलाई भोट माग्दै भने, ‘पुराना दललाई सुधार्न सकिएन, नयाँ दल र नयाँ मान्छेबाट मात्रै परिवर्तन सम्भव छ।’

लामिछानेले यो निर्वाचनमा भोट किन्न कसैले पैसा बाँडेको थाहा पाए कुनै आदेश नकुर्न र कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन पनि दिए। ‘पैसा बाँड्ने व्यक्तिले भोट किनेको होइन, देशको भविष्यमाथि खेलबाड गरेको हो,’ उनले भने, ‘देशको भविष्यमाथि खेलबाड गर्नेहरू देशद्रोही हुन्, ‘सुरक्षा निकायका साथीहरू ध्यान दिएर हेर्नुहोला, कहींकसैले चुनावमा भोट किन्नका लागि जनतालाई पैसा बाँडेको देख्नुभयो भने कुनै आदेश कुर्नुपर्दैन, कहाँ जाक्ने हो जाकिदिनुहोला।’

रास्वपा नेतृ तथा शिक्षामन्त्री सुमना श्रेष्ठसमेत केही दिनअघि इलाम आएर आफ्ना उम्मेदवारलाई भेट मागेकी थिइन्।

नेपाली कांग्रेसले इलाममा आज चुनावी सभा गर्दै छ। सभामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुँदैछन्।

पार्टी नेताहरू शेखर कोइराला, धनराज गुरुङ, शशांक कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङ्देम्बेलगायत नेता उम्मेदवारी मनोनयनपछि पटक–पटक इलाम आएर कांग्रेसलाई भोट मागिरहेका छन्।

‘यसपटक मलाई मतदाताले विजय गराउनुहुनेछ’, जिल्ला सभापतिसमेत रहेका उम्मेदवार डम्बर खड्का भन्छन्, ‘२०७९ सालको निर्वाचनमा पनि झिनो मतले मात्रै म प्राविधिक रूपमा पराजित भएको हुँ, यसपटक विजयी हुन्छु।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्लेन सातअघि इलाम आएका थिए। इलाम बजारमा आयोजित चुनावी सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे। उनीसहित नेता रवीन्द्र मिश्रसमेत आएका थिए। राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसहितका दुई सांसदसमेत चुनावी अभियानमा इलाम आए।

उनीहरूले यसपटक राप्रपा उम्मेदवार यहाँबाट विजयी बन्ने दाबी गरे। ‘यसपटक इलाममा चमत्कार हुँदैछ,’ शाहीले इलाममै आयोजित पत्रकार सम्मेलनमा भने, ‘राप्रपाले गत निर्वाचनमा यो क्षेत्रमा पाँच सय मत ल्याएको थियो, अब १८–२० हजार मत ल्याएर विजयी हुने लक्षण देखेको छु।’

राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएको छ। गुरुङले संघीयताले देश उँभो नलाग्ने भन्दै संघीयता खारेजी र संवैधानिक राजतन्त्रका लागि मतदातासँग भोट मागिरहेको बताए।

जनमत पार्टी अध्यक्ष सिके राउतसमेत यसअघि इलाम क्षेत्र २ आएका थिए। र, उनले आफ्ना उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका थिए। जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङलाई उम्मेदवार बनाएको छ।

आउँदो १५ गते इलाम क्षेत्र २ मा उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर  किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली उम्मेदवार बनेका छन्। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुनलागेको हो।

२०७९ को निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी भएका थिए। तत्कालीय सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए। रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए।

समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३, माओवादीले पाँच हजार एक सय ५३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याएका थिए।

प्रकाशित: ८ वैशाख २०८१ ०८:०० शनिबार

इलाम २ को उपनिर्वाचन शीर्ष नेता इलामकेन्द्रित केपी शर्मा ओली नेपाली कांग्रेस