अन्तर्वार्ता

काठमाडौंमा सास फेर्नु सयौं चुरोट पिउनु बराबर

नागरिक संवाद

उज्ज्वल उपाध्याय (दायाँ)। तस्बिर: नागरिक

संघीय राजधानी काठमाडौं अब मन्दिरको सहर मात्रै रहेन, विश्वकै प्रदूषित सहरको सूचीमा परेको छ। आखिर काठमाडौं किन प्रदूषित छ ? यसले स्वास्थ्यमा के कस्तो प्रभाव पार्छ ? समाधानका उपाय के के हुनसक्छन् ? वातावरण तथा मौसमका जानकार उज्ज्वल उपाध्यायसँग नागरिककर्मी तेजेन्द्र काफ्लेले गरेको कुराकानीको अंशः

वातावरणको दृष्टिले काठमाडौं सहितका प्रमुख सहरको वर्तमान अवस्था कस्तो हो ?

वातावरणका धेरैं कम्पोनेन्ट हुन्छन्। खासगरी हामी श्वास नलिई तीन मिनेटभन्दा बढी बाँच्न सक्दैनौं। सबैभन्दा महत्वपूर्ण कुरा नै हावा हो। हावा प्रदूषित मात्र हैन विषाक्त छ। काठमाडौंको त कुरै छाडौं, यो संसारको शीर्ष तीनमा प्रतिस्पर्धामा छ भने वरपरको सहरको अवस्था पनि उत्तिकै अप्ठ्यारो छ। खासगरी वायु प्रदूषणको दृष्टिकोणबाट काठमाडौंलगायत वरपरको सहरको अवस्था धेरै नै नाजुक छ।

वायु प्रदुषण नापिने एक्युआई भनेको के हो ?

यो भनेको एयर क्वालिटी इन्डेक्स हो। जसमा पाँचवटा कम्पोनेन्ट हुन्छन्। ग्राउण्ड लेभलको ओजोन कति छ ? सल्फर अक्साइड कति छ? नाइट्रोजन अक्साइड कति छ ? कार्बन मोनोअक्साइड कति छ ? कार्बन मोनोअक्साइड धेरै नै पुरानो इन्जिनबाट बढी निस्कन्छ। नाइट्रोजन अक्साइड एकदम प्रेसरमा काम गर्ने इन्जिन गाडीबाट निस्कन्छ। सल्फर अक्साइड अलि बढी उद्योग, कोइला र फोहोर बाल्ने ठाउँहरूबाट निस्कन्छ।

अर्को पीएम २.५ र पीएम १० हो। यी भनेका यस्तो मधुरो धुलोका कणहरू हुन्, जसको डायमिटर १० माइक्रोमिटरभन्दा कम छ र २.५ माइक्रोमिटरभन्दा पनि सानो छ। यी पाँच वटा कम्पोनेन्टलाई एक ठाउँमा राखेर एक्युआईको हिसाबकिताब गरिन्छ। जसको भ्यालु शून्यदेखि पाँच सय सम्म आउँछ। शून्य त सामान्यतया संसारमा कहीँ पनि हुन्न।

तपाईं उच्चपहाडी र हिमाली क्षेत्रमा जानुभयो भने ५० भन्दा कम हुन्छ, अर्थात् सबैभन्दा स्वस्थ ५० भन्दा तल हो। सोभन्दा माथि बढ्दै गएपछि त्यो अस्वस्थ हुँदैछ। सहरी क्षेत्रमा एक सयसम्मलाई स्वीकार गरिन्छ। किनकि स्वस्थ मान्छेले सयसम्मको एक्युआईलाई पचाउँछ। सय नाघेपछि भने खासगरी मुटुरोगी, मिर्गौला रोगी, मस्तिस्करोगी, दीर्घरोगीहरूलाई भने यस्ले अप्ठ्यारो पार्दै जान्छ। सयदेखि माथि भने स्वस्थ मान्छेहरूलाई पनि यसले असर गर्दै जान्छ।

नेपालका प्रमुख सहरमा एक्युआई बढी देखिनुको कारण के हो ?

एक्युआई सबैभन्दा बढी काठमाडौंमा देखिन्छ। नेपालमा समग्रमा एक्युआई सबैतिर बढेको नै छ। काठमाडौंमा रहेका इँटा भट्टाबाट निस्कने धुँवामा सल्फर अक्साइडको मात्रा बढी हुन्छ। यो एक्युआई बढाउन प्रमुख स्रोत हो। यही बेलामा नेपालमा हेर्नुभयो भने धेरै जंगलमा डढेलो लागेको देखिन्छ।

खासगरी यो समयमा हावा पश्चिमबाट पूर्वतर्फ चल्ने गर्छ। सबैभन्दा बढी डढेलो धादिङ, चितवन, नवलपरासी, लमजुङमा लागेको छ र उताको हावा धेरै मात्रामा काठमाडौंमा आउँछ। त्यसमा पनि सल्फर अक्साइडको मात्रा बढी हुन्छ।

काठमाडौंभित्र चल्ने अत्यधिक सवारीले पनि नाइट्रोस अक्साइड र कार्बन मोनोअक्साइड बढी निकाल्छन्। काठमाडौंका सडकको गुणस्तर एकदमै नाजुक छ र निर्माणको काम पनि धेरै भएकाले धुलो बढी उडेको छ। यसमा पिएम २.५ को मात्रा बढी पाइन्छ।

जुन आजको दिनमा मापदण्डभन्दा ठ्याक्कै १० गुणाले बढी छ। यो पिएम २.५ श्वास लिँदा सिधै फोक्सोमा पुग्छ। काठमाडौंमा हावाको गुणस्तर भने डब्लुएचओको गाइडलाइनअनुसार हजार्डस् अर्थात् अत्यन्तै घातकको सूचीमा पर्छ।

समस्या त देखिहालियो, यसबाट बच्न चाहिँ के गर्नुपर्छ ?

उपाय सामान्य छ। वरपरको डढेलो नियन्त्रण गर्नुपर्‍यो। सवारी प्रदूषणको जाँचपास कडारूपमा गर्नुपर्‍यो। नियमन र अनुगमन राम्रोसँग हुनु आवश्यक छ। बढी धुँवा फाल्ने सवारीलाई नियन्त्रण गर्नुपर्‍यो। विद्युतीय सवारीलाई प्रोत्साहन गर्नुपर्‍यो। तत्काल गर्नुपर्ने कुरा भने काठमाडौंमा भएका सडक धुलोरहित बनाउनु हो।

सडक खन्नुभयो भने तत्काल पिच गर्ने नियम लगाउनुपर्‍यो। सडकको गुणस्तरलाई मात्रै ध्यान दिन सक्याैं भने वायु प्रदूषण बढाउन महत्त्वपूर्ण भूमिका खेलेको पिएम २.५ लाई उल्लेख्यरूपमा तल झार्न सक्छौं।

विकास निर्माण गर्दा वातावरण प्रभाव अध्ययन गर्नुपर्छ त्यसको मिटिगेसन मेजरलाई सहीरूपले अवलम्बन गर्ने हो भने यसलाई पूर्ण रूपमा रोक्न सकिन्छ। विकसित देशमा पनि निर्माणको काम हुन्छ तर त्यहाँ प्रदूषण नगरीकन अरूलाई दुःख नदिइकन र क्षति नगरीकन विकास गर्ने नीति अवलम्बन गरिएको हुन्छ। नीति त हाम्रोमा पनि छ तर कार्यान्वयनमा समस्या छ।

यी सुझावहरू दिँदै गर्दा काठमाडौंसहितका सहरमा स्वस्थकर हावा लिन सक्ने परिकल्पना गर्न सकिन्छ ?

परिकल्पना गर्न पनि सकिन्छ। यथार्थमा बदल्न पनि सकिन्छ। यसको सामान्य कुरा के हो भने काठमाडौंसहितका सहरमा सवारीको गुणस्तर राम्रो हुनुपर्‍यो। जाँचपास र अनुगमन पनि राम्रो हुनु पर्छ। सकेसम्म पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको सट्टामा विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्‍यो। सडकलाई साइकल र पैदलयात्रीमैत्री बनाउनुपर्‍यो। केही पालिकामा प्रयोग पनि भएका छन् तर ठूला गाडीले अवज्ञा गरेको पाइएको छ। जनस्तरमा त्यसको सचेतना पनि आवश्यक देखिएको छ।

अर्को कुरा सडकको गुणस्तर मात्रै राम्रो बनाउन सक्ने हो र गाडी गुड्दा दायाँबायाँ धुलो नउड्ने हो भने काठमाडौंमा हावाको गुणस्तर धेरै राम्रो बन्न सक्छ। काठमाडौंमा पिएम २.५ धुलोले असर गरिरहेको छ। त्यसलाई कम गर्न सकियो भने मात्र पनि वायुको गुणस्तर राम्रो हुन्छ। डढेलो लागेको छैन लगाइएको छ। त्यसलाई सम्बन्धित निकायले चासोका साथ नियन्त्रण गर्न लागि पर्नुपर्‍यो।

वातावरणमा क्षति पुर्‍यारहेका उद्योगलाई नियमन र अनुगमनको दायरामा ल्याउन सकियो भने काठमाडौंको हावालाई कम्तीमा श्वास फेर्न लायकसम्म बनाउन सकिन्छ। र हामी आफैंमा पनि चेतनाको स्तर बढाउनु पर्छ। विषाक्त हावा हुँदा पनि हामी मास्क लगाउँदैनौं। काम नपरे पनि सवारी लिएर बाहिर निस्कन्छौं। यसमा ख्याल राख्नु आवश्यक छ।

तपाईं मौसमबारे पनि जानकारी राख्नुहुन्छ। पानी परे पनि वायु प्रदूषण केही हदसम्म कम हुने थियो। सम्भावना के छ ?

दुईचार वर्षयता काठमाडौंको प्रदूषण खासगरी चैत, वैशाखमा बढ्नुको एउटा मुख्य कारण जलवायु परिवर्तन पनि हो। किनकि जाडो महिनामा अब पानी पर्नै छाड्यो। यस वर्ष पनि जाडो महिनामा लगातार ८१ दिन पानी परेन। पानी पर्दा पनि खासै ठूलो परेन। बल्ल चैतको अन्तिमतिर आएर वर्षा भयो। त्यो पनि पर्याप्त छैन। तीन साता भइसक्यो पानी परेको छैन। अझै एकसाता पानी पर्ने सम्भावना छैन।

जाडो महिनामा पानी नै नपर्नु्ले जंगल क्षेत्रमा सुख्खा बढेकाले डढेलो उच्च बनेको हो। प्रकृतिलाई नुहाईदिनका लागि पानी पर्नै पर्छ। यसबाट के बुझ्न सकिन्छ भने हिउँदे वर्षा जुन हो त्यो भने सुक्दै गएको छ। ३० वर्षको तथ्यांक हेर्ने हो भने पहिला माघे झरी हुन्थ्यो। चैतमा वर्षा हुन्थ्यो। अहिले त्यो हटेको अवस्था छ। त्यसले गर्दा पनि प्रदूषण बढेको हो।

लगातार वर्षा भइदिने हो भने स्वतः हावामा भएको धुलोका कण र प्रदूषण कि त पानीसँग घुलिएर कि पखालिएर जमिनमा आउछन्। अनि हावा स्वच्छ हुन्छ। विगतको जस्तो पानी पर्न छाडेकाले वायु प्रदूषणसँग सम्बन्धित चुनौती आगामी दिनमा अझ बढ्दै जानेछ। हामीले अहिलेदेखि नै वैकल्पिक उपायहरू खोज्दै जानुपर्नेछ।

वायु प्रदूषणले निम्त्याइरहेका चुनौती र समस्या के-के छन् ?

एउटा कार्यक्रममा एकजना छाती तथा फोक्सो रोग विशेषज्ञले प्रस्तुत गर्नुभएको तथ्यांकमा काठमाडौंमा वायु प्रदूषणका कारण वार्षिक १० हजारजनाको मृत्यु हुने गरेको उल्लेख थियो। यो भनेको डरलाग्दो हो। यसको मुख्य कारण भनेको एक्युआईमा राखिएको प्रदूषणका पाँचवटा कम्पोनेन्टमध्ये पिएम २.५ धुलोको कण प्रमुख हो।

यो फोक्सोमार्फत शरीरका हरेक अंगमा पुग्छ। यसले दीर्घरोगीलाई चाँडै असर गर्छ। यो रसायन हाम्रो शरीरको कुनै एउटा अंगमा लगातार सञ्चित भइरह्यो भने क्यान्सर जस्तो रोग पनि निम्तिन सक्छ। यसले गर्भपतन हुने, ट्युमर, फोक्सोसम्बन्धी रोगहरू (निमोनिया, फोक्सो फेल हुने, दम) लाग्ने सम्भावना बढी रहन्छ। यसले बालबालिका र बृद्धबृद्धामा बढी समस्या दिन्छ।

भनेपछि हामी काठमाडौंको हावामार्फत मन्दविष लिइरहेका छौं ?

सही, हामी मन्दविष लिइरहेका छौं। हामी फूर्ति लगाउँछौं कि म चुरोट पिउँदिन, मेरो फोक्सो स्वस्थ छ भनेर। एउटा स्वस्थ मान्छेले एक दिनमा ११ हजार लिटर हावा लिइरहेको हुन्छ।

काठमाडौंमा त्यति हावा तपाईंले लिइरहँदा दैनिक सयौं चुरोट पिए बराबरको त शरीरलाई नोक्सान गरिसक्नु भएको छ। जति बढी हावा हामी लिन्छौं उति नै बढी रसायन शरीरभित्र छिराइरहेका हुन्छौं। त्यसैले मेरो आग्रह जति बढी शारीरिक अभ्यास गर्नुहुन्छ उति नै बढी विषाक्त हावा पिइरहनुभएको हुनेछ।

त्यसो भए शारीरिक अभ्यासका लागि कुन समय उपयुक्त हुन्छ?

सबैभन्दा राम्रो त घरभित्र एयर प्युरिफायर राखेर अभ्यास गर्नुहुन्छ। यसले कोठामा भएको हावालाई केहीहदसम्म शुद्ध बनाइदिन्छ। बाहिर त हुँदै भएन। अझै बिहानको समयमा त झनै भएन। दिउँसोको समयमा हावा तातिन्छ। तातेपछि माथि जान्छ र चिसो हावा तल झर्छ। यसले केही हदसम्म हावा स्वस्थ हुन्छ तर बिहानको समयमा भने तल्लो तहमा हावा जमेर बसेको हुन्छ। दिनभरिको प्रदूषण रातभरीको चिसोले तल आएर बसेको हुन्छ। यसले बिहानको समय भने अत्यन्तै हानीकारक हुन्छ। अभ्यास गर्नु नै छ  भने साँझको समयमा थोरै भए पनि राम्रो मानिन्छ। 

(उज्ज्वल उपाध्याय क्रिएसन नेपालमा परियोजना प्रमुखका साथै उपाध्याय क्रिएसन नेपालमा परियोजना प्रमुख पनि हुनुहुन्छ।)

प्रकाशित: १९ वैशाख २०८१ ०८:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App