कला

चित्र जोगाउन सजाय

यस्ताे पनि!

अचेल अभियन्ताहरू पनि अराजक हुन थालेका छन्। अभियन्ताहरू चित्रकला प्रदर्शनीमा जाने र चित्रलाई फोहोर पारिदिने क्रम बढेपछि फ्रान्सेली संस्कृति मन्त्री रचिदा दातीले नयाँ कानुन बनाउन आग्रह गरेका छन्। उनको भनाइ छ-प्रख्यात चित्रको सुरक्षाका लागि नफुट्ने सिसा लगाइएको भए पनि सभ्यता सिकाउनुपर्ने भएको छ।

केही दिनअघि मात्र पेरिसमा रहेको ओर्से म्युजियममा फ्रान्सेली इम्प्रेसनिस्ट चित्रकार क्लाउड मोनेटले बनाएको चित्र ‘पपी फिल्ड’मा एक पर्यावरण अभियन्ताले पोस्टर टाँसिदिएका थिए।

गएको जनवरीमा लुभ्र दरबारमा रहेको मोनालिसाको चित्रमाथि ‘दिगो खाद्यान्नः सामाजिक सुरक्षा’ माथि काम गरिरहेको रिपोस्टे एलिमेन्टायर नामक समूहका अगुवाले एक गिलास जुस फ्याँकिदिएका थिए।

पछिल्लो घटनामा ओर्से म्युजियमले प्रतिक्रिया दिँदै भनेको छ, ‘सन् १८७३ मा मोनेटले बनाएको सो चित्रमाथि पोस्टर टाँस्दा कुनै क्षति भएको छैन।’

संस्कृति मन्त्रीले नयाँ बन्ने कानुनअनुसार कसैले चित्रकलामाथि बदमासी गरेको खण्डमा सात वर्षसम्मको जेल सजाय र एक लाख युरोसम्म जरिवाना हुने छ। त्यसो त यो सजाय त्यस्ता दुर्लभ चित्रकलाहरू बिग्रिए, भत्किएमा मात्र यस्तो सजाय हुने बताइएको छ।

चित्रकला बिग्रिएन भने पनि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने नयाँ कानुन बनाउन मन्त्री दातीले आग्रह  गरेकी छन्। यस्तो बदमासी गर्नेहरू कुनै पनि सजायबाट नउम्कियून् भन्ने उनी चाहन्छिन्। आफ्नो देशको कला, संस्कृतिलाई माया गर्नुका साथै सम्मान भाव राख्न यस्ता कडा कानुन बनाइनुपर्ने उनको धारणा छ। यस्तो भए मात्र देशका धरोहर बच्ने दातीले बताएकी छन् ।

सन् २०२२ मा नेदरल्यान्ड्समा जस्ट स्टप आयल अभियन्ताले त्यहाँको प्रख्यात गर्ल विद द पर्ल इयररिङ चित्रमाथि हात राखेको आरोपमा  एक महिने जेल सजाय तोकिएको थियो। यो चित्रकला नेदरल्यान्ड्सका प्रख्यात चित्रकार जोहानेस भर्मिरले बनाएका थिए। त्यसैको सिको गर्दै फ्रान्सले पनि कडा कानुन बनाउनेतर्फ सांसदहरूलाई संस्कृति मन्त्रीले सचेत गराएकी हुन्।

प्रकाशित: २९ जेष्ठ २०८१ ०७:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App