अर्थ

गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो। जसमा चालुतर्फ ४३.९४ प्रतिशत र पुँजीगततर्फ ४५.६० प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीले जनाएको छ। 

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट बिनियोजन गरेको थियो। जसमध्ये असार मसान्त अर्थात असार ३२ गतेसम्ममा १५ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकीका अनुसार चालुतर्फ १० अर्ब ६३ करोड १२ लाख ३८ हजार रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ६७ करोड १४ लाख ५६ हजार ४ सय ८१  रुपैयाँ खर्च भएको छ। त्यसैगरी पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन भएकोमा ९ अर्ब २० करोड १० लाख १९ हजार ६ सय ४ रुपैयाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। 

वित्तीय हस्तान्तरण अनुदानतर्फ भने सन्तोषजनक खर्च भएको छ। वित्तीय हस्तान्तरणतर्फ २ अर्ब १० करोड ५५ लाख बजेट विनियोजन भएकोमा १ अर्ब ३२ करोड ७१ लख १४ हजार ५५ रुपैयाँ अर्थात ६२.७७ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ। 

मन्त्रालयगत खर्च अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पछिल्लो ११ महिनामा ४४.०८ प्रतिशत बजेट खर्च गरेको छ। सो मन्त्रालयले १ अर्ब १३ करोड ८८ लाख २२ हजार बजेट रहेकोमा ५० करोड १९ लाख ७४ हजार रुपैयाँ खर्च गरेको छ। आर्थिक मामिला मन्त्रालयले ३९.४२ प्रतिशत मात्रै बजेट खर्च गरेको छ। १५ करोड १५ लाख ७८ हजार बजेट रहेको आर्थिक मामिलाले ५ करोड ९७ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ। 

त्यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ५२.४ प्रतिशत बजेट खर्चिएको छ। १ अर्ब ६० करोड ४८ लाख ६८ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले ८४ करोड ९ लाख १२ हजार बजेट खर्च गरेको हो। 

कृषि तथा भूमि ब्यबस्था मन्त्रालयले ४०.६७ प्रतिशत बजेट खर्च गरेको छ। कुल २ अर्ब २१ करोड ६६ लाख २७ हजार बजेट रहेको सो मन्त्रालयले ९० करोड १५ लाख ७ हजार बजेट खर्च गरेको हो। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले ४६.५६ प्रतिशत खर्च गरेको छ। १२ अर्ब ५१ करोड २ लाख २७ हजार बजेट रहेको सो मन्त्रालयले ५ अर्ब ८२ करोड ५२ लाख १३ हजार रुपैयाँ खर्च गरेको छ।

 उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ५९.८५ प्रतिशत बजेट खर्चिएको छ। कुल ५ अर्ब १ करोड २० लाख ५५ हजार रुपैयाँ बजेट रहेको सो मन्त्रालयले २ अर्ब ९९ करोड ९५ लाख ३९ हजार रुपैयाँ बजेट खर्चिएको छ। सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ५०.८४ प्रतिशत बजेट खर्च गरेको छ। कुल ५ अर्ब ५ करोड ७१ लाख ५६ हजार बजेट रहेको सो मन्त्रालयले २ अर्ब ५७ करोड ११ लाख ७६ हजार रुपैयाँ बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय गण्डकी प्रदेशले जनाएको छ। 

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अस्थिर सरकारका कारण बजेट खर्च गर्न नसकिएको बताए। उनले भने,‘बजेट ल्याउनु अगाडि अर्कै सरकार थियो। बजेटको केहि समय अगाडि सरकार बदलियो र हामीले बजेट ल्यायौं। तर परिस्थिति फेरी बदलियो र अर्कै सरकार आयो। अहिले फेरी हाम्रै सरकार आएको छ। वर्षमा चार पटक सरकार परिवर्तन भएर अस्थिर सरकार बन्दा बजेट खर्च सोंचेजस्तो भएन।’ उनले अस्थिरताका बाबजुदपनि असार सम्ममा ४५ प्रतिशत बजेट खर्च हुनु सन्तोषजनक भएको बताए।

प्रकाशित: ३ असार २०८१ १७:३१ सोमबार

गण्डकी प्रदेशः बजेट खर्च