कला

घर,जग्गा, गाडी भएपछि मगन्तेको पनि शान हुन्छ!

मुक्तक

१) मुक्तक

छैन कतै सन्तुष्टिका मिठास फगत तिक्त छन् मान्छेका मनहरू,

जता हेर्‍यो उतै देख्छु दिक्दारीले विक्षिप्त छन् मान्छेका मनहरू।

वर्तमान यो परिवेशमा कसरी मान्छे भित्रको मान्छे जोगाउने हो,

जब कि ह्वारह्वाार्ती बले को अग्निझैं उद्दीप्त छन् मान्छेका मनहरू।

२) मुक्तक

कसैले नपत्याइकाहरू पनि उत्कृष्ट हुन सक्छन्,

कसैले ठानेका उद्दण्डहरू पनि शिष्ट हुन सक्छन्।

केही पाना पल्टाउँदैमा सबै बुझेको ठान्नु हुँदैन,

कुनै पुस्तकका केही अनुच्छेद क्लिष्ट हुन सक्छन्।

३) मुक्तक

सुखपूर्वक बाँच्ने कलामा माहिर हुनै पर्छ,

बस्नलाई एउटा घरबार आखिर हुनै पर्छ।

सिद्धान्त र विचारले पेट भरिंदैन महोदय,

दुई छाक हातमुख जोड्न जागिर हुनै पर्छ।

४) मुक्तक

सँगै पढ्ने एउटा साथी पुलिसमा हवल्दार भएको छ,

अर्को साथी मलेसियामा साहुको कामदार भएको छ।

अर्को ढुंगा हान्दै, रेलिङ भाँच्दै नेताको पुच्छर भएर,

कमिसन उठाउने चोरहरूको सरदार भएको छ।

५) मुक्तक

सत्ताभित्र जनता होइन गुण्डा फटाहा भरपूर भए,

लुटको धनमा भाग नपाई कोही रिसले चुरमुर भए।

हिजो जसलाई काखी च्यापी मनपेट दिएका थियौ,

आज तिमीलाई सखाप पार्ने तिनै भष्मासुर भए।

६) मुक्तक

घर, जग्गा, गाडी भएपछि मगन्तेको पनि शान हुन्छ,

जस्तोसुकै दुष्कर्म गरे पनि झोलेबाट जयगान हुन्छ।

भ्रष्टाचारमा चुर्लुम्म डुबी देशलाई टाट पल्टाए पनि,

हनुमानहरूको लागि अझै आफ्नो नेता महान् हुन्छ।

७) मुक्तक

बाघले गर्ने सिकारमा स्यालको पनि भाग हुन्छ,

गिद्ध बदनाम भए पनि सिनु चोर्ने काग हुन्छ।

स्याल, गिद्ध, काग बीचमा भागबण्डा नमिलेमा,

पोल खोलाखोल अनि देशभक्तिको राग हुन्छ।

८) मुक्तक

यौटा जँड्याहाले सोध्यो प्रश्नको जवाफ नभए के हुन्थ्यो,

गुलाबसँग काँडा र काँडासँग गुलाब नभए के हुन्थ्यो?

जँड्याहाको उत्तरमा अर्को जँड्याहाले गम्भीर हुँदै भन्यो,

सराबसँग कवाफ र कवाफसँग सराब नभए के हुन्थ्यो।

९) मुक्तक

बाँचेपछि रमाउनु जिन्दगी त्यही त हो,

आफू हाँस्नु, हँसाउनु जिन्दगी त्यही त हो।

जिन्दगीको परिभाषा त्यति जटिल छैन,

आआफैं गुन्गुनाउनु जिन्दगी त्यही त हो।

१०) मुक्तक

धेरै देख्छु अनुहारका राम्राराम्रा मान्छेहरू,

भित्र भने काला अनि निकै चाम्रा मान्छेहरू।

मीठो बोली भए के भो ठिक पालो आएको बेला,

तिनै राम्रा मान्छे छान्छन् सिर्फ हाम्रा मान्छेहरू।

(मुक्तककार श्रेष्ठ प्रिया पत्थरका  मुक्तकसंग्रह अग्नि उद्दीप्तमा सङ्गृहीत।)

प्रकाशित: १८ वैशाख २०८१ १३:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App