राजनीति

रेशम जापान भ्रमणमा रहेका बेला रञ्जिताले राखिन् केन्द्रीय समितिको बैठक

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज टीकापुरमा बस्दैछ। बैठकले सुदूरपश्चिम प्रदेश सरकारका बारेमा निर्णय गर्ने बताइएको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी टीकापुर पुगेकी छिन। उनले बैठकका एजेण्डा बारेमा छलफल भइरहेको बताइन्। उनका अनुसार अहिले नै एजेण्डा तयार भैसकेको छैन।

स्रोतका अनुसार अध्यक्ष श्रेष्ठ चौधरी सरकारलाई समर्थन गर्ने सम्बन्धमा केन्द्र र प्रदेशको एउटै धारणा हुनुपर्नेमा अडिग छन्। सो पार्टीले केन्द्रमा वर्तमान सरकारलाई समर्थन दिएको छ भने सुदूरपश्चिममा भने काँग्रेस नेतृत्वको सरकारलाई समर्थन यथावत् राखेको छ। पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेशमा पाँच जना मन्त्री समेत भैसकेका छन्। ती मध्ये एक जना राज्यमन्त्री हुन।

सुदूरपश्चिम प्रदेशमा पार्टीका तर्फबाट सात जना सदस्य छन्। उनीहरु मध्ये पाँच जना काँग्रेस नेतृत्वको पक्षमा छन् भने दुई जनाले विमति जनाइरहेका छन्। काँग्रेस नेतृत्वको पक्षमा हुनेलाई पार्टीका संरक्षक रहेका रेशमलाल चौधरीको साथ छ भने दुई जनालाई अध्यक्ष श्रेष्ठ चौधरीले साथ दिएकी छन्। संरक्षक चौधरी र अध्यक्ष श्रेष्ठ चौधरी श्रीमान् श्रीमती समेत हुन।

पछिल्लो पटक टीकापुरमा सम्पन्न पार्टीको महाअधिवेशन पश्चात् दुवै जना बिच दूरी बढेको छ। महाअधिवेशनले चौधरीलाई अध्यक्ष निर्वाचित गरेको थियो। आम माफी पाएको भन्दै निर्वाचन आयोगले चौधरीलाई अध्यक्ष पदमा अयोग्य ठहर गर्दै श्रेष्ठ चौधरीलाई नै अध्यक्ष कायम गरिदिएको थियो। उनी पार्टीको संस्थापक अध्यक्ष हुन।

महाअधिवेशन पश्चात् दुई जना बिचको दूरी झन बढेको छ। संरक्षक रहेका चौधरी हाल जापान भ्रमणमा छन्। स्रोतका अनुसार उनी आज हुने बैठकलाई विफल बनाउन चाहन्छन्। उनको निर्देशनमा केही व्यक्तिहरू बैठक विफल बनाउन सक्रिय रहेको बताइएको छ। २१ सदस्यीय पार्टी पदाधिकारीमा अध्यक्ष श्रेष्ठ चौधरीको बहुमत छ। 

अधिकांशले केन्द्रमा एउटालाई र प्रदेशमा अर्कोलाई समर्थन गर्नु राजनीतिक रुपमा दोहोरो चरित्र हुने भन्दै त्यसो नगर्न दबाब दिईरहेका छन्। उनीहरुले दोहोरो चरित्रले पार्टी लुम्बिनी र मधेस प्रदेशमा समेत प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउने सुझाव दिइरहेको स्रोतले बताएको छ।

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति सरकार निर्माणका लागि निर्णायक छ। उसका७ सहित प्रदेशमा काँग्रेसका १८, एमालेका १०, माओवादीका सभामुख सहित ११, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन्। 

प्रकाशित: १४ चैत्र २०८० ०९:०६ बुधबार

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी रेशमलाल चौधरी