समाज

अब ‘खाडीमा भेटौंला’ होइन, ‘सहसचिव बनौंला’ !

भक्तपुरस्थित बागेश्वरी माविबाट बिदाइ हुँदै गरेका कक्षा १२ का एक विद्यार्थीले २०७९ चैत पहिलो साता आफ्नो साथीको सर्टमा लेखेको ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लामो समयसम्म चर्चामा रह्यो। त्यसको एक वर्षपछि यस्तै एक अर्को बिदाइमा इन्दिरा फुँयालको सर्टमा लेखिएको खरिदारदेखि सहसचिवसम्मको सपना सामाजिक सञ्जालमा भाइरल बनेको छ।

पहिलो सन्देश रोजगारी नपाएर बिदेसिनुपर्ने लाखौं युवाको बाध्यताको प्रतिविम्ब थियो। दोस्रो सन्देशमा स्वदेशमै सरकारी सेवामा प्रवेश गरेर काम गर्न सकिन्छ भन्ने आशाको किरण झल्कन्छ।

विद्यालयबाट मंगलबार बिदाइ हुँदै गरेकी फुँयालको सर्टमा ‘२०८२–खरिदार, २०८३–नायब सुब्बा, २०८५–शाखा अधिकृत र २०९०–सहसचिव’ भन्ने टाइमलाइन लेखिएको छ। ‘कक्षा १२ को परीक्षा सकिएपछि विद्यालयमा आयोजित बिदाइ कार्यक्रममा धेरैले आफ्नो उद्देश्य विदेश जाने सुनाए,’ एभरेस्ट आवासीय विद्यालयमा अध्ययनरत फुँयालले भनिन्, मैलेचाहिँ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर सुनाएँ।’ स्वदेशमै बसेर देशको सेवा गर्ने रहर रहेको भनेपछि विद्यालयका शिक्षक डम्बर थापा मगरले सर्टमा टाइमलाइनसहितको सन्देश लेखिदिएको उनले बताइन्।

नुवाकोट बेलकोटगढी घर भएकी उनी बाबुआमाकी एक्ली सन्तान हुन्। देशमा भ्रष्टाचार तथा अनियमितताका खबर बारम्बार सुनेकी उनले आफूमा यहीं बसेर काम गर्ने रहर पलाएको बताइन्। ‘गाली गरेर विदेश भाग्नुभन्दा यहीं देशमा बसेर काम र सेवा गर्न चाहन्छु,’ उनले भनिन्, ‘मेरो यो रहरको धेरैले तारिफ गरिदिएकोमा थप खुसी मिलेको छ।’

यो सन्देशले युवा वर्गमा सरकारी सेवाप्रति मोह देखाउँछ। यसको प्रतिविम्ब लोकसेवा आयोगको पछिल्लो एउटा तथ्यांकले पनि देखाएको छ। आर्थिक वर्ष २०७९-८० मा आयोगले ३ हजार ३ सय ५७ पदका लागि आह्वान गरेको विज्ञापनमा ४ लाख ८३ हजार २ सय ३ जनाले दरखास्त दिएका थिए। कुल दरखास्तमध्ये २१–२५ उमेर समूहका १ लाख ६० हजार ४५४ (३३.५४%) र २६ देखि ३० वर्ष उमेर समूहका १ लाख ३२ हजार ४३७ जना थिए।

फुँयालको सर्टमा लेखिएको टाइमलाइनसहितको तस्बिर भाइरल भएसँगै त्यसमा प्रतिक्रिया जनाउने पनि धेरै छन्। धेरैजसोले एक वर्षअघि खाडीको ‘विरक्त’ सन्देश सम्झँदै नयाँ सन्देशमा आशाको किरण भएको प्रतिक्रिया दिएका छन्।

यो सकारात्मक इच्छा हो,’ इन्दिराको सन्देशयुक्त तस्बिर सार्वजनिक गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष यही समयमा विदेशमा भेटौंला भन्ने लेखिएको तस्बिर देखेको थिएँ। विदेश जानु पनि नराम्रो होइन तर स्वदेशमै उद्यम र सेवा गर्नु त्योभन्दा राम्रो हो।’

ओलीजस्तै धेरै यो सन्देशले खुसी भएका छन्। ‘खाडी मुलुकमा भेट्ने है भन्नेहरूलाई सांकेतिक झटारो हान्दै देशमा केही गर्न चाहनेका लागि यो सन्देश निकै आशालाग्दो छ,’ सामाजिक सञ्जालमा उन्नति रिमाल लेख्छिन्, ‘यसले खुसियाली छाएको छ, युवा स्वदेशमा नै रहन चाहन्छन् भन्ने भाव दिएको छ।’

त्यतिबेला साथीको सर्टमा खाडीमा भेटौंला भन्ने सन्देश लेख्ने निराजन मैनाली पनि यो सन्देशप्रति सकारात्मक छन्। खाडी जानु आफ्नो रहर नभएर बाध्यता भएको बताउने उनी त्यही बाध्यताको सन्देश त्यतिबेला लेखेको सुनाउँछन्। उनले लेखको बिदाइ सन्देशले सामाजिक सञ्जालमा धेरैको मन छोएको थियो। धेरैले यसलाई नेपाली समाजको तितो यथार्थ भनेका थिए।

‘यो प्लस टु पछि सबै विद्यार्थीको दिमागमा चल्ने तरंग हो,’ पोहोर सामाजिक सञ्जालमा अजय श्रेष्ठले लेखेका थिए, ‘यो नेपालको दुःखद यथार्थता पनि हो।’ पछिल्लो सन्देश आशालाग्दो छ। ‘स्वदेशमै उद्यम र सेवा गर्नु त्यो सबैभन्दा राम्रो हो,’ मैनाली भन्छन्, ‘यसका लागि स्वदेशमै वातावरण बने हरेक विद्यार्थी यहीं बसेर केही गर्न चाहन्छन्।’

वैदेशिक रोजगार नेपालीको बाध्यताको उपज रहेको वैदेशिक रोजगारविज्ञ समाजशास्त्री डा. गणेश गुरुङ बताउँछन्। अहिलेसम्म पनि वैदेशिक रोजगारलाई केबल विकल्पका रूपमा राखेर सरकारले देशभित्रै रोजगारका अवसर दिन नसक्नु दुःखद रहेको उनी बताउँछन्। ‘अवसर पाए युवा स्वदेशमै रोकिन चाहन्छन्,’ उनी भन्छन्, ‘राज्यको पहिलो कर्तव्य युवालाई स्वदेशमै काम गर्ने वातावरण तयार गर्नु हो।’

एक वर्षअघि भक्तपुरको एक विद्यालयमा आयोजित कक्षा १२ को बिदाइ कार्यक्रममा काभ्रेपलान्चोकको तिमाल घर भएका नीराजन मैनालीले आफ्ना साथी नीरज तामाङको सर्टमा ‘खाडीमा भेटौंला’ भन्ने सन्देश लेखेका थिए। ‘साथीले मेरो सर्टमा जापानको यात्रा सफल रहोस् भनेर लेखे,’ मैनालीले भने, ‘तर मलाई त्यसमा विश्वास लागेन, त्यसैले खाडीमा भेटौंला भनेर उसको सर्टमा लेखें।’

उनले पछिल्लो सन्देश निकै आशालाग्दो रहेको बताए। उनी यो सन्देश यथार्थमा परिणत भएको हेर्न चाहन्छन्। उनले भने, ‘बरु हाम्रो सन्देश पूरा नभए पनि उन (इन्दिरा फुयाँल) को रहर पूरा भएको हेर्न चाहन्छौं।’

प्रकाशित: ८ चैत्र २०८० ०६:५१ बिहीबार

खाडीमा भेटौंला बागेश्वरी मावि भक्तपुर विद्यार्थी इन्दिरा फुँयाल रोजगारी खरिदारदेखि सहसचिव सपना सामाजिक सञ्जाल