कला

शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

प्रकाशित: २२ वैशाख २०८१ ११:४४ शनिबार

अक्षर