स्वास्थ्य

ठेकेदारको लापर्बाहीले स्वास्थ्य चौकी भवन अलपत्र

ऐंसेलुखर्क गाउँपालिका १ राखाबाङ्देलस्थित स्वास्थ्य चौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ। दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो।

भुइँतलाको पर्खालमा प्लास्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन। गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ सम्ममा सम्पन्न गर्ने गरी २०७७ मंसिर ११ गते स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो। पटकपटक थप भएको म्याद गुज्रिँदा पनि निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनको बाँकी काम गरेको छैन।

उक्त कम्पनीले काम पूरा नगरेकोमा आक्रोशित सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका प्रमुख प्रभाकर कर्णले कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए।

अब पनि काम भएन भने कारबाही गर्छौं भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको प्रमुख कर्णले जानकारी दिए।

गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याटबाहेक सात करोड ४० लाख ८४ हजार दुई सय ९६ मा पाँच स्वास्थ्य चौकीको भवन निर्माणको ठेक्का पाएको हो।

–रासस

प्रकाशित: १४ पुस २०८० ०७:०० शनिबार

स्वास्थ्य चौकी भवन ठेकेदार राखाबाङ्देल ऐंसेलुखर्क गाउँपालिका