कला

रामगीता वाङ्मय मन्दिरबाट तीन स्रष्टा पुरस्कृत

रामगीता वाङमय मन्दिर अमेरिका-नेपालले तीन स्रष्टालाई पुरस्कृत गरेको छ। उक्त मन्दिरले  काठमाडौंको सर्वनाम नाटकघरमा एक भव्य समारोहको आयोजना गरेर वरिष्ठ नाट्यकर्मी हरिहर शर्मा, वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल र रेडियोकर्मी अच्युत घिमिरे बुलबुललाई सम्मान गरेको हो।

मन्दिरले शर्मालाई अशेष मल्ल-सावित्री नाट्यकर्म पुरस्कार, विमललाई प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार र घिमिरेलाई रामगीता प्रोत्साहन पुरस्कार अर्पण गरेको हो।

डा. विमललाई उनको भर्खरै प्रकाशित कृति ‘सरबरिया टोल’ का लागि सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि क्रमशः ५०-५० र २५ हजार नगदसहित सम्मानपत्र रहेको थियो।

कार्यक्रमको सभाध्यक्ष गीता खत्री, संरक्षक कमलबहादुर खड्का र मखमली खड्का तथा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेल रहेका थिए। उनीहरूसहित पुरस्कार स्थापित व्यक्तित्वहरू अशेष मल्ल, सावित्री मल्ल कक्षपति र प्रतीक ढकाल तथा पुरस्कार संस्थापक राम खत्री र गीता खत्रीले संयुक्त रूपमा ती पुरस्कारहरू स्रष्टालाई अर्पण गरे।

अनेसासकी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार डा. रेणुका सोलुले उपस्थितलाई स्वागतसहित संस्था र संस्थापक राम-गीताबारे चर्चा गरेकी थिइन्। त्यस्तै महेश पौड्यालले सम्मानित स्रष्टाबारे गहन परिचय व्यक्त गरेका थिए।

पुरस्कार हस्तान्तरणपछि बोल्दै कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी यादव खरेलले परम्परागत रुपमा पुरस्कार राख्ने परम्पराभन्दा यो फरक रहेको भन्दै प्रशंसा गरे।

गीता खत्रीले चार वर्षअघि नै यो पुरस्कार स्थापना गर्ने सोच आएको र दुई वर्षअघि स्थापना भएको तथा अहिले पुरस्कार वितरण गर्न सफल भएको बताइन्। अशेष मल्लले अरू अशेष मल्ल जन्माएको र प्रतीक ढकालले नेपालको हिमालको बारेमा लेखेर विश्वलाई परिचित गराएकोले उहाँहरुको नाममा पुरस्कार स्थापना गरिएको उनले बताइन्। आफूले गरेको कामबाट कहिल्यै पनि घमण्ड नआओस् भन्दै सधैभरि कर्म गरिरहन पाए आफू खुसी हुने पनि उनले बताइन्।

परम्परागत ढर्रालाई तोड्दै कार्यक्रम अत्यन्त फरक तरिकाले व्यवथापन भएको थियो। मञ्चमा भिडाम्भिड अनि दर्शकदिर्घातिर कुर्सी खाली जस्ता असुहाउँदो दृष्य यहाँ देख्नुपरेन। उपाथित सबैजनालाई समान स्तरमा बस्ने व्यवस्था मिलाइएको थियो।  मञ्च र दर्शकको कित्ताकाट यस प्रोग्राममा थिएन।

त्यसैगरी पानसमा बत्ती बाल्ने अनि कार्यक्रम समुद्घाटन गर्ने दृष्य पनि यहाँ देखिएन। बरू गीता खत्रीका वर्षीय बुबाले गणेश स्तुति गाउनुभएर कार्यक्रमको समुद्घाटन र समापन भयो।

प्रमुख अतिथि, गीता खत्री र राम खत्रीको हातबाट सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान एवम् पुरस्कार समर्पण भयो। सम्मानित सबै व्यक्तित्वहरूले राम(गीता वाङ्मय प्रतिष्ठान र राम गीता दम्पत्तिप्रति हृदयतस् आभार व्यक्त गरे।

प्राडा सावित्री मल्ल कक्षपतिका अनुसार यसरी ज्यूँदा व्यक्ति त्यो पनि दम्पत्तिको नै नामबाट पुरस्कार स्थापना गर्ने कार्य विश्वमा नै यो पहिलो हो। मान्छे ज्यूँदो रहँदा नै उसका कर्मबारे सम्मान गर्ने यो प्रचलनको शुरुवाती गर्ने यस सत्कर्मको सबैले खुलेर प्रशंसा गरे।यो गरिमामय कार्यक्रम सञ्चालनको भूमिकामा भवानी खतिवडा थिइन्।

प्रकाशित: २१ वैशाख २०८१ १०:५१ शुक्रबार

अक्षर रामगीता वाङमय मन्दिर अमेरिका-नेपाल