कला

एक मुठी घामसँगै उदाए सरित्

स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् एक मुठी घामसँगै साहित्यिक बजारमा उदाएका छन्। साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित सरित् साहित्यिक पत्रकारिता र सम्पादन कर्ममा पनि सक्रिय छन्। उनै स्रष्टा सरितकाे समग्रमा पन्ध्रौं र विधागत हिसावले लघुकथाको भने पहिलो कृति ‘एक मुठी घाम’ हालै प्रकाशित भएको छ।

डाइनामिक बुना इन्क र ब्लाइन्ड कोप्र्स (सियाटल, अमेरिका) द्वारा प्रकाशित यस लघुकथासङ्ग्रहमा सरितका ४१ लघुकथा सङ्ग्रहीत छन्। सङ्ग्रहका अधिकांश लघुकथा समसामयिक राजनीतिक परिवेशमा लेखिएका छन्। राजनैतिक परिवर्तन, जनताका अपेक्षा, महँगी, भ्रष्टाचार, बेथितिमाथि नै अधिकांश लघुकथा केन्द्रित छन् भने देशमा विद्यमान भ्रष्ट राजनीति र भ्रष्ट नेताहरूको पनि उछितो काढिएको छ। त्यसबाहेक जनतामा देखिएको चरम निराशा र जनताले नयाँपनको अपेक्षा गरेका कथाहरू पनि छन्।

विशेषतः सरितका लघुकथाले २०४६ सालको परिवर्तनदेखि गणतन्त्रसम्मको समयावधिलाई बोलेको छ जहाँ नेपालको सन्दर्भमा विचार, आस्था, परिवर्तन, चाहना र परिणतिका विविध  तस्वीर देख्न सकिन्छ।

आख्यानकारको परिचयमा स्थापित सरितकाे यस कृतिमा प्राडा गोपीन्द्र पौडेल र कथाकार नारायण तिवारीको भूमिका छ। लघुकथा के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा प्राडा पौडेलको गहन भूमिका छ भने नेपाली साहित्यमा लघुकथाको विकासक्रमबारे कथाकार तिवारीको भूमिकामा उल्लेख छ।

सरल भाषा, आकर्षक शैली र समसामयिक विषयवस्तुको छनौट गरेर लेखिएका कथाकार सरितका एकचालीस लघुकथाको सङ्ग्रह ’एक मुठी घाम’ लाई पाठकहरूले निकै रुचाउने लेखकीय विश्वास रहेकाे छ।

प्रकाशित: २० वैशाख २०८१ ०७:०४ बिहीबार

अक्षर