स्वास्थ्य

मनहरीका गर्भवतीलाई निशुल्क जाँच र एम्बुलेन्स

स्वास्थ्य संस्थालाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण गर्दै पालिका अध्यक्ष लगायत।

मकवानपुरको मनहरी गाउँपालिकाले गर्भवतीका लागि निशुल्क स्वास्थ्य जाँच र एम्बुलेन्स सेवा प्राप्त गर्ने भएको छ।गाउँपालिकाले गर्भवती लक्षित कार्यक्रमको सुरुवात गर्दै यस्तो सुरुवात गरेको हो।

बुधबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स–रे मेसिन हस्तान्तरण गर्दै वडाका स्वास्थ्य संस्थामार्फत सहज सेवा दिन निर्देशन दिएका छन्।‘राजमार्ग जोडिएको पालिका भएपनि मनहरीको केही भूभाग निकै दुर्गम क्षेत्रमा रहेका छन्।

यहाँ लोपोन्मुख र सिमान्तकृत जातिको समेत बसोबास छ’, गाउँपालिका अध्यक्ष कालाखेतीले भने, ‘सबैलाई सहज स्वास्थ्य सेवा दिन हामी लागिपरेका छौं। यसैक्रममा गर्भवतीलाई निशुल्क स्वास्थ्य जाँच,भिडियो एक्स–रे र एम्बुलेन्स सेवा प्रदान गर्नेछौं।’ गाउँपालिकाले गर्भवती महिलालाई पूर्ण संस्थागत सुत्केरी सेवाका लागि निशुल्क ए्म्बुलेन्स सेवाको व्यवस्था गरेको हो।राज्यले पूर्ण संस्थागत सुत्केरीका लागि नियमित जाँच गरेवापत भत्ता स्वरुप २ हजार ८ सय रुपैयाँ दिँदै आएको छ।

यसमा थप सहयोगका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको पालिका अध्यक्ष कालाखेतीले बताए।मनहरीले गर्भवतीको पिसाब तथा रगत जाँच सेवा पनि निशुल्क गरेको छ।

ग्रामीण भिडियो एक्स–रे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए।यसअघि दुर्गम क्षेत्रका सर्वसाधारणले सदरमुकाम सम्म पुगेर सेवा लिन बाध्य रहेका थिए।पालिकाले प्रदान गरेको सेवाबाट कष्टकर अवस्थामा विपन्न महिलाहरुले ठूलो रकम खर्च गरी अस्पतालसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने स्वास्थ्य शाखा प्रमुख दाहालले बताए।

सर्वसाधारणको सहजताको लागि भन्दै मनहरी गाउँपालिकाले बिहान ८ बजेबाट नै मनहरी अस्पतालमा ओपिडी सेवा सञ्चालन गरिरहेको छ।विपन्न परिवारका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम समेत सञ्चालन गरिरहेको छ।  

प्रकाशित: २१ मंसिर २०८० १२:३० बिहीबार

एम्बुलेन्स मकवानपुरको मनहरी गाउँपालिका मनहरी निशुल्क जाँच गर्भवती