कला

हाम्रा पुर्खाले कहिले छाडे अफ्रिका?

यस्ताे पनि!

मानव जातिका प्राचीन पुर्खाले अफ्रिका करिब २५ लाख वर्षअघि त्यागेर अघि बढेको पुरातत्व विज्ञहरूले जनाएका छन्। यसअघि मानव जाति अफ्रिकाबाट निस्केको सात लाख वर्ष मात्र रहेको अनुमान गरिएको थियो।

अफ्रिकामा कहिलेदेखि मानव जातिको बसोबास भयो भन्ने अझै खुल्न सकेको छैन। तथापि जर्जियाको डिमानिसीमा होमो इरेक्टस प्रजातिको अवशेषहरू फेला परेको हिसाबले मानव जातिका पुर्खाहरूको इतिहास अझै पुरानो हुनसक्ने तर्कले पुट पाएको छ।

सन् २०१३ देखि ब्राजिलको साउ पाउलो विश्वविद्यालयमा यसै विधामा अध्यापनरत वाल्टर नेभेस र उनको टोलीले जोर्डन देशको अपर जार्का उपत्यकामा उत्खनन गर्दा फेला पारिएका ढुंगाका अनेक हतियारहरूको अध्ययन गर्दा नयाँ तथ्यतर्फ उनले सबैको ध्यानाकर्षण गरेका हुन्।

सो उपत्यकामा फेला पारिएका ढुंगाका अनेक सामग्रीहरू अफ्रिकाका विभिन्न उत्खननमा फेला पारिएका ढुंगाका सामग्रीसँग मेल खाने भएकाले उनीहरूले मानव जातिका पुर्खाहरूको अफ्रिकाबाट बाहिर आएको समयावधि अझै पुरानो रहेको अनुमान गरिएको हो।

जर्नल अफ पालियोलिथिक आर्कियोलोजीमा प्रकाशित खबरअनुसार अफ्रिकाका विभिन्न स्थानमा फेला पारिएका यस्ता ढुंगे सामग्रीहरू ३० लाख वर्ष पहिलेका रहेको कार्बन डेटिङबाट पत्ता लगाइएको छ।

उता वासिङ्टन डिसीस्थित जर्ज वासिङ्टन विश्वविद्यालयका डेभिड ब्राउन भने यो अध्ययन निष्कर्षमा शंका गर्छन्। उनी भन्छन्, ‘कुनै समय यो ठाउँमा नदी बग्ने गथ्र्यो। नदीमा ठोकर खाएर कतिपय ढुंगा हतियारजस्तै भएका हुन सक्छन्। नदीले यस्तो नबनाएको अवस्थामा भने यो अध्ययन निश्चय नै महत्त्वपूर्ण हो।’

ब्राउनको नजरमा होमो इरेक्टसले यस्ता ढुंगे सामग्री र हतियारहरू प्रयोग गरेको हुन सक्ने सम्भावना स्वीकार गर्छन्। इरेक्टस जाति नै अफ्रिका छाड्ने पहिलो थियो। यसलाई भने वाल्टर नेभेस अस्वीकार गर्छन्। उनको धारणामा २५ लाख वर्ष पहिलेको मितिमा जाने हो भने त्यो बेला इरेक्टसभन्दा होमो हाबिलिस प्रजातिको रजगजको बेला हो।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १४ फाल्गुन २०८० ०६:२६ सोमबार

यस्ताे पनि! मानव जातिका प्राचीन पुर्खा