कला

बाँडफाँड

लघुकथा

‘चलनचल्तीअनुरूप चल्नै पर्छ,नचले खुट्टा तानेर लडाउँछन्। सबले आफ्ना चम्चा पालेका छन्। आफूले पनि त त्यसकै सिको गर्नुपर्‍यो नि। नत्र आफू बस्ने घुम्ने मेचको खुट्टा भाँचिन्छ बुढी’ अफिसबाट घर आएपछि माननीय र श्रीमती बिच यस्तै संवाद हुन्छ।

श्रीमानको नजर झन् ठुलोतिर पुगेकामा श्रीमतीलाई चिन्ता लाग्छ। भोलिका दिन के हुने हो भन्ने त्रासले सताउने मात्र होइन परत्र पनि बिग्रला कि भन्न पीर लाग्दछ। आफ्ना श्रीमान् मात्र त्यस्ता होइनन्,उनका समस्त सहकर्मी त्यस्तै छन्। उनीहरूको प्रवृत्ति नै मौकमा चौका पार्ने छ। तर, श्रीमतीचाहिं आफूहरू जस्ता प्रायः सबै चाँडै टुप्पाबाट पलाएर झ्याँगिएको  स्विकार्छिन्। टुप्पाबाट पल्याएर झरेका बिँयाहरूको जरा मजबुत हुन पाउँछ कि पाउँदैन भन्ने उनलाई चिन्ता लाग्छ,अर्थात् सन्तानहरू।

एक दिन श्रीमान् अफिसबाट घर आउँदा डन आकृितका केही लाठे पनि सँगै आए। बैठक कोठामा ठूला,साना,तीता र मिठा पेय पदार्थका बोत्तलहरू टल्कने क्रिस्टलको गिलासमा भरिए। स्वादिला सित्तनहरू रिकापीमा सजिए। माननीय उनीहरूलाई ‘तपाईहरू आफ्नै घर सम्झेर खानुस्,पिउनुस् र रमाइलो गर्नुस्। संकोच मान्नु पर्दैन’ भन्दै आफू पनि गिलास भर्न थाले।

मुन्द्रे डनले ‘सर, खहरे खोलाको विद्युत् परियोजनाको टेन्डर मैले पाउनुपर्छ है। त्यसका लागि पन्ध्र प्रति सय कमिसनको साथै पुतली बस्तीमा बन्दै गरेको हाउजिङ ९ आना जग्गामा बन्दै गरेको साढे दुई तले अत्याधुनिक बंगला हजुरलाई टक्रयाउँछु।’

‘त्यो त ठिक छ। त्यसमा मेरो आपत्ति छैन तर मभन्दा तल्ला कुर्सीका लागि पनि त विचार गर्नुपर्छ नि?’

‘त्यसको पनि व्यवस्था भैसकेको छ। उहाँको छोरालाई डाक्टरी पढ्न मेडिकल कलेजमा सिट छुट्याइसकेको छ नजरानाको रूपमा।’

‘राम्रो गरेछौ! तिम्रो सबै काम पक्का भयो भन्ने सम्झेर ढुक्क होऊ अब।’

आफूसँगै आएको जिउभरि टाटु खोपेको ठिटालाई औल्याउँदै ‘यो मेरो हितैषी मित्र हो।यो मार्सल आर्टमा दक्ष छ। हजुरको सुरक्षाका लागि ल्याएको हो मैले यसलाई। अब बन्ने तीन वटा नगरपालिकाका पक्की पुलहरूको टेन्डर यसको नाममा पारिदिनुस है सर। त्यसका लागि हजुरको माग जति भए पनि यसले पूरा गर्छ।’

लर्खरिएको आवाजमा ‘हुन्छ-हुन्छ,तिमी चिन्ता नगर। केकेमा मेरो सहीछाप चाहिएको हो, ल्याऊ म अहिले नै गरिदिन्छु’ भन्दै ढुन्मुनाउँदै गिलास भर्न थाले।

प्रकाशित: २९ चैत्र २०७९ ०८:०८ बुधबार

अक्षर