कला

कसले चलाउन लगाएको थियो सलमानको घरमाथि गोली?

बलिउड अभिनेता सलमान खानको घरमाथि लरेन्स विश्नोई नामक समूहले गोली चलाउन लगाएको खुलेको छ।

झन्डै एक साता अघि बलिउडका भाइजान सलमानको मुम्बईको ग्यालेक्सी अपार्टमेन्टमा २ जना अज्ञात व्यक्तिहरूले गोली चलाएका थिए। घटना पछि मुम्बई प्रहरीले ती दुबैजना आरोपीलाई गुजरातबाट पक्राउ गरिसकेको छ।

अनुसन्धानको क्रममा रहेको मुम्बई क्राइम ब्रान्चले आपराधिक समूह विश्नोईलाई सलमान खानको घरमा आक्रमण गर्न लगाएको भन्दै आरोपी बनाएको छ। लरेन्ससँगै उनका भाई अनमोललाई पनि पनि वान्टेडको सूचीमा राखिएको छ।

प्रहरीका अनुसार विश्नोईविरु४ केही प्रमाणहरू फेला परेका छन्। त्यसैलाई आधार मानेर दुबैजनालाई आरोपी बनाइएको छ।

गत आइतवार बिहान ४ः ५० बजेतिर सलमान खानको घर बाहिर मोटरसाइकलमा सवार २ जना व्यक्तिहरूले ५ राउन्ड गोली चलाएका थिए।

घटना लगतै फेसबुकमा लरेन्सका भाई विश्नोईको नामबाट सञ्चालित फेसबुकमा घटनाको जिम्मेवारी लिइएको थियो। तर, उक्त पोस्ट अनमोलकै वास्तविक फेसबुकबाट गरिएको हो वा होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

आक्रमण पश्चात सलमान खानको सुरक्षा बढाइएको छ भने उनी आफ्नो दैनिक काममा फर्केका छन्।

प्रकाशित: ९ वैशाख २०८१ १३:३४ आइतबार

बलिवुड अभिनेता सलमान खान सलमान खान लरेन्स विश्नोई ग्यालेक्सी अपार्टमेन्ट