शिक्षा

सूर्याेदय नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट घोषित भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूूर्याेदयलाई कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा पुरस्कृत गर्न लागेको हो।

एसोसिएसनले लामो समयसम्म शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ। जेठ २६, २७ र २८ मा काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसन अध्यक्ष सुदाम गौतमले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलन उद्घाटन गर्नेछन्।

गौतमका अनुसार देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्षको उत्कृष्ट घोषित गरी पुरस्कृत गर्न लागिएको हो। पालिकालाई शिक्षामा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम-सूचना तथा प्रविधि र शिक्षामा सुशासन अभ्यास मापदण्डका आधारमा छनोट गरिएको सभापति गौतमले जानकारी दिए।

कोशीमा इलामको सूर्याेदय, मधेसमा बाराको कौहलवी, वाग्मतीमा काठमाडौं महानगर, गण्डकीमा नवलपरासीपूर्वको मध्यविन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएको उनले बताए।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. चित्रबहादुर बुढाथोकी संयोजकत्वको चार सदस्यीय छनोट समितिले विभिन्न मापदण्डका आधारमा पुरस्कृत पालिका, विद्यालय र प्रधानाध्यापक छनोट गरेको उनको भनाइ छ। छनोट समितिमा रामप्रसाद सुवेदी, धनञ्जय शर्मा र प्रकृति अधिकारी सदस्य छन्।

सूर्याेदयले शिक्षा क्षेत्रमा विभिन्न महत्वपूूर्ण कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यालयको भौतिक पूर्वाधार विकासदेखि शिक्षकको दक्षता अभिवृद्धि, प्रोत्साहन र विद्यालयमा विद्यार्थी आकर्षित गर्ने दर्जनौं योजना सूर्याेदयले कार्यान्वयन गरेको छ।

मेयर रणबहादुर राईले नगरले शिक्षा क्षेत्रमा दीर्घकालीन उपलिब्ध हासिल गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। ‘यो नगर बालमैत्री नगर पनि भएकाले विद्यालय तहको शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘बालबालिकाका लागि मात्र होइन, नगरका छोरी र बुहारीको उच्च शिक्षासमेतमा हामीले विशेष ध्यान दिएका छौं।’

प्रकाशित: २३ जेष्ठ २०८१ १३:३२ बुधबार

Suryodaya municipality the best in Koshi province in the field of education