कला

मालिक

कविता

 अझ एउटा इट्टा

थपिदिनुस् मालिक

भरे छोराका लागि एउटा कलम किन्नु छ

अनि श्रीमतीको सिउँदो

मेरै नामले रङ्याउन

एक चिम्टी सिन्दुर किन्नु छ

आज त श्रमिक दिवस रे

भरे एकछाक मीठो खुवाउनु छ

अझै एउटा इट्टा थपिदिनुस्

मालिक

पोहोर आजकै दिन

साथीहरूको लहलहैमा लागेर

बेलुकी घरमा चुलो बलेन

श्रीमती र मैले त आज व्रत हो भनेर टार्यौ

तर ती कलिला अबोध बालकको भोकले

पेटमा म्याराथुन दौडिरहेका मुसाहरूलाई

रोक्न नसकेर

जिउँदै मरें म

हाम्रै हकहितको कुरा गरेथे

झन्डा फहराएथे

गरेथे नाराबाजी

ठुला समृद्धिका कुरा

तर के गर्नु

रत्नपार्कमा लगाइएका

नारा अनि जुलुसले चुलामा आगो नबल्दो रैछ

त्यसैले अझै एउटा इट्टा थपिदिनुस्

मालिक

मेरा बालबच्चाका खातिर

रोगले अर्धचेत बनेकी छोरीको

घाँटी भिजाउनु छ औषधिले

छोप्नु छ आमाको छाती जुन पहरो

जुन अमृत चुसेर मैले

धर्तीमा पाइला राखेको थिएँ

निभाउनु छ बाबालाई छोरा हुनुको कर्तव्य

पूरा गर्नु छ जिम्मेवारी

हुन त जिन्दगीमा जिम्मेवारीहरू

यो सिङ्गो ब्राह्मणको तौल बराबरको छन्

तैपनि हरप्रयास गर्नु छ

हाल्नु छ समाजको आँखामा छारो

 भोलि समाजका ह कोहीले

हुत्तिहारा नामर्द केही भन्न नसकून्

मालिक त्यसका निमित्त भए पनि

अझै एउटा इट्टा थपिदिनुस् 

दया गरेर अझै एउटा इट्टा थपिदिनुस्

मालिक।

प्रकाशित: २० वैशाख २०८१ ०८:३० बिहीबार

अक्षर