कला

श्राद्ध

लघुकथा

दुर्गाप्रसादले जति धनसम्पति जोडे पनि उसका बाआमाको सडक पेटीमा बास थियो। जागिर खाएर शहरमा घडेरी जोडेपछि दुर्गाप्रसाद गाउँ पुग्यो र बाआमालाई खुशीको खबर सुनायो। घर बनाउन पैसा नभएको समस्याको पोको फुकाएपछि बाआमा गाउँको जग्गा जमिन बेच्न राजी भए।

शहरमा दुर्गाप्रसादको महल तयार भयो। केही वर्ष त दुर्गाप्रसादका बाआमा पनि खुशीले छोरा बुहारीसँगै महलमा बसे।

सँगै बसेपछि ससाना कुरामा दन्त बझान हुन थाल्यो। बिस्तारैबिस्तारै बुहारीको अनुहारमा बेचैनीको लहर सल्बलाउन थालेको थियो। दुर्गाप्रसाद भने टुलुटुलु हेरेर बस्थ्यो।

एकदिन घरमा महाभारत मच्चियो। बाआमा आआफ्ना कपडा झोलामा हालेर घरबाट बाहिरिए। बुहारी अनुहारमा खुशीको दियालो बालेर आफ्नो कोठाभित्र पसी र आनन्दले नाच्न थाली। दुर्गाप्रसादले बाआमालाई नजानुस् भनेर रोक्न सकेन।

बाआमा हिंडेपछि दुर्गाप्रसादको घर युद्ध बिरामपछिको मैदान जस्तो शान्त भएको थियो। उसका बाआमा भने सडकको किनारमा माग्दै बेवारिस भएर गुजारा गर्न थालेका थिए।

ऊ हाकिम भएकाले सरकारी गाडीमा सवार हुन्थ्यो। उसका बाआमाले सडकमा माग्दै गरेको दृश्यले पनि उसलाई छुँदैनथ्यो। सडकमा बाआमालाई देखे पनि नदेखेझैं गरेर अघि बढ्थ्यो।

निकै वर्ष उसका बाआमाले सडकमा मागेरै दुःखमय जीवन बिताए। एक रात सडकको किनारमा दुःखको सिरानी हालेर निदाएका बुढाबुढी बिहान उठेनन्।

राति नै ट्रीपरद्वारा किचिएर सँगै जिउने, सँगै मर्ने वाचा पूरा गरे उनीहरूले। बाआमाको लास बुझ्न अस्पताल पुग्दा ऊ र उसकी श्रीमतीले आफ्नो अनुहार केही मलिन पारेका थिए।

उसले बाआमाको तेह्राैं दिनको किरिया भव्यताका साथ सम्पन्न गर्‍याे। टोलभरिका छरछिमेकलाई बोलाएर भोजन गरायो। पुरोहितहरूलाई पनि मनग्गे दानदक्षिणा दिएर बिदाई गर्‍याे।

यतिखेरै उसका छिमेकी जानकीरमणले ठट्टा गरे, “जे होस्, दुर्गाप्रसादजीले आफ्ना बाआमालाई मरेपछि भने मज्जाले खान, लाउन दिनुभयो है!”

-लीलाराज दाहाल                             

प्रकाशित: १९ पुस २०८० ०५:२६ बिहीबार

xअक्षर बुहारीको अनुहारमा बेचैनीको लहर लघुकथा